आमाको सपना !

कविता

तिमीले धर्तीमा टेकेको दिन
हर्षका साथ तिम्री आमाले
देखेकी थिइन् सुन्दर सपना
लिएकी थिइन् मनमा अठोट
प्राणतुल्य आफ्नो सन्तानलाई
संसारकै असल मान्छे बनाउने ।
एउटै प्रण लिएर निरन्तर
अनेकौँ कष्टहरू सहेर
बर्सौं–वर्ष गुजारिन्
तिम्रो लालनपालनमा
तिम्रो शिक्षादीक्षामा ।
सहज बनाएर
हजारौँ अभावहरूलाई
आँसु पिइन् तिम्रा लागि
कहिल्यै खाइनन् हरेस
जीवित बनाइरहिन्
आमाले ती सपनाहरूलाई ।
आमाका ती सपनासँगै
तिम्रो अस्तित्व
अनि स्वर्णिम भविष्य
नङ र मासुजस्तै जोडिएको छ
सँगै गाँसिएका छन्
समाज परिवर्तनका सवालहरू ।
आमाका ती सपनाहरूमाथि
मडारिन थालेका छन्
अड्चनरूपी कालो बादल
रचिँदैछन् यावत् षड्यन्त्रहरू
असम्भव र असफल बनाउन
खेलिँदैछ अनेकन खेल
तिमी निकै सचेत हुनुपर्नेछ
सफल बनाउनका लागि
आमाका ती सपनाहरू
खट्नुपर्नेछ अहोरात्र
हटाउनै पर्नेछ
यात्राका सम्पूर्ण अवरोधहरू ।
हिम्मत हार्न पाइनेछैन
आशा मार्न पाइनेछैन
गर्नै पर्नेछ सङ्कल्प
साकार पार्न आमाको सपना
प्राप्तिका लागि
त्यो उज्यालो गन्तव्य ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :