आज पनि भीषण वर्षाको सम्भावना !

आज पनि भीषण वर्षाको सम्भावना !

काठमाडौँ : भारतबाट उठेको ‘यास’ चक्रवातको असर कायमै रहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको छ । तथापि त्यसबाट बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । तीन दिनदेखिको लगातारको वर्षाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिरो गएको छ ।

निरन्तरको वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीको सिर्जना टोलका अशोक विक र रविलाल विकको घर जोखिममा परेको छ । तीन दिनदेखि वर्षा भइरहेकाले दुवै घर जोखिममा रहेको स्थानीय बताए ।

लगातार वर्षा भइरहेकाले खोला तथा खहरेमा बाढी आउन सक्ने भन्दै सतर्क रहन अपिल गरिएको छ । निरन्तरको वर्षाले पानीको सतह बढ्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो ।

नवलपरासी पूर्व र पश्चिमका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र यो क्रम शनिबारसम्म रहन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका १६ डन्डामा रहेको नेपाल बाढी सूचना केन्द्रले नवलपरासी पूर्वको डन्डा कावासोती, देवचुलीलगायत ठाउँहरु तथा नवलपरासी पश्चिमको बर्दघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घन्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्क रहन अनुरोध गरेको छ । बर्दघाटमा रहेको बर्षा मापन केन्द्रले शुक्रबार दिउँसो १ सय ९ मिलिमिटर नाघेको जनाएको छ ।

लगातारको वर्षाले नारायणी नदीमा बाढीको अवस्था चेतावनी तहमा पुगेको पनि जल मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :