स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : नेकपा

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर : नेकपा

बाँके : नेपाल कम्युनिस्ट पार्टी बाँकेले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनाप्रति खेद व्यक्त गर्दै आक्रमणकारीलाई कारबाही गर्न माग गरेको छ ।

नेकपाका बाँके सेक्रेटरी अनिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दे भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा ०७८ जेठ १३ गते स्वास्थ्यकर्मीहरूको लापरबाहीका कारण आफन्तको मृत्यु भएको भन्ने विषयलाई लिएर केही व्यक्तिहरूबाट स्वास्थ्यकर्मीहरूमाथि गरिएको दुव्र्यवहारप्रति खेद प्रकट गरेका हुन् ।

विज्ञप्तिमा कोभिड महामारीले सिङ्गो देश आक्रान्त भैरहेको बेला महामारीका विरुद्ध अग्रपङ्क्तिमा रहेर सीमित स्रोत–साधनको बलमा ज्यानको बाजी थापेर लडिरहेका स्वास्थ्यकर्मीहरूमाथि भएको त्यसप्रकारको घटनाको तथ्यपरक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ । निकै सङ्कटको समयमा पनि आफ्नो ज्यानको बाजी लगाएर काम गर्ने स्वास्थ्यकर्मीहरूको समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै भेरी अस्पतालमा भएको घटना निन्दनीय भएको पनि विज्ञप्तिमा भनिएको छ ।

‘महामारीको यो सङ्कटपूर्ण घडीमा राज्यको नीतिगत कमजोरीका कारण पहुँच र पैसा हुने कतिपय व्यक्तिहरूले घरबाटै अक्सिजन बोकेर लग्ने तथा अस्पतालमा सम्भव सुविधाको पनि राम्रैसँग उपयोग गर्ने तर पहुँच र पैसा नहुने सर्वसाधारण जनता स्वास्थ्य सुविधाको ‘समान अधिकार’ बाट वञ्चित हुनुपरेका र ज्यान गुमाउनुपरेका कैयौँ घटनाहरू बेलाबखत सार्वजनिक भैरहेका छन् । यसखाले परिघटनाहरूले कहिलेकहीँ जनतामा आक्रोश पैदा गर्ने र त्यसको समेत अपजस स्वास्थ्यकर्मीहरूले बेहोर्नु परिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :