२७ औँ जनयुद्ध दिवसका अवसरमा दाङमा प्रगतिशील विवाह, दिप प्रज्वलन, शुभकामना आदानप्रदान

२७ औँ जनयुद्ध दिवसका अवसरमा दाङमा प्रगतिशील विवाह, दिप प्रज्वलन, शुभकामना आदानप्रदान

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा भव्य रुपमा २७ औँ जनयुद्ध दिवस मनाएको छ । 

नेकपा दाङ जिल्ला अन्तर्गतका विभिन्न पालिकामा फागुन १ गते बिहान टिका आवरणसहित शुभकामना आदानप्रदान गरि जनयुद्ध दिवस मनाएको नेकपा दाङले जनाएको छ ।

यस्तै नेकपा दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीले टीका आवरण, शुभकामना आदानप्रदानका साथै भव्य र्यालिसहित तुलसीपुर बजार परिक्रमा गरेको हो । र्यालीमा नेकपाका नेताकार्यकर्ताहरुले महान जनयुद्ध जिन्दावाद, जनयुद्ध दिवस सफल पारौं, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद,एमसीसी परियोजना खारेज गर, बढ्दो मंहगी नियन्त्रण गर लगाएतका नारा लगाएका थिए ।

बजारका विभिन्न चोकहरु परिक्रमा पछि र्याली तुलसीपुरको बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले त्याग, समर्पण र बलिदानको ऐतिहासिक दिनको सन्दर्भमा नेपाली मुक्तिकामी आम जनसमुदाय, पार्टीपंक्तिप्रति हार्दिक शुभकामना व्यक्त गरेका थिए । नेता शितलले जनयुद्धका अधुरा कार्यभारहरु वर्गसंघर्षको नयाँ मोडेल एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत पूरा गरिछाड्ने उद्घोष समेत गरेका थिए ।

कोणसभाको सञ्चालन नेकपा दाङका कार्यालय सदस्य एवम् तुलसीपुर उपमहानगरका इन्चार्ज विकासले गरेका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङका कोषाध्यक्ष दिपेन्द्र वली प्रगतिशील विवाहमार्फत वैवाहिक जिवनमा बाधिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.४ निवासी बुवा प्रतु वली र दिवंगत आमा मर्ची वलीको छोरा दिपेन्द्र वली र रोल्पा त्रिवेणी गाउँपालिका वडा नं.६ निवासी बुवा जयलाल डाँगी र आमा उतिमा डाँगीकी छोरी जीवा डाँगी प्रगतिशील विवाहमार्फत वैवाहिक जीवनमा बाधिएका हुन् ।

२७ औँ महान जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा आयोजित प्रगतिशील विवाह कार्यक्रममार्फत वैवाहिक जिबनमा बाधिएका वर-बधुलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय समिति सदस्य एवम् दाङका इन्चार्ज शितलले नेपाली समाजको रुढिवादी संस्कार, संस्कृति र परम्परा विरुद्ध प्रगतिशील विवाहमार्फत समाजमा क्रान्तिकारी संस्कृति निर्माणमा ठूलो योगदान पुगेको बताएका थिए ।

नेता शितलले कम्युनिस्टहरु ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट निर्देशित हुने भएकाले नेपाली समाजमा विवाह लगायतका थुप्रै परम्पराहरु शासकहरुले शोषण गर्ने मनसायका साथ अदृश्य, कुनै सत्यता नभएको धर्मको जाल बुनेर नेपाली समाजलाई रुपान्तरण हुन नदिन केवल मिथ्या प्रचार गरेको जिकिर गरे ।

बधाई तथा शुभकामना मन्तव्य नेकपाका केन्द्रीय सदस्य सुन्दर वली, नेकपा विशेष कमिटी सदस्य सम्झना, नेकपा विशेष कमिटी सदस्य विक्रम, नेकपा दाङका सेक्रेटरी प्रदिप, युवा संगठन नेपालका केन्द्रीय सचिव तिलक, बुद्धि विकास मा.वि.का प्रधानाध्यापक प्रकाश खड्काले व्यक्त गरेका थिए ।कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज नारायण भण्डारी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्ट, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र, तुलसीपुर इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल अमृत कडेल लगाएतको आतिथ्यता रहेको थियो ।

नेकपा दाङका कार्यालय सदस्य एवम् तुलसीपुर उपमहानगरका इन्चार्ज विकासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गरेका थिए ।

युवा संगठन नेपाल जिल्ला समिति दाङ र घर परिवारद्वारा आयोजित विवाह कार्यक्रमको अध्यक्षता युवा संगठन नेपालका केन्द्रीय सदस्य जीवनीले गरेकी थिइन् । 

नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गतका विभिन्न पालिकाका मुख्य शहर केन्द्रित चोकहरुमा २७ औँ महान जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ ।

यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीले बिरेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले नेपाली मुक्तिकामी श्रमिक जनताको आकांक्षा र जनयुद्ध लक्ष्य, उदेश्यकालाई धोका दिएर प्रचण्ड बाबुराम दलाल पुजीवादमा पतन भएको जिकिर गरे । उनले आफुहरु जनयुद्धका अधुरा सपनाहरु पूरा गर्न फेरि विद्रोहको बाटो लिएको भन्दै नेपाली जनतालाई सडकमै छाडेर एक्लै महलमा रजाइ गर्नेहरुका विरुद्ध निर्मम संघर्ष गर्ने उद्घोष गरे । नेता संजयले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत बताए ।

कार्यक्रमको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :