सुदूरपश्चिमको एक मात्र अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रियो

सुदूरपश्चिमको एक मात्र अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रियो

धनगढी : सुदूरपश्चिम प्रदेशमा रहेको मालिका अक्सिजन ग्याँस उद्योगको प्लान्ट बिग्रिएको छ । प्रदेशमा कोरोनाका बिरामीहरूले अक्सिजन नपाएर अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ ।

सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ । उक्त ग्याँस उद्योगले दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको थियो ।

उद्योगको अक्सिजन प्लान्ट बिग्रिँदा अक्सिजन आपूर्तिमा समस्या परेको छ । सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा अक्सिजन अभाव भइरहेका बेला मालिका ग्याँस उद्योगले उत्पादन गरेको अक्सिजनले केही मात्रामा भए पनि माग धानेको थियो तर सोमबार राति मेसिन बिग्रिएपछि उत्पादन रोकिएको जानकारी उद्योगका सञ्चालक विक्रम शाहीले दिएका छन् ।

‘अब थप समस्या उत्पन्न भयो । प्लान्ट मर्मतका लागि भारतको दिल्लीबाट जनशक्ति र सामान ल्याउनुपर्ने भएकाले केही दिन लाग्छ’, उनले भने ।

मालिका ग्याँस उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो । मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर र सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै गरिरहको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयले बताए । उनले भने, ‘हामीलाई कोरोना सङ्क्रमितका लागि अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । मालिकाबाट ४० र हाम्रो ६० गरेर सय सिलिन्डरसम्म व्यवस्थापन भइरहेको थियो । बाँकी नेपालगन्जबाट ल्याएर जसोतसो काम चलाइरहेका थियौँ । यहाँका निजी अस्पतालले कोरोनाका बिरामीको उपचारमा अक्सिजन नपाउँदा समस्या परिरहेको बताएका छन् ।’

बिरामीलाई अस्पताल पुर्याएपछि अक्सिजनको सहारामा उपचार गर्नुपर्ने हुन्छ । अक्सिजनको अभावले ठूलो समस्या भइरहेको चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :