आमा

आमा

ममताकी खानी आमा
आफूले आँसु पिउँदै
मेरो ओठमा हाँसो दिने आमा
तिमी मदर टेरेसा हौ ।

बनपाखाबाट भिज्दै आउँदा
झिमझिम पानीमा
घाँस ल्याउँदै गर्दा
पल्ला घरबाट आगो ल्याएर
मलाई न्यानो दिने आमा !
रोपाइँ गर्दा, पर्म तिर्दा होस्
व गोडमेल गर्दा होस् खेत
मलाई आलीको डिलमा राखे
लड्यो कि भनेर हेर्यौ ।
हुरी लाग्दा धोतीमा लपेटेर
बचायौ आमा
मलाई संसार सोच्यौ
तर तिमीले संसार छोड्याै आमा
हिजोआज तिमीलाई खोजिरहन्छु आमा
घाँस ल्याउँदैछ्यौ कि आमा भन्छु ।
आमा तिमी श्रम गर्दागर्दै
पञ्चायती तानाशाहको विरोध गर्यौ
रात–साँझ नभनेर मसालका पाहुनाहरू खुवायौ ।
आमा, तिमी गोर्कीको मुख्य पात्र
पेलागेया निलोभ्ना बन्यौ
छोरा पाभेल भ्लासोभजस्तै
मलाई क्रान्तिकारी बनाउन
एक सङ्घर्षशील महिला बन्यौ ।
म सल्यान जेलमा जाँदा
हाँसीहाँसी बिदा दियौ आमा
क्रान्तिकी वास्तविक नायिका बन्यौ ।
शोषण–दमनको विरोध गरेर
मलाई माया दियौ आमा ।
सात सालको जुलुस हेर्न मलाई
पटुकाले बोकेर लग्यौ
अड्डा, अदालत गरायौ आमा
आफू भोकै बसेर मलाई रोटी दियौ ।
घाँस काटेर दूध खुवायौ आमा ।
खेत खनेर भात खुवायौ
आफू मेला गएर स्कुल पठायौ आमा
आमा एउटा अन्याय गर्यौ
छोरीलाई बनमा पठाएर
मलाई स्कुल पठायौ ।
मेरा आधा दर्जन कृतिमा
तिम्रो दर्शन छ आमा
मेरो जीवनयात्रामा विभीषिका छ आमा
तिमी उदात्त नारी आमा
तिम्रो आत्मा पुनर्जीवित छ मनमनमा ।
आकाशभन्दा विशाल आमा
धरतीको क्षितिजमा लाली चढेसँगै
चिबे चरासँगै उठेर
हुरी चराको गीतमा रमाउँथ्यौ ।
अहिले सुनिँदैन हुरी चराका गीतहरू ।
अहिले क्रन्दन छ आमा
कोलाहल छ आमा
भ्रष्टाचार छ, कमिसन छ ।
दलाल पुँजीवादको कब्जामा छ देश ।
देशले क्रान्ति मागेको छ
राष्ट्रिय मुक्ति मागेको छ
यसैले एकीकृत जनक्रान्तिको खाँचो छ
वैज्ञानिक समाजवादका लागि ।
संशोधनवाद, नवसंशोधनवाद
र सङ्कीर्णवादलाई बम प्रहार गर ।
संसदीय प्रणली असफल भैसकेको छ
नयाँ आधारमा नयाँ एकता गर
यो आमाको सन्देश हो ।
आमा तिम्रो सपना पूरा हुन्छ–हुन्छ ।
एकीकृत जनक्रान्ति निरन्तर छ
गल्दै छ समाजिक फासिवाद
ढल्दैछ दलाल सत्ता तासको महल
यसमा छ जनताको पहल
गरे के हँुदैन ? नगरे केही हुँदैन ।
जनता बढे केही रहँदैन ।
परिवर्तन त हुन्छ–हुन्छ ।
विकासको गति अगाडि बढ्छ–बढ्छ
यो त विज्ञान हो ।
आजको सन्दर्भ
वैज्ञानिजक समाजवाद हो ।

२०७८।०१। २८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :