मकवानपुरमा शुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाइयो

मकवानपुरमा शुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाइयो

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शुभकामना आदानप्रदान गरी २७ औं जनयुद्ध दिवस मनाएको छ । हेटौँडा १ जरुवाटोलस्थित आफ्नै पार्टीे कार्यालयमा भएको कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रमा रहेका पार्टीका नेता–कार्यकर्ताका साथै सर्वसाधारणको उल्लेख्य उपपस्थिति थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्य, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्य, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पश्चिम बागमती इन्चार्ज सुरेन्द्र बस्याल, अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा पश्चिम बागमती इन्चार्ज राजकुमार मगरलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नयनले आजको जनयुद्ध भनेकै एकीकृत जनक्रान्ति भएको बताए । एकीकृत जनक्रान्तिले १० बर्से जनयुद्धले पूरा गर्न नसकेका कार्यभार पूरा गर्ने बताउँदै उनले एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भई अघि बढ्न सबैमा अपिल गरे ।
विशेष अतिथि वाटरले १० बर्से जनयुद्धअघिको समाजभन्दा आजको समाज फरक हुनु जनयुद्धको आंशिक परिणाम भएको बताए । उनले हजारौँ सहिदको सपना र करोडौँ नेपाली जनताको जनवादी सत्ताको चाहना अब एकीकृत जनक्रान्तिले मात्र पूरा गर्ने बताए ।
कार्यक्रममा अतिथिलगायत उपस्थित सबैले एकआपसमा अबिर लगाई शुभकामना आदानप्रदान गरेका थिए । जिल्ला सचिवालय सदस्य तथा हेटौँडा उपमहानगरपालिका सेक्रेटरी सूर्य अर्यालको सभाध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज विवेक घलानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :