कोरोना भाइरस, संसदीय सङ्कट र समाधान

यतिबेला विश्व मानव समुदाय नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्कटसँग सिँगौरी खेलिरहेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको मानिएको यो भाइरसले विश्वका अधिकांश मुलुकमा पहिलो चरणमै उच्च मानवीय क्षति र अर्थतन्त्रमा चरम सङ्कट पैदा गरेको थियो । कोभिड १९ को पहिलो भेरियन्टले नेपाललाई त्यति निराशाजनक अबस्थामा पुर्याएन । अहिले कोभिड १९ को दोस्रो भेरियन्टले छिमेकी मुलुक भारत र हाम्रो आफ्नै मुलुकलाई त्रासद अवस्थामा पुर्याएको छ । कोरोना भाइरसको प्रभावबारे सामाजिक सञ्जालमा भाइरल तस्बिरहरू देख्दा जोकोहीको मनमस्तिष्कलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ । छिमेकी मुलुक भारतमा बढ्दो सङ्क्रमण र हाम्रो देशसँगको खुला सीमानाकाका कारण नेपालमा पनि कोरोनाको सङ्क्रमणदर दिनानुदिन आकासिँदो अवस्थामा छ । पछिल्लो समय नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पनि निकै उच्च रूपले वृद्धि हुँदैछ । मानिसहरूमा मनोवैज्ञानिक असर परिरहेको छ । आफ्नै घरछिमेकमा मृत्युु भएका खबरले मानिसको मनोबल निकै कमजोर हुँदै गएको छ । कोरोनाका कारण मृत्यु हुनेको दर १% भए पनि सामाजिक सञ्जालमा भाइरल समाचार, तस्बिर र अन्य सामग्रीहरूले मानिसहरू डर, त्रास र कमजोर मनोबलका साथ बाँचिरहेका छन् । अस्पतालहरूमा अक्सिजनको चरम अभाव छ । सङ्क्रमित नागरिकहरूले बेडसम्म पाउने अवस्था छैन ।स्वास्थ्य सामग्रीको चरम अभावले नागरिकहरू मृत्यु कुरेर बस्न बाध्य छन् ।

यस्तो अवस्थामा राज्य गैरजिम्मेवार बनिरहेको छ । राज्यले समयमै कोरोनाको जोखिम न्यूनीकरण गर्न युद्धस्तरमा काम गर्न सकेको भए आज यो अबस्था उत्पन्न हुने थिएन । कोरोनाको जोखिम कायमै रहेको थियो तर आफ्नो कुर्सी– सत्ता सङ्कटमा परेको बेला हजारौँ–लाखौँ नागरिकलाई सहभागी बनाएर विरोध प्रदर्शन, शक्ति प्रदर्शनका नाममा राज्यका मालिकहरूले सङ्क्रमणलाई झन् व्यापक बनाए । कोरोनाले निम्त्याएको भयानक अवस्था, अर्थतन्त्रमा पारिरहेको चरम सङ्कटका विषयमा आमनागरिक राज्यको निकम्मापन र गैरजिम्मेवारीपनका विरुद्ध भौतिक रूपमा उपस्थित भएर विरोध गर्न सम्भव नभए पनि सामाजिक सञ्जालमा बढ्दो निराशा, आवेग र विद्रोहका शब्दहरूको बेमिसाल तोप पड्काइरहेका छन । नागरिकहरू अस्पतालमा अक्सिजन माग गरिरहेका बेला राज्य संस्दमा विश्वासको मत खोजिरहेको छ । नागरिकहरू अस्पतालका शैयामा छट्पटाइरहेका बेला राज्य ‘हुन्छ भन्नेमा यति मत, हुन्न भन्नेमा यति’ भन्दै संसदीय सत्ता लुछाचुँडीमा पौडी खेलिरहेको छ । सङ्क्रमित नागरिकहरूले सर्वसुलभ एम्बुलेन्स सेवा नपाएर ट्याक्टरमा बिरामी बोकिरहेका बेला राज्यका मालिकहरू हेलिकोप्टर सवारमा उम्मेदवारी दिन उडिरहेका छन् । कोरोना सङ्क्रमितमध्ये धनाढ्यहरू हेलिकोप्टरमा महँगा अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न आईसीयूमा उपचार गराइरहेका छन् भने आमश्रमजीवी, मजदुर, किसान, गरिब जनता सिटामोल भन्ने शब्द सुन्न पाइरहेका छैनन् । ठूला–ठूला होर्डिङ बोर्डमा नयाँ युगको सुरुआत लेखेका संसद्वादीहरूले यतिबेला नागरिकलाई अत्यावश्यक स्वास्थ्य सामग्री सिटामोल, जीवनजल र सङ्क्रमितलाई सामान्य बेडसम्म उपलब्ध गराउन सकेका छैनन । यो अवस्थामा नागरिकहरू नयाँ युगको सुरुआतको होर्डिङ बोर्डमुनि नयाँ युगको सङ्कट र मृत्युु भोगिरहेका छन ।
सङ्कट : व्यवस्थाको उपज

यो सङ्कट पुँजीवादी संसदीय व्यवस्था र राजनीतिक सङ्कटले निम्त्याएको सङ्कट हो । यो व्यवस्था आफ्नो फाइदाका लागि जे पनि गर्ने व्यवस्था हो । यो व्यवस्थामा पर्यावरणको रक्षा, व्यवस्थापन, शान्ति, समृद्धि, स्वाधीनता, जनमत, प्रजातान्त्रिक अधिकार, मानवअधिकारलगायत थुप्रै शब्दहरू जनतालाई भ्रम दिने शब्दावली हुन् । दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध आमजनमानसको गुनासो, पीडा, आक्रोश सर्वत्र सुनिइरहेको छ । नेपालका आमशोषित–पीडित श्रमजीवी जनता विद्यमान व्यवस्थाको आमूल परिवर्तन खोजिरहेका छन् । आमश्रमजीवी जनता, मजदुर, किसान, सुकुमबासी, उत्पीडित जाति, समुदाय, बुद्धिजीवी, युवा–विद्यार्थी, लेखक, श्रमजीवी पत्रकार र सम्पूर्ण मेहनतकस जनता यो सङ्कटको अद्वितीय विकल्प तथा सम्पूर्ण समाधान वैज्ञानिक समाजवादको यात्रामा अविचलित दौडन चाहिरहेका छन् । दसबर्से महान् जनयुद्ध र त्यसको जगमा प्राप्त उपलब्धिहरू गुम्दा ‘जुन जोगी आए पनि कानै चिरिएका‘ भन्ने नमीठो वाक्य र त्यसको जबाफ दिन समाजवादका यात्रीहरूलाई परिरहेको छ । आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउनु र केही मुठीभर नेतृत्वहरू मन्त्री, सांसद र प्रधानमन्त्री बन्ने र जनतालाई धुलोपिठोसहित सडकमै छोड्ने प्रवृत्तिले आमजनतामा बारम्बार धोका भएको छ ।

विजयको सन्निकट पुगेको आन्दोलनलाई मुख्य नेतृत्वको पतनले गर्दा विसर्जन, विघटन हुँदै प्रतिक्रान्तिमा परिणत भए । दसबर्से महान् जनयुद्ध विजयको सन्निकट थियो तर प्रचण्ड–बाबुरामको धोका र गद्दारीले नेपालमा प्रतिक्रान्ति भयो । जनयुद्धका उपलब्धिहरू जनमुक्ति सेना, जनअदालत, जमिनदारका कब्जा घरजग्गा फिर्ता, जनकम्युनहरू विघटन गरिए र जनतामा माओवादीप्रतिको आशा निराशामा परिणत भयो । अहिले बाबुरामको विलय नै भैसक्यो । उनी कम्युनिस्ट आन्दोलन छोडेर भागेका भगौडा र क्रान्तिविरोधी नै भइसके । उनको नयाँ शक्ति जसपामा गएर विलीन भयो । प्रचण्डहरू कहिले काङ्ग्रेसको लट्ठी त कहिले एमालेको लट्ठीको सहारामा बाँचिरहेका छन् । पूर्वसुप्रिमो प्रचण्डलगायतको झुण्ड देशी–बिदेशी प्रतिक्रियावादी साम्राज्यवादीहरूको बफादार कुकुर भएर हड्डीको आसमा संसद्मा नाङ्गो नाच नाच्ने समूहमा परिणत भएको छ ।

नेपालमा दलाल पुँजीवादीहरूले दिएको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ दुःखी नेपाली, कङ्गाल नेपालमा परिणत भएको छ । चरम भ्रष्टाचार, कमिसनखोर, राष्ट्रघात, जनघात, महँगी, कालोबजारी, जनविरोधी हर्कत नै दलाल पुँजीवादका सफलता साबित भएका छन् । लाखौँ युवा सस्तो मूल्यमा आफ्नो श्रम विदेशी भूमिमा बेच्न बाध्य पारिएका छन् । देशमा रोजगार सिर्जना गर्न नसक्दा आफ्नै भूमि कब्जा गर्ने साम्राज्यवादी मुलुकको सेवा गरिरहेका छन । दैनिक युवाहरूको लास बाकसमा लपेटिएर आउँछ । लाखौँ बालबालिका आधारभूत शिक्षाबाट वञ्चित छन् । लाखौँ दिदीबहिनी अर्बमा बेचिएका छन्, लुटिएका छन्, मारिएका छन् । देशमा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढिरहेको छ । गोर्खा भर्तीकेन्द्रमार्फत बर्सौंदेखि युवाहरूलाई भारतमा बेचिएको छ । किसान, मजदुर, आमश्रमजीवी जनतलाई छाक टार्न मुस्किल छ । करिब ७० लाख मानिस गरिबीको रेखामुनि छन् । बोक्सी, छुवाछूतका नाममा अमानवीय शोषण, उत्पीडन र दमन भएको छ । दिनदहाडै ससाना छोरीहरू बलात्कृत भएका छन् । हत्या, हिंसा, आतङ्कले सीमा नाघेको छ । राज्य नै हत्या, हिंसामा खुलेआम उत्रिएको छ । एउटै देशमा दुई किसिमको शिक्षा प्रदान गरिएको छ । धनी र धनाढ्यका छोराछोरीहरू महँगा बोर्डिङ स्कुलमा दाखिला छन् भने गरिबका छोराछोरी सरकारी स्कुलमा पढिरहेका छन् । शासकहरू आफ्नो सत्ता टिकाउन, विदेशीलाई रिझाउन विभिन्न सन्धिसम्झौता नदीनाला, खनिज–खानीहरू बेचिरहेका छन् । लिपुलेक, कालापानी, लिम्पियाधुरामाथि विदेशी हस्तक्षेप कायमै छ । नेपालसँग कुनै सरोकार नराखी साम्राज्यवादले सीमानाका हाम्रो भूमिमा एकलौटी बाटो निर्माणकार्य गर्दासम्म राज्यलाई थाहा हुँदैन । भारतबाट आयात हुने तरकारीको गुणस्तरसम्म जाँच्न नसक्ने राज्यलाई के भन्ने ?

तसर्थ यी सबै सङ्कटले क्रान्ति, विद्रोह जन्माउँदैछ । जनताहरू जित्न अघि बढ्दैछन् । शासकहरूले खतराको घन्टी बजेको महसुस गर्न थालिसकेका छन् । त्यसैले क. विप्लवले भनेझैँ ‘क्रान्ति आवेगमा होइन, विवेक र योजनामा अघि बढ्छ ।’ हामी क्रान्तिकारीहरू पूर्ण विवेक र योजनामा अघि बढी यो सङ्कटको विकल्पमा निःसर्त वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको दिशामा अघि बढौँ । शोसण, उत्पीडन, असमानता र वर्गको अन्त्य गरी आमश्रमिक वर्गको सत्ता निर्माण, समानतामूलक र समृद्ध, शान्त, स्वाधीन मुलुक निर्माण गरौँ ।

वैज्ञानिक समाजवादबारे पुँजीवादले छरेको भ्रमका विरुद्ध सर्वहारा वर्गको पहिलो सत्ता पेरिस कम्युन, लेनिनले अक्टोबर क्रान्ति सम्पन्न गरेर निर्माण गरेको सोभियत सङ्घ, छिमेकी मुलुक चीनमा माओले विजय हासिल गरेको चिनियाँ क्रान्ति, भारतमा भाकपाले गरेको जनयुद्ध, निरन्तरको सङ्घर्ष, विश्वक्रान्तिका नायक चे ग्वेभाराको बलिदानी सङ्घर्ष, भियतनाम, जनगणतन्त्र कोरियालगायत अन्य मुलुकमा चलेका समाजवादी क्रान्ति नै हाम्रा आदर्श र प्रेरणास्रोत हुन् । पुँजीवादीहरू वैज्ञानिक समाजवादलाई काल्पनिक कुरा हो भनेर भ्रम छर्छन् तर त्यो सत्य होइन । सत्य के हो भने वैज्ञानिक समाजवाद सर्वहारा बर्गलाई सत्ताको मालिक बनाउने आजको मानव समाजको प्रतिनिधित्व गर्ने उच्चतम व्यवस्था हो । वैज्ञानिक समाजवाद नै मानव जातिलाइ वर्ग, जात, राष्ट्र र धर्मविहीन बनाउने, हरप्रकारका शोषण, दमन र उत्पीडनबाट मुक्त गर्दै स्वतन्त्र, शान्त, समान, वैज्ञानिक र समृद्ध दुनियाँमा पुर्याउने मानवसभ्यता हो । तसर्थ दलाल पुँजीवादको अन्त्य गरी वैज्ञानिक राज्यसत्ता स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध होऔँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :