नेकपाका संस्थापक कमरेड पुष्पलालको आज ४३ औँ स्मृति दिवस

नेकपाका संस्थापक कमरेड पुष्पलालको आज ४३ औँ स्मृति दिवस

काठमाडौँ : आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक एवम् संस्थापक महासचिव पुष्पलालको ४३ औँ स्मृति दिवस हो । कम्युनिस्टको थर हुँदैन भन्ने उच्च साम्यवादी चेतनाका पुष्पलालले आफ्नो थरमा जोडिएको ‘श्रेष्ठ’ हटाएर पुष्पलाल मात्र नाम राखेका थिए । पुष्पलालले नेकपाको स्थापनाअघि नै २००५ सालमा कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गरेर वितरण थिए । राणाशासनको क्रूरता र निरङ्कुशताका कारण नेपालमा असहज भएपछि त्यसको एक वर्षपछि २००६ सालमा उनले भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यसपछि उनले नेकपाको घोषणापत्र र पर्चा पनि जारी गरेका थिए ।

कम्युनिस्ट घोषणापत्र अनुवाद गरी वितरण गर्ने र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने दूरदर्शी चेतनाका क्रान्तिकारी अग्रज पुष्पलालको जन्म रामेछापको भँगेरीमा १९८१ साल असार १५ गते भएको थियो । निर्वासित जीवन बिताइरहेको समयमा २०३५ साल साउन ७ गते भारतमा पुष्पलालको निधन भएको थियो ।

नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले पुष्पलाललाई आदर्श व्यक्तित्वका साथै निष्ठावान् र इमानदार कम्युनिस्ट नेता मान्दै आएका छन् । नेकपाले हरेक वर्ष पुष्पलालको स्मृतिमा कार्यक्रम आयोजना गर्दै आएको छ । क्रान्तिकारी कम्युनिस्टहरूले इमानदारीसाथ र अवसरवादी, संशोधनवादी, छद्मभेषीहरूले लोगोका रूपमै भए पनि पुष्पलाललाई सम्झिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :