दलाल

कविता

दलाल

तिम्रो देशलाई
दलाल चाहिएको छ भने
हाम्रो देशबाट सापटी लिनु
जुन दलालले
हाम्रो देशलाई
कङ्गाल बनाएर
तिम्रो देशलाई
मालामाल बनाउने छ ।

तिम्रो देशले हाम्रो देशका
दलालहरूलाई पैसा दिएर
जाल किनेर दिन्छ ।
त्यही तिम्रो देशले दिएको
जालको डोरी समातेर
हाम्रो देशको दलालले
तिम्रो देशलाई
आफ्नै देशको
जमिन किनेर दिनेछ ।।

तिम्रो देशका नेताले
राजनीतिक गर्नको लागि
राजनीतिक दल
खोलेका छन् ।
हाम्रो देशका दलालले
दलाली गर्नको लागि
राजनीतिक दल खोलेका छन् ।

कहाँ तिम्रो देश
कहाँ हाम्रो देश
तिम्रो देशमा
भ्रष्टाचारीलाई
जेल चलानी गरिन्छ ।
हाम्रो देशमा
भ्रष्टाचारीलाई
सलामी गरिन्छ ।।

तिम्रो देशमा
भोकमारी घटाउन
कर्मचारीलाई
नियुक्ति गरिन्छ ।
हाम्रो देशमा
भोकमारी बढाउन
कर्मचारीलाई
नियुक्ति गरिन्छ ।।

तिम्रो देशमा
अर्काको देशलाई
कब्जा गर्नको लागि
सेना बनाईन्छ ।
हाम्रो देशमा
देशलाई सानो बनाउन
सेना बनाइन्छ ।।

कहाँ तिम्रो देश
कहाँ मेरो देश
तिमी अब्राहम लिंकन
जन्मेको देशको मान्छे
म बुद्ध जन्मेको
देशको मान्छे
तिमी महात्मा गान्धी र राम
जन्मेको देशको मान्छे
म हराम नै हराम जन्मेको
देशको मान्छे
बुद्ध जन्मेका देशकाले
राम नै राम पुजेर
अवतारमा घामण बनेर
आफ्नै देशलाई
लिलाम बनाई सक्यौँ ।

अब हाम्रो देशमा पनि
कार्ल मार्क्स
लेनिन, स्टालिन,
माओत्सेतुङ र फिडेल
क्यास्ट्रो जस्तै
वीर योद्धाहरू
जन्मनु पर्छ ।
हाम्रो देशका
दलाललाई
जालभित्र हालेर
तिम्रो देशका
देशका दलालले
समातेको जालडोरीलाई
सधैँको लागि चुटाइँ दिने
मेरो ठूलो सपनालाई
पूरा गर्नुछ ।।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :