स्तब्ध समय !

कविता

स्तब्ध समय !

हेर्दा युद्धको सङ्कटकाल त छैन तर
एउटा बिछट्टैको सन्नाटा छ गाउँ–सहरमा
डर छ, त्रास छ, भय अनि अभाव छ घरघरमा !

सामाजिक सञ्जालका भित्तादेखि
रेडियो, टेलिभिजन, अखबार सबैतिर
एउटा नमीठो समाचार छ मृत्युको
समवेदना अनि हार्दिक श्रद्धाञ्जलीको !

मृत्यु सत्य हो भन्ने जान्दाजान्दै पनि
सँगैका प्यारा साथीभाइ अनि दाइ
बुवा–आमा अनि दिदी–बहिनीको
अकल्पनीय अवसानले स्तब्ध छ मेरो देश !

खाडीमा खुन, पसिना बहाएर
दुई छाक टार्ने मेरा साथीसँगीहरूले पठाइदिएको
नासो अनि पैसाबाट चल्ने अर्थतन्त्रले
शासकहरूकै भकारी भर्नुपर्ने भएपछि
रित्ता–रित्ता छन्
यो महामरीमा रोगीले प्राणवायु भर्ने
अक्सिजनका सिलिन्डरहरू !
खाली–खाली छन्
ओखतीबिना तड्पने ती उजाड बस्तीहरू
बेसहारा छन्
गाँस, बासबिना मजदुर अनि लाखौँ श्रमजीवीहरू !

रोम जलिरहेको बेला
बाँसुरीमा रम्ने असुर ‘निरो’ हरूजस्तै
जनता मरिरहेको बेला !
सत्ताका लागि दाउपेच गर्ने शासकहरू देख्दा
अचाक्ली खुन उम्लेर आउछ
अनि भन्न मन लाग्छ–
इन्क्लाब जिन्दावाद, जनताको विद्रोह जिन्दावाद !!

४ जेठ, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :