नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा रुकुम पश्चिममा ६ राजनीतिक दलले संंयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला सदरमुकाममा ६ राजनीतिक दलको २६ गते बसेको बैठकको निर्णयअनुसार विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको रोकथाम नियन्त्रण र सहज जनजीवन निर्वाहका निम्ति पहल र संयुक्त रूपमा खट्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको नेकपा रुकुम पश्चिमले जनाएको छ ।

२८ गते संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘जिल्ला अस्पताल सल्ले रुकुममा एक वर्षअगाडि नै खरिद गरिएको भेन्टिलेटर सञ्न्चालन गर्न आवश्यक प्रबन्ध तुरुन्त मिलाउनुपर्ने, अक्सिजन आपूर्तिलाई सहज र नियमित बनाई नागरिकको जीवनरक्षा गर्नुपर्ने, जिल्ला अस्पतालमा राखिएको अक्सिजन प्लान्टलाई सुचारु गर्न आवश्यक प्रबन्ध गर्नुपर्ने, त्यसका लागि विशेष टिम बनाई खटाउनुपर्ने, सम्पूर्ण पालिकामा निःशुल्क कोरोना परीक्षण तथा उपचारको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति व्यवस्थापन हुनुपर्ने, जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पताललाई सेवा–सुविधासहितको कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गरी जिल्लाका अन्य निजी तथा सामुदायिक अस्पताल तथा क्लिनिकहरूमा कोरोनाबाहेक अन्य उपचार सेवा सञ्न्चालन गरिनुपर्ने, प्रत्येक पालिकामा अक्सिजन र आवश्यक दक्ष जनशक्तिसहितको एम्बुलेन्स सञ्न्चालन गर्नुपर्ने र एम्बुलेन्सको अभाव हुन नदिन जनप्रतिनिधि र सरकारी कार्यालयका गाडीहरू तयारी अवस्थामा राख्नुपर्ने ।’

त्यसैगरी ज्ञापनपत्रमा लेखिएको छ, ‘गरिब, विपन्न, श्रमजीवी तथा दैनिक जीवनयापन गर्न समस्यामा रहेकाहरूका लागि विशेष राहत दिनुपर्ने, रुकुमको महत्वपुर्ण बाली लगाउने वर्तमान समयमा कृषकहरूमा मल, बिउ र अन्य सामग्री सहज र सुलभ रूपमा उपलब्ध गराउनुपर्ने, कोरोना महामारीका कारण समस्यामा परेका उद्योग, व्यवसाय, होटेल, कारखाना, यातायातलगायत क्षेत्रहरूका लागि वित्तीय सङ्घसंस्थाहरूले ब्याज मिनाहा वा सहुलियतका लागि आवश्यक प्रबन्ध गर्नुपर्ने, दैनिक उपभोग्य सामग्रीको सर्वसुलभ र न्यायोचित वितरणको प्रबन्ध गरिनुपर्ने, विभिन्न बहानामा हुने महँगी, कृत्रिम अभाव, कालोबजारी रोक्न कडाभन्दा कदम चाल्नुपर्ने ।’

ज्ञापनपत्र बुझाउने पार्टी र त्यसका नेतृत्वहरुमा नेपाल कम्युनिस्ट पार्टीका नरेन्द्र विक, नेकपा एमालेका टङ्कप्रसाद वली, जनता समाजवादी पार्टीका प्रशाराम खत्री, नेपाली काङ्ग्रेसका कृष्णबहादुर रोकाय, राष्ट्रिय जनमोर्चामा गिरीप्रसाद बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुधरविक्रम शाह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :