मलाई फिर्ता देऊ मेरो अपहृत गणतन्त्र !

कविता

ओढेर आकाश र ओछ्याएर धर्ती
धौ–धौ प्राण धानिरहेकाहरूको जीवनमा
कहिल्यै मीठो–मसिनो खाना
र औडाहा दुगुरिरहेको शरीरमा
केही मात्र भए पनि
सन्तुष्टिको औषधी ल्याइदिने आशा थियो
गरिखानेलाई ओत लाग्न
एउटा छाप्रो र
पसिना बगाएर छाक टार्न मात्र भए पनि
भागमा एक धर्को जमिन पार्ने विश्वास थियो
लुटिएका मानिसको जीवनमा
केही न्यायको घाम लाग्ला र
शदीयौँदेखि नबलेका चिसा चुलाहरूमा
खोले उमाल्नै भए पनि
एक भुड्को पानी तात्ला भन्ने थियो
साउँ अक्षर चिन्न पाउलान् निरक्षरले र
अकालमा नजाला कसैको ज्यान
रोकएला चेलीहरूको
अस्मिता लुट्ने बदचलन भन्ने थियो ।
कसैको भागमा सदा दूधभात र
कसैको भागमा कहिल्यै
लट्टेको साग पनि नपर्ने अवस्थाबाट
मुक्त होला मेरो प्रिय देश
मेटिएला वर्गविभेद
र शिर उठाएर हिँड्न पाउलान्
पददलितहरूले भन्ने थियो ।

यही लक्ष्य चुम्न त हिँडेका थियौँ हामी
सामन्ती मुकुट खोस्ने र
जन–गणतन्त्र ल्याउने युद्धको भीषणा मोहरीमा !

यीः हेर मेरो शरीर !
गणतन्त्रविरोधी शासकले दागेका गोलीले
चिराचिरा र छियाछिया भएको शरीर !
गणतन्त्र ल्याउने युद्धमा
उजाडिएको मेरो परिवार हेर
सिउँदो पुछिएकी मेरी आमाको शिर हेर
चुरा फुटाइएकी मेरी बहिनीका
रित्ता नाडी, बुच्चा नाक–कान र
बाउआमा गुमाएका मेरा आफन्तीको दुरवस्था हेर
गणतन्त्र लिन जाँदा
वर्गवैरीले बेपत्ता पारेका
मेरा सहयोद्धा र
आफन्त खोजिरहेका तिनका परिवारको वेदना हेर !

ए महाशय,
तिमी त गणतन्त्र आउँदै–आउँदैन भन्दै थियौ
गणतन्त्र आउनु
बयलगाडा चढेर
सात समुद्रपारि म्लेच्छ देशको
यात्रा गर्नुजस्तै दुरुह र
सिसिफसको कथा हो भन्दै
हियाउँदै थियौ गणतन्त्रका जोदाहाहरूलाई
जनतन्त्रका लागि बगेको रगतलाई
मासिकश्रावसँग तुलना गर्दै
तुच्छ ठान्दै पो थियौ !
कसरी आज दिनदहाडै अपरहण गर्यौ
मेरो त्याग, शौर्य र
बलिदानबाट प्राप्त प्रिय गणतन्त्रलाई ?

हे सत्तापिपासु !
केही थान लोभी–पापीहरूलाई
भुलाएर पजेरो र प्राडोमा
चखाएर एकाध मन्त्रीको गुलियो
फसाएर एकाध महल र सुरासन्दरीमा
अपहरण गर्यौ तिमीले
मेरो आँखाको नानी गणतन्त्र !
मेरो हृदयको ढुकढुकी प्रिय–तन्त्र !!

तिमी त एकात्मकतालाई ढाल्न सकिँदैन र
मुलुकले नै धान्दैन गणतन्त्र भन्दै
जुलुस पो निकालिरहेका थियौ जनगणतन्त्रको विरोधमा
चिराचिरा पार्छ सङ्घीयताले मुलुक भन्दै
तुहाउँदै पो थियौ तिमी त सङ्घ बनाउने प्रस्ताव
इतिहासदेखि लुछिएका, पाछिएका, ताछिएका र हेपिएका
मधेसी, जातजाति, आदिवासी
दलित र महिलाहरूलाई सत्तामा लग्नै हुँदैन,
ती त केवल हाम्रो सेवा गर्न
जन्मिएका औजार हुन् पो भन्दै थियौ
कमलकोठीले आफ्नो गुँडभित्र
हुलेर झुसिल्कीरा
आफूजस्तै कमलकोठी बनाएजस्तै
तिमीले गणतन्त्रलाई अपहरण गर्यौ र
बनाइदियौ अनन्तसम्म
भोका–नाङ्गा र निमुखा जन्माउने कङ्गाल–कारखाना
अर्थात् ‘बिहारी’ गणतन्त्र
जहाँ छैन रोग, भोक, शोक,
अभाव र छट्पटीको पहाडभन्दा केही
जतिसुकै भट्ट्याए पनि सुख–समृद्धिको नारा
जहाँसुकै गरे पनि
ग्याँस, पाइप र पानीजहाज घरघरै पुर्याइदिने कुरा
गरे पनि कसैले भोकै मर्नु नपर्ने ऐलान
ऊः हेर
उपचार अभावले घरघरै परिरहेको छ लास
पारिरहेछ भोकमरीले बस्तीहरू उजाड
सन्तान भोकै मरेको दुर्दिन देख्नुपर्ने भयले
धमाधम आत्महत्या गरिरहेछ मानिस
मस्त थियौ तिमी त भोगविलासमा
जतिबेला जनतन्त्रप्रेमीहरू बगाउँदै थिए रगत
हो, आएको थियो गणतन्त्र उसैको त्याग र बलिदानले
तिमीले अपहरण गर्यौ उसको गणतन्त्र
तिमीले बन्दी बनायौ मेरो प्रिय–तन्त्र !
तिम्रा कानै टट्ट्याउने बकबास
साबित भएका छन् केवल नटवरलालका बयान हुन्

कस्ता कमलकोठी गणतन्त्र बनायौ हँ तिमीले ?
पदका लागि
जन्मभूमिलाई नै फिजी बनाइदिने र
आमन्त्रण गर्ने लेन्डुप र ‘महेन्द्र चौधरी’ हरूलाई
पैसा देखेपछि बालुवाटारसम्म किनबेच गर्ने र
हवाईजहाज, यती, ओम्नीदेखि
कोरोना–पीडाले मृत्युशैयामा छट्पटाइरहेकाहरूको
औषधीसम्म पचाउने
जनताको मुख मोसेर
देशको भविष्य काटेर
सबै आफ्नै पेटभित्र होम्नी !

द्विविधामा छु म आज–
जिन्दावाद नभनौँ त
मेरो एउटा सिङ्गो इतिहास र
जवानी खाएको छ यो गणतन्त्रले
मुर्दावाद भनौँ त
अभाव, लाञ्छना, घृणा र घातबाहेक
केही दिएको छैन यो भीडतन्त्रले !

तिम्रो भागमा चौरासी व्यञ्जन र
मेरो भागमा रित्तो थाल
मैले चाहेको गणतन्त्रको प्रयोग
यस्तो होइन शासक !
मलाई विश्वास छ
मेरो गणतन्त्रले मलाई
मृत्यु र प्रतिबन्ध लाद्दैन ।
मेरो गणतन्त्र त जाडोको न्यानो घाम हो
भोकको प्रिय भोजन हो
अन्यायलाई निर्मूल पार्ने
न्यायको तराजु हो !

हे मनुज !
फिर्ता देऊ मलाई मेरो न्यानो घाम
मेरो गणतन्त्र
म मेरै गुँडमा राखेर बनाउँछु यसलाई
जनगणतन्त्र
र घोषणा गर्छु वैज्ञानिक समाजवाद
मेरो गणतन्त्रले
भोकाएकाहरूलाई भोजन दिन्छ
र निद्रा बिथोलिएकाहरूलाई दिन्छ मीठो निद्रा
मेरो गणतन्त्रले अपहरणकारीलाई
मखमली र गोदावरीको
हजार किलोको माला होइन
फाँसीको फन्दा पहिर्याउनेछ !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :