अरुण तेस्रोमा कार्यरत मजदुर कृष्ण रानाप्रति ट्रेड युनियन महासङ्घद्वारा श्रद्धाञ्जली

अरुण तेस्रोमा कार्यरत मजदुर कृष्ण रानाप्रति ट्रेड युनियन महासङ्घद्वारा श्रद्धाञ्जली

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत मजदुर कृष्ण रानाको दुर्घटनामा परी भएको असामयिक निधनप्रति दुःख प्रकट गर्दै रानाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महासङ्घले घाइते मजदुर मीठु रानाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि परियोजनासँग माग पनि गरेको छ ।

महासङ्घका संयोजक विनोद थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गतसाता निर्माणकार्य सञ्चालनका क्रममा गम्भीर दुर्घटना हुन गई कार्यरत मजदुर कृष्ण रानाको मृत्यु भएको छ भने अर्का मजदुर मीठु राना यसमा सख्त घाइते भएका छन् । सारा विश्व समुदाय कोभिड १९ सँग लडिरहेको र यसमा पनि विशेषगरी श्रमिक वर्ग निकै सङ्कटपूर्ण परिस्थितिमा जीवनयापन गर्न बाध्य भएको विषय सम्बन्धित सबैमा विदितै छ । सङ्कटग्रस्त अवस्थामा सङ्गठित–असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकहरूका निमित्त उचित राहत, स्वास्थ्योपचार र आवश्यक अन्य कुराहरूको विशेष व्यवस्था गर्न राज्य, रोजगारदाता र सम्बन्धित अन्य सबै तहसँग हाम्रो अनुरोध छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘मृतक श्रमिकप्रति हार्दिक श्रद्धासुमनका साथ श्रमिकको परिवारमा गहिरो समवेदना र घाइते श्रमिकसँग अभिभावकीय सहानुभूति पेस गर्न चाहन्छौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल संसदीय व्यवस्थाको खेलबाडपूर्ण र लज्जास्पद राजनीतिक गतिविधिमार्फत सिङ्गो मुलुक नै अकर्मण्यता र सङ्कटको भुमरीमा धकेलिन पुगी श्रमिकहरूको हक, अधिकार र सामाजिक न्यायका विभिन्न पक्षहरू अत्यन्तै चिन्ताजनक बिन्दुमा पुगिरहेको अप्रिय यथार्थ र सङ्गठनप्रति संकेन्द्रित बन्दै नजिकिएको न्यायप्रेमी श्रमिकहरूको आशामिश्रित एजेन्डामार्फत नेतृत्वदायी बन्दै गइरहेको हाम्रो सङ्गठन श्रमिकको उपरोक्त अवस्था र उत्पन्न परिस्थितिप्रति अविलम्ब गम्भीर बन्न अरुण तेस्रोका सञ्चालक एवम् व्यवस्थापकसँग हार्दिक आग्रह गर्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :