कोरोना विपद, मौलिक हक र हाम्रो भविष्य

कोरोना विपद, मौलिक हक र हाम्रो भविष्य

दिनदिनैजसो प्रकाशित अखबारका पाना र सामाजिक सञ्जालका भित्ताहरू कोरोनापीडित नागरिकहरूका याचनामयी र कारुणिक संवेदनाहरूले भरिएका छन् । कतै बेड नपाएको, कतै अक्सिजन सिलिन्डर नपाएको, कतै एम्बुलेन्स नपाएको त कतै न अस्पताल, न डाक्टर, केही नपाएका खबरहरूले ‘प्रत्येक नागरिकलाई राज्यवाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ’ भन्ने संविधानको व्यवस्थालाई हाँसीमजाक गरिरहेका छन् । त्यति मात्रैले नपुगेर अक्सिजनको कृत्रिम अभाव उत्पन्न गराइएको, औषधी र स्वास्थ्य सामग्रीहरूको कैयौँ गुणा मूल्यवृद्धि गरिएको, पहँुचवालाहरूले उपचार पाइरहेको र सर्वसाधारण जनताले अस्पतालको आँगनमा छट्पटाउदै प्राण त्याग्नुपरेका दर्दनाक खबरहरूले ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भन्ने व्यवस्थालाई खिल्ली उडाइरहेको छ ।

मानव जाति यतिबेला कोरोना भाइरससँग दोस्रो चरणको महायुद्धमा भीषण लडाइँ लडिरहेको छ । प्रथम चरणको लडाइँद्वारा अस्तव्यस्त भएको मानव जाति राम्ररी तङ्ग्रिन नपाउँदै सुरु भएको दोस्रो चरणमा पनि दिनदिनैजसो कठोरता र निर्ममताका ‘कीर्तिमानहरू’ बेहोरिरहेको छ । हालसम्मका समस्त आँकडाका आधारमा अमेरिका पहिलो स्थानमा रहे पनि भारत दोस्रो चरणको कहरमा पहिलो नम्बरमा उक्लिएको छ । ब्राजिल, टर्की, रसिया, यूके, इटाली, स्पेन र जर्मनी अति प्रभावित देशहरूको दस प्रमुख स्थानमा रहेका छन् । विशेषतः भारतसँग खुला सीमा–नाका हुनुको प्रतिफलस्वरूप नेपाल दोस्रो चरणको यो विनाशकारी लप्कोमा खोटे सल्लोको आगोझैँ उन्मादी जलन जल्न सुरु गरेको छ । सुरुआती चरणकै यो लप्कोले ‘जनउत्तरदायी राज्य’ को बर्को जलेर खाग बनिसकेको छ । यही बेला राज्यको छहारीमुनि बसेर हुर्किरहेको मुनाफाखोरी अमानवीयताले मानवीय संवेदनामाथि बारुद झोसिरहेको छ ।

सहर होओस् वा गाउँ तल्लो फ्ल्याट–माथिल्लो फ्ल्याट, वल्लो घर–पल्लो घर, आफन्त, छिमेकी जीवनको भिख माग्दै धर्तीमा लडिबुडी गरिरहेको छ, केही छिनपछि ऊ निष्प्राण हुन्छ । म उसको आफन्त, भरोसिलो छिमेकी न केही बोल्न सक्छु, न केही गर्न सक्छु ! अलि परको कर्नरबाट (भौतिक दूरी कायम राख्दै) उसका निष्प्राण आँखाहरूमा आँखा जोड्ने हिम्मत गर्छु, आँत गलेर आउँछ, आफ्नै जमिन कोट्ट्याउदै उँधो मुन्टो लाउँछु । आफन्त भएर पनि आफन्त हुन नसक्नु, छिमेकी भएर पनि छिमेकी हुन नपाउनुको यो पीडा, हाय ! हुँदाहुँदै जब त्यो बज्र आफ्नै टाउकोमाथि चट्याङझैँ ठोक्किन आइपुग्छ त्यो बेला सिङ्गो दुनियाँबाट अलग्गिनुको पीडा अत्यन्त मर्मान्तक, पीडादायी, असहनीय, कठोर र निर्मम बनेर विश्वभर मानव जातिलाई विक्षिप्त बनाइरहेको छ ।

हो, विपत्ति मानिसले रोक्न सक्दैन तर विपत्तिबाट हुने क्षति कम गर्न अवश्य सक्छ । हामी आफन्त, छिमेकी र जनताको स्तरबाट भएका गल्ती, कमजोरीहरूले पनि स्थितिलाई थप जटिलतातिर धकेलिरहेको छ । त्यसको मूल्य हामी चुकाई नै रहेका छौँ । यसबाट हामीले सिक्नै पर्छ । सिकिरहेकै छौँ किनकि संस्कृति भनेको हरेक समाजले आफ्नो समयसँग भुक्तानी गर्ने मूल्यको प्रतिफल हो । हामी हाम्रा मृतक आफन्त र साथीहरूको जीवन चुकाएर अनुशासनको यो पाठ सिकिरहेका छौँ तर सम्पूर्ण जनताको अभिभावकीय स्थानमा रहेको राज्यले यो कुराको मनन कहिले गर्ने ? के राज्य अनुशासित हुनु पर्दैन ? राज्य सञ्चालकहरू (शासकहरू) कहिल्यै अनुशासित हुनु नपर्ने हो ? हामी कस्तो लोकतन्त्र भोगिरहेका छौँ हँ ?

राज्यले जनउत्तरदायित्व पूरा गर्न सकेन भने दुईटा प्रश्न प्रमुख भएर उभिन्छन् : पहिलो– नेतृत्वको अक्षमता र दोस्रो– प्रणालीको असफलता । हामीकहाँ एउटा ठूलो ‘बौद्धिक कसरत’ हुँदै आइरहेको तितो सत्य के हो भने जहिले पनि सत्ताको वरिपरि रहेर, सत्ताको जुठोपुरो चाटेर हामी सके सत्ताधिकारी व्यक्तिको अक्षमताका बारेमा बोल्नु अपराध घोषित गर्छौं । नियमकानुनका ठेली तयार गर्छौ । कोही कसैले हिम्मत गरिहालेछ भने ‘राज्यविरुद्धको अपराध’ करार गरेर उसलाई मात्र होइन, उसको जस्तै विचार राख्नेहरू सबैलाई ठिङ्गुरा लगाइदिइहाल्छौँ ।

प्रणाली असफलताको कुरा गर्नु त घोर अपराध, महापाप भैगयो ! आजसम्मको हाम्रो महान् बौद्धिक परम्परा यही हो । यही परम्परा अर्थात् दृष्टिकोण र संस्कार हो आजको महामारीको प्रमुख चिन्तनगत कारक । हो, नेतृत्व असफलताका घटना शृङ्खलाहरू पनि हाम्रासामु चानचुने छैनन् । तर ती प्रणालीको जनविरोधी चरित्रसँग अभिन्न जोडिएका छन् । यो यथार्थलाई स्ीवाकार गर्न हाम्रो ‘बौद्धिक स्वार्थ’ ले दिए पो ? हामी हेरौँ, पढौँ शिक्षा र स्वास्थ्यलाई आधारभूत मौलिक हकमा स्थापित गरेको आज मात्रै हो र ? नेपाली जनताले समान उपचारको व्यवस्था नपाएको, आधारभूत उपचारको व्यवस्था नपाएको आज महामारीको बेला मात्रै हो र ? यो त हुँदै आइरहेको खेला मात्र न हो । त्यो आजको अवसरमा बढ्यो मात्रै किनकि महामारीको बेला सबभन्दा ज्यादा व्यापार हुन्छ । सबभन्दा बढी पुँजी आर्जन हुन्छ । सपाट कुरा यही त हो । अन्यथा एउटा मामुली व्यक्तिले राज्यलाई गुमराहमा पारेर खोप ल्याउन किन अल्झो गर्छ ? एउटा मामुली व्यक्तिले अक्सिजनको चोरी निकासी किन गर्छ ? कृत्रिम अभाव उत्पन्न गर्न किन तयार हुन्छ ? मास्क, सेनिटाइजर, औषधी र उपकरणहरूको मूल्य स्वाभाविकभन्दा सय दोब्बर किन बनाउँछ ? किनकि उसलाई पैसा कमाउनु छ । महामारी उसका लागि सबभन्दा उपयुक्त अवसर हो । अझ त सत्तासँग मिलेरै त्यो सबथोक उसले गरिरहेको छ । तब त उसले सत्तालाई जेजे धूपबत्ती बाल्नुपर्ने हो, गर्ने नै भयो । सत्ताको फोटो छातीमा टाँसेर उसले भजनकीर्तन गर्छ । ठाउँठाउँमा भजनमण्डलीहरू तयार गर्छ । कसैले त्यसको बिरोध गरे छँदैछ ‘राज्यविरुद्धको कसुर !’

यसर्थ महामारीको समस्या केवल भाइरसको समस्या होइन । यो मानवीय चिन्तनको समस्या हो । यो संस्कृतिको समस्या हो । यो प्रणालीको समस्या हो । कोरोना भाइरस अत्यन्त उत्परिवर्तनीय क्षमताको विषाणु भएको विज्ञहरूले बताइरहँदा मानव जातिले अरू थप केही चरणको युद्धका लागि अझै तयारी गर्नुपर्ने देखिन्छ । त्यसका लागि नेपालमा हामीले गर्नैपर्ने केही दीर्घकालिक र केही तत्कालिक कुराहरू यसप्रकार छन् :

पहिलो, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पूर्ण रूपले राज्यको अधीनस्थ लिई शिक्षा र स्वास्थ्यमा निजीकरणको पूर्ण उन्मूलन गरौँ । यो दीर्घकालिक विषय भए पनि आज, भोलि वा पर्सि गर्नैपर्ने कार्य हो ।

दोस्रो, स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गरेर शिक्षालाई योजनाबद्ध विकास गर्नुका साथै पर्याप्त स्वास्थ्य–जनशक्तिको उत्पादन गरौँ ।

तेस्रो, महामारीको बेला खटिने स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूलाई प्रोत्साहन भत्ता मात्र होइन, उनका परिवारको समेत उचित संरक्षण गर्ने नीति घोषणा गरौँ ।

चौथो, मेडिकल माफिया, कालोबजारियाहरूको सर्वस्वहरण गरिने नीति पारित गरौँ ।

पाँचौँ, एम्बुलेन्स (हवाईसमेत), अक्सिजन, औषधी र स्वास्थ्य उपकरणहरूको आपूर्ति व्यवस्थालाई अविलम्ब चुस्त र बलियो पारौँ ।

छैटौँ, स्वास्थ्य क्षेत्रको सम्पूर्ण जनशक्तिलाई परिचालन गर्ने नीति तथा कार्यक्रमको विकास गरौँ ।

सातौँ, यो कार्यमा राज्य र राज्यसञ्चालकहरू तयार नभए जनताको स्तरबाट नयाँ राज्य र राज्यप्रणालीको पहल गरौँ । यो कार्यमा जति ढिला गर्यो त्यति नै क्षति अनिवार्य छ । ढिला नगरौँ । जनता रहे मात्र राज्य रहन्छ । तितो सत्य !

२६ वैशाख, २०७८

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!