जडौरी मुखुन्डोहरूको लिलामी

कविता

जडौरी मुखुन्डोहरूको लिलामी

विश्व–बजारमा जताततै
बिक्रीमा राखिएका छन्
जडौरी मुखुन्डोहरू
ती लिलामीमा छन्
लाममा छन् लिलामी मुखुन्डोका ग्राहकहरू ।

एकाध मुखुन्डा छन् यताका
अरू सबै आयात गरिएका हुन् मुग्लानबाट
कोही दक्षिणतिरबाट
कोही पश्चिमतिरबाट
कोही अलि उत्तरतिरबाट
सबै जडौरी हुन् र
सबै लिलामी हुन्
बिक्रीमा छन् लिलामी मुखुन्डाहरू
भीड छ बजारमा
जडौरी मुखुन्डो किन्न हानाथाप छ ।

वास्तविक अनुहार छोपिदिन्छ मुखुन्डोले
र पारिदिन्छ नयाँ हुनुको भ्रम
त्यसैले
जसको आफ्नो अनुहार छैन
जसको आफ्नो मौलिक परिचय छैन
जो खस्किएका छन् आदर्शहरूबाट
र च्यूत भएका छन् विचारहरूबाट
ती लालायित छन् जडौरी मुखुन्डोप्रति र
लागिरहेछन् लाम लिलाममा ।

जब आफ्नो अनुहार हेर्न/देखाउन नालायक हुन्छ
त्यसपछि खोजी हुन्छ मुखुन्डोको
थरीथरी बहुराष्ट्रिय कम्पनीका मुखुन्डोहरू छन् बिक्रीमा ।
जो आयातीत नागरिकले देश भर्न
बोलपत्र आह्वान गरिरहेछ अध्यादेशको
र लगाइरहेछ राष्ट्रवादको मुखुन्डो
यो आधा महेन्द्रको र
आधा मोदीको मुहारसँग मिल्ने मुखुन्डो हो ।
डाक बढाबढ गरेर लिलाम गर्दै
लिम्पियाधुरा, कालापनी, लिपुलेक र महाकालीलाई
कलङ्कित मुहार ढाक्न किनिरहेछ ऊ
महेन्द्र र मोदीको अनुहार–मिश्रित जडौरी मुखुन्डो ।
रक्तरञ्जित सपनाहरूले सजिएको
झापा–विद्रोहको ‘कलङ्क’ मेट्नुछ उसलाई
चुच्चे नक्सामाथि प्रतिबन्ध लगाएको अपराध पखाल्नु छ र
हुनु छ अलोकतन्त्रले हराभरा ‘लोकतन्त्र’ को
खाँट्टी हनुमान


त्यसैले
रोगले थलिएका/मारिएका जनताको
कात्रोमा समेत गरेर भ्रष्टाचार
गरिरहेछ भ्रष्टाचार नगर्ने ऐलान
सुतेर भोक र रोगबाट मारिएका मानिसको शवको चाङमाथि
फलाकिरहेछ सुखी र समृद्धिपूर्ण जीवन !
बनाइरहेछ नयाँनयाँ अयोध्या
कौडीको भाउमा
असल सन्तानहरू बिक्री गरेर अरबमा
भित्र्याइरहेछ दक्षिणतिरबाट दिल्लीपुत्रहरू
जन्माइरहेछ राम र हनुमान
निरो हो ऊ, मुलुक जल्दा
बजाइरहेछ बाँसुरी !
जन्माइरहेछ कयौँ कोत र भण्डारखाल
तर जङ्गबहादुरको पनि होइन
लगाइरहेछ भीमसेन थापाको मुखुन्डो ।

अर्को मुखुन्डो छ जडौरी
यो माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र
माओको त हुँदै होइन
मिल्दोजुल्दो छ
ख्रुस्चेब, ब्रेझनेभ, एल्तसिन र
गोर्भाचोभहरूको मुखुन्डोसँग
सेरेर काखका सहयोद्धाहरूलाई
निमोठेर क्रान्तिको भ्रूण
धपाएर वर्गमित्रहरूलाई जङ्गलतिर
चहारिरहेछ चोर बिरालोजस्तो
लाजिम्पाट, बूढानीलकण्ठ र कोटेश्वर दरबार
पोसिरहेछ ‘गाई मारेर गधा’
बिरालोलाई बिरालो नदेखिन
लगाउनुपर्छ बाघको मुखुन्डो
त्यसैले किनिरहेछ ऊ पनि
लिलाममा राखिएको बाघको जडौरी मुखुन्डो ।

थरीथरी छन् मुखुन्डोहरू
कोही छन् राष्ट्रवादका
लेन्डुपलाई पनि भक्ति थापाजस्तो भान पारिदिने
छविलाललाई पनि
जनयुद्धका महानायकजस्तो देखाइदिने
सूर्यबहादुरलाई रामबहादुरजस्तो भ्रम पारिदिने !
थरीथरी छन् लिलामकर्ताहरू
अनेकअनेक छन् जडौरी बिक्रेताहरू
कसैलाई आफ्ना नागरिक
मधेसमा घुसाएर नेपाली नागरिक बनाउनुछ
र नयाँ फिजी निर्माण गर्नुछ
कसैलाई एमसीसी कोच्याएर
इराक, सिरिया र लिबिया बनाउनुछ
कसैलाई होली वाइन ख्वाएर
पास्टरहरूको जमात तयार पार्नुछ ।

हारालुछ गरिहेछन् ‘हाम्रा’ भनिएका क्रेताहरू
लेन्डुप हुँदाहुँदै भक्ति थापा देखिन पाइने !
‘हराम’ हुँदाहुँदै ‘राम’ भनिन पाइने
मातृघाती हुँदाहुँदै राष्ट्रवादीको पगरी भिर्न पाइने
‘पतीता’ हुँदाहुँदै ‘राष्ट्रपिता’ कहलाइन पाइने !

उसै त मुखुन्डो छ
त्यही पनि जडौरी र लिलामी छ
यता लिलाममा छ महेन्द्रको र
उता बिक्रीमा छन् ट्रम्प र मोदीका जडौरी मुखुन्डा ।

यो एकातिर जडौरी मुखुन्डा लिलामको समय हो
अर्कातिर
यो नक्कली मुखुन्डो उतारेर
समाजवाद निर्माण गर्ने समय हो
लगाएर मुखुन्डाहरूका कारखानामा आगो
सक्कली अनुहारहरूले
जनसत्ता सञ्चालन गर्ने समय हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :