माडीको १३१ कित्ता कृषियोग्य जमिन खण्डीकरण गर्ने षड्यन्त्रविरुद्ध नेकपाले दियो चेतावनी

माडीको १३१ कित्ता कृषियोग्य जमिन खण्डीकरण गर्ने षड्यन्त्रविरुद्ध नेकपाले दियो चेतावनी

चितवन : नेपाल कम्युनिस्ट पार्टी माडी नगर समितिले माडी नगरपालिकाको नगरसभाबाट भएको निर्णयविपरीत माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल र केही वडाध्यक्षहरूले भूमाफियासँगको मिलोमतोमा १३१ कित्ता कृषियोग्य जमिन खण्डीकरणका लागि रकम मागेको र पुरानो मितिमा कर्मचारीहरूलाई हस्ताक्षर गर्न दबाब दिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपाले जनाएको छ ।

नेकपा माडी नगर समितिका इन्चार्ज रमाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माडी नगरपालिकाभित्र खेतीयोग्य जमिन खण्डीकरण गर्न नदिने नगरपालिकाको नगरसभाबाट भएको निर्णयविपरीत हाल १३१ कित्ता जमिन खण्डीकरण गर्न मेयर ठाकुरप्रसाद ढकालले पुरानो मितिमा कर्मचारीहरूलाई हस्ताक्षर गर्न दबाब दिएको, हस्ताक्षर गर्न नमान्ने कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाएको र खुलेआम रूपमा केही वडाध्यक्ष र स्वयम् मेयरले भूमाफियासँंग रकम माग्नुका साथै विभिन्न ठाउँमा परिचालन गर्नु भनेको विषय गर्वसाथ सुनाउँदै हिँडको प्रमाण फेलापरेको छ । यस्तो विषयले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण गरेको छ ।’

नेकपाले उक्त विज्ञप्तिमार्फत सयौँ कित्ता कृषियोग्य जमिन खण्डीकरण गर्ने निर्णयमा पुरानो मितिमा कार्मचारीलाई हस्ताक्षर गर्न दिएको दबाब तत्काल रोक्नुपर्ने, उक्त विषयसँग सम्बन्धित विगतका गल्ती, कमिकमजोरी, चलखेल गरिएको रकम पारदर्शी गरी सार्वजनिक रूपमा माफी माग्नुपर्ने, नापी कार्यालय, मालपोत कार्यालय र नगरपालिकाभित्रका केही निश्चित दलालहरूले अनैतिक, भ्रष्ट गतिविधि तत्काल रोक्नुपर्ने, तिनीहरूलाई कारबाही गर्नुपर्ने र चलखेल गरेको रकम माडी क्याम्पस तथा सार्वजनिक संस्थामा तत्काल हास्तान्तरण गर्नुपर्ने माग गरेको छ । अन्यथा पार्टीले नगरपालिका र मेयरको अनैतिक र भ्रष्ट कदमको सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :