…कथित संविधान जलाउन

कविता

…कथित संविधान जलाउन

म जन्मने बेला
आमालाई बस्ने, छाना थिएन
मिठो खाना थिएन ।
मलाई सफा नाना थिएन
छानाभित्र दाना थिएन
म जन्मेकै कारण
वडा कार्यालयमा
सय रुपैयाँ कर तिरेर जन्मेको हुँ ।।
खोक्रो दलाल संविधानमा
गाँस, बास र कपासको ग्यारेन्टी गरिनेछ
कदापी लेखेको छैन ।।।

जब म स्कुल जाने उमेरको भए
साहुका घरको धने
शहर पढ्न गयो
धन नभएकै कारण म
धनेका घरका गोरु चराउन गए
यो दलालको संविधानमा
निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।
बिल्कुल लेखेको छैन ।।

मेरा बाको दर्तामा एक किर्ता जग्गा छ ।
धनेका बाको दर्तामा बिगौँ बिगा जग्गा छ ।।
मेरा बाले बर्षेणी इन्डिया गएर तिरो तिर्नु हुन्छ
धनेका बाले कहिल्यैपनि तिरो तिर्नु हुन्न
यो दलालको संविधानमा
धनेका बालाई तिरो छुट किन ? भयो ।।।
मेरा बाको एक कित्ता
धनेका बाको बिगौँ बिगा जग्गा किन ? भयो

म दश बर्षको हुँदा
मेरी प्यारी आमाको
बोक्सीको आरोपमा
कुटीकुटी हत्या गरे
ती पापी वडा अध्यक्षका सन्तानले
दलित भनी धारा छोएकै आधारमा
माथिल्लो गाउँकी सेतु कामी
कुटपिट भएरै मरिन् मोखियाकी महिलाबाट
दस लाख तिरेर तिरेर
हत्याराहरू जेल मुक्त हुन्छन् भने

मेरी प्यारी दिदीलाई चौध बर्षको उमेरमा
बलात्कार पछि तड्पाई तड्पाई मारे
ति रक्तपिपासु रामेका छोराहरूले
ल अब भन्नुहोस् यो दलालको संविधानमा
दलितको लागि मुक्ति कहाँ छ ?
महिलाको लागि मुक्ति कहाँ छ ?
गरिबको लागि न्याय कहाँ छ ?
जनताको सुरक्षा कहाँ छ ?

मेरा ठुलो दाजुले
होटलमा भाँडा माझीमाझी
भारी बोकी बोकी
घर छोडेर शहरमा
मास्टरसम्म पढ्नु भयो
जागिरैका लागि
दुनियाँको पाउमा ढोग्नु भयो
साहुको चर्को ब्याँजमा ऋण निकाली
पैसा कमाउन खाडीमा जानुभयो
६ महिनामै बाकसमा सुतेर
छानो अगाडि गाडीमा आउनु भयो
यो दलालको संविधानमा
हरेक नेपाली नागरिकलाई
रोजगारीको व्यवस्था गरिनेछ ।
लेख्दै लेखिएको छैन ?

सबै परिवार गुमाउँदा गुमाउँदा
मसँग आफ्नै भन्ने एउटा बा छन् ।
बा पनि आधा उमेरमै
बिरामीले थलाथला पर्नु भएको छ ।।
मसँग सिटामोल किन्ने पैसा छैन ।।।
बाको जीवन पनि आज छ कि भोलि छ ।।।।
यो दलालको संविधानमा
स्वास्थ्य उपचार निःशुल्क लेखिएको छैन ।।।।

अब त अति भयो
अति गर्नेको खति गर्नुपर्छ ।
दुनियाँको दास हुनुभन्दा
अन्याय र अत्याचार सहनु भन्दा
बलिदान गर्छु भनेर
निधारमा कपन बाँधी
यो दलालको व्यवस्थालाई फेर्न
यो दलाल संविधानलाई फेर्न
वर्ग सङ्घर्षको मैदानमा
क्रान्ति, क्रान्ति भन्दै बिगुल फुक्दा
झुटा मुद्दा चलाएर
हातमा हत्कडी लगाएर
बन्दुक र जेलको धम्की दिइन्छ भने
यो देशका शासकहरूको
यो देशका दलालहरूको
यो देशका भ्रष्टहरूको
राज्य व्यवस्था खारेज गर्न
कथित संविधान जलाउन
हातमा खुकुरी समाउन
दलालका किल्ला भत्काउन
साम्राज्यवादलाई भगाउन
एकीकृत जनक्रान्तिको बाटोमा
वैज्ञानिक समाजवादको झण्डा बोकी
वर्गीय मुक्ति मोर्चामा
न्याय, समानताको गीत गाउन
राष्ट्रिय स्वाधीनताको गीत गाउन
देशभक्त, क्रान्तिकारी नेपाली
हाम्रो पुस्ताका नौ जवान युवाहरू
एक पटक फेरि तयार हुनुपर्छ ।

३ असोज ,२०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :