नेकपाले रूपन्देहीमा मनायो जनयुद्ध दिवस: विभिन्न दलबाट १८७ जना नेकपामा प्रवेश

नेकपाले रूपन्देहीमा मनायो जनयुद्ध दिवस: विभिन्न दलबाट १८७ जना नेकपामा प्रवेश

बुटवल: नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सैनामैनामा २७ औं जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ । नेकपा रुपन्देहीको आयोजनामा गरिएको कार्यक्रममा रुपन्देहीका विशाल जनताको सहभागिता रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृतिले तत्कालीन नेतृत्व संसदीय व्यवस्थामा पतन भएर जनयुद्धका सपनाहरुलाई धोका दिएको कारण नेकपा पुनर्गठन गरेको बताए । उनले जनयुद्धका नायकहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै फेरी चुनावको नाममा जनतालाई भ्रम दिन खोजिएकोले जनताले प्रतिप्रश्न गर्नुपर्ने बताए । उनले संसदीय व्यवस्थाले देशलाई कङ्गाल बनाएको भन्दै समाजवादी व्यवस्थाले मात्र वास्तविक समृद्धि र विकास गर्ने बताए । उनले संसदीय व्यवस्थाले जनतालाई गरिबी र नेतालाई धनी बनाएको भन्दै आफ्नो पार्टीले यसलाई उल्ट्याउन चाहेको उल्लेख गरे । उनले शासक वर्गविरुद्ध संघर्ष गरेर मात्र समाजवाद ल्याउन सकिने दाबी गरे । एमसीसी पास गर्न कांग्रेस, एमाले, माकेलगायत पार्टीहरु लागिरहेको भन्दै यसो गरिए प्रतिरोध गरिने बताए । दलाल पार्टीहरुले संसदबाट एमसीसी पास गरिए देश अमेरिकी सेनाको क्रिडास्थल बन्ने बताउदै यसको खारेजीका लागी सम्पूर्ण देशभक्त र सच्चा लोकतन्त्रवादी एक हुनपर्ने बताए । उनले राष्ट्रियता र जनताको मुक्तिका लागी पार्टीले बलिदान दिन तयार रहेको समेत बताए ।
कार्यक्रममा जिल्ला सेक्रेटरी विश्वासले जनयुद्धका अधुरा सपनाहरु पुरा गर्न र जनताका समस्या समाधान गर्न जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । उनले जनयुद्धका प्रतिबद्धताहरुलाई प्रचण्ड बाबुरामहरुले संसदीय फोहोरमा डुबाए पनि आफ्नो पार्टीले क्रान्तिको झण्डालाई उठाएको बताए ।
अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले संसदीय व्यवस्थाले देशमाथि लुट मच्चाइरहेको भन्दै यसको विकल्प नेकपाले दिनुपर्ने बताउदै जनताको गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत बिषयको ग्यारेन्टी वैज्ञानिक समाजवादले गर्ने बताए ।
कार्यक्रममा थारू राष्ट्रिय मुक्ति मोर्चाका महासचिव नवीन थारू, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव श्याम सेन्चुरी, अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगर, श्रमिक समुदाय मोर्चा नेपालका कोषाध्यक्ष जानुका बराह, नेकपा जिल्ला सल्लाहकार समितिका संयोजक ज्योतिलाल विक, माओवादी केन्द्रबाट प्रवेश गरेका देवीप्रसाद चौधरीले बोलेका थिए ।
कार्यक्रममा संग्रामी सांस्कृतिक परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा बुटवल उपमहानगरपालिका सेक्रेटरी बिरेन्द्र विक, स्वागत सैनामैना सेक्रेटरी बर्षाले गरेकि थिइन् ।
कार्यक्रमको अवसरमा एमाले, कांग्रेस, माके, जनता समाजवादी, राष्ट्रिय जनमोर्चालगायत पार्टीहरुबाट १८७ जना नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृति र सेक्रेटरी विश्वासले अबीर लगाएर स्वागत गरेका थिए ।
नेकपा रुपन्देहीले हरेक वर्ष जनयुद्ध दिवस मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :