कुट तिमी

कविता

कुट तिमी

कहिले नर्सलाई कुट
कहिले डाक्टरलाई कुट
कहिले गरिबलाई कुट
कहिले दलितलाई कुट
कुट तिमी
कहिले मजदुरलाई कुट
कहिले सुकुमबासीलाई कुट
कुट तिमी कुट …

कहिले देश बनाउनेलाई कुट
कहिले देश बचाउनेलाई कुट
हे मूर्ख हो, तिमी बलिया छौ
तिमी कुट्दै जाऊ, हामी सहँदै जान्छौँ
तिमी दमन गर्दै जाऊ, हामी मौन बस्छौँ
किनकि तिमी मालिकका भक्त हौ
कुट तिमी कुट …

बिरामीको सेवामा छन् बिचरा ती नर्स, डाक्टर
उनलाई नकुट, बरु जाऊ सक्छौ भने
देश बेच्नेलाई कुट
राष्ट्रलाई बन्धकी राख्नेलाई कुट
महाकाली बेच्नेलाई कुट
कालापानी बेच्नेलाई कुट
देशलाई फिजीकण गर्नेलाई कुट
भ्रष्टचारीहरूलाई कुट
कमिसनखोरहरूलाई कुट
कालोबजारी गर्नेलाई कुट
बिचरा, नर्सको दोष छैन
ती नर्स र डाक्टर लाई नकुट ।

मलाई थाहा छ तिमी बलिया छौ
तिमी साइबर सेनाका रूपमा स्थापित छौ
कतैबाट आदेश छ रे ।
यो धर्ती नै बलियाहरूको रहेछ
बलियाका विरुद्ध बोले लान्छन् जेलेर
मान्छे नै मान्छेको दास भएको छ
यो धर्ती सोझाको भन्ने कहाँ छ र
बलियाले गर्छन् रजाइँ
बोले, कराए दिन्छन् सजाय
बलवान् ती कुट्ने मालिकहरूमा दया हुँदैन
लाखौँ लडेर बलिदान दिए नि तिनीमा मानवीय धर्म हुँदैन
भो मालिक बिन्ती छ
नकुट, नकुटाऊ सोझा मान्छेहरूलाई
आँसु नबगाऊ, अर्थ हुँदैन
एक–अर्कोलाई बुझ, सघाऊ
बिन्ती छ मालिक, ती नर्सलाई नकुट

ए, हजूर दलाल व्यवस्थाको खेल फोहोर छ
मन्त्रीकै लागि ओहोर–दोहोर छ
देशलाई बन्दी बनाइरहेछन्
आफूलाई राष्ट्रवादी नेता भनिरहेछन्
जो सत्यको वकालत गर्छ उसलाई मराइरहेछन्
अनौठो छ यहाँ बेइमानी चलन
साँचो कुरा बोल्न चाहे पाइँदैन बोल्न
संविधान र समृद्धि भन्दै गा’छौ
हत्या–हिंसा बढाएर जनताकै खुन खा’छौ ।

ए, शासकहरू हो
तिम्रो जिम्मा यहीँ रहेछ जति सक्छौं मार
जनता मारी रजाइँ गर रुवाबासी पार
देश जति रोए पनि आफू हाँसेका छौ
गरिब झन् गरिब भए पनि तिमी धनी भा’छौ

आउँछ हुरी कुनै दिन होसियार बन
निस्किएर भाग्न सक्ने गरी खाडल खन
उठ अब युवा पुस्ता नगर है ढिला
बुझ युवा सोच अब देशकै लागि भए पनि
कि नेपाल जेसुकै होस् भन्नुपर्यो
हैन भने कम्मर कसी जाग्नुपर्यो अब ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :