कोरोना सङ्क्रमितको प्रभावकारी उपचार–व्यवस्था मिलाउन नेकपाका नेता मोहलाल चन्द र बन्धु चन्दको माग

कोरोना सङ्क्रमितको प्रभावकारी उपचार–व्यवस्था मिलाउन नेकपाका नेता मोहलाल चन्द र बन्धु चन्दको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यद्वय मोहलाल चन्द ‘आधार’ र बन्धु चन्दले चितवनको सीएमसी कलेजको कोभिड वार्डबाट कोरोनाका बिरामीहरूको उपचार प्रभावकारी बनाउन माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवन र सीएमसी कार्यालयलाई आइतबार पत्र लेख्दै चन्ददम्पतीले उक्त अस्पतालमा दिन–प्रतिदिन बिरामीको चाप बढिरहेकाले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्यकर्मीको सङ्ख्या पनि बनाउनुपर्ने माग गरेका हुन् ।

उनीहरूले लेखेको पत्रमा दीर्घरोगी, गम्भीरखालका बिरामी र कोरोनाका बिरामीलाई फरक–फरक ठाउँमा राख्ने व्यवस्था मिलाउन माग गरिएको छ । पत्रमा अस्पतालको फोहोरमैलाको व्यवस्थापन, कोरोनाका बिरामीका साथै कुरुवाको बस्ने व्यवस्था गर्नुपर्ने र कोभिड व्यवस्थापन समितिले बिरामी कुरुवाको सुझाव लिई काम गर्नुपर्ने उल्लेख छ ।

पत्रमा स्वास्थ्य मन्त्रालय नेपाल सरकार, सीएमसी, केन्द्रीय कार्यालय, चितवनस्थित सम्पूर्ण राजनीतिक दलहरूको कार्यालय, भरतपुर महानगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय र चितवनस्थित नागरिक समाजलाई बोधार्थ दिइएको छ ।

नेकपाकी नेत्री बन्धु कोरोना सङ्क्रमित भएर चितवनको मेडिकल कजेलको कोभिड वार्डमा उपचार गराइरहेकी छिन् । अस्पतालले गम्भीर अवस्थामा उपचार गराइरहेका बिरामीको उचित व्यवस्थान नगरेको बिरामी कुरुवा बसेका नेकपाका नेता आधारले बताएका छन् ।

मोहलाल चन्दले लेखेको पत्रको विवरण यसप्रकार रहेको छ :

श्री कोभिड व्यवस्थापन समिति प्रमुख
सीएमसी कार्यालय, जिल्ला प्रशासन कार्यालय, चितवन

विषय : कोभिड उपचार व्यवस्थापन सुधार सम्बन्धमा ।

महोदय,
भरतपुर अस्पताल, नर्सिङ कलेजको कोभिड वार्डमा कोभिड बिरामीको चाप दिनानुदिन बढिरहेकै छ । यस अस्पतालमा अक्सिजनको पर्याप्ततालाई सकारात्मक मान्न सकिन्छ परन्तु कोभिड बिरामीको सङ्ख्याअनुसार स्वास्थ्यकर्मीको सङ्ख्यामा कमी देखिएकाले उक्त सङ्ख्या बढाइएन र कोभिड उपचार र व्यवस्थापनमा यस्तै औपचारिकता मात्र पूरा गरियो भने परिणाम भयावह हुनसक्ने देखिएकाले सम्बन्धित सरोकारवाला सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

मानिसको उपचार गर्न र बाँच्न पाउने अधिकार सुरक्षित गर्नका लागि सीमित भए पनि अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिँदै तपसिलमा लेखिएका बुँदागत सुझावहरू बिरामी र बिरामी कुरुवाका तर्फबाट पेस गरेकाछौँ । श्रीमान् जो आदेश !
सुझावहरू :

१) बिरामीको रातदिन चापअनुसार दक्ष स्वास्थ्यकर्मीको सङ्ख्या शीघ्रातिशीघ्र थप गरी उपचारलाई प्रभावकारी तुल्याउनुपर्ने ।
२) बिरामीहरूको प्रकृतिअनुसारको वार्ड अलग गरी प्रभावकारी उपचार गर्नुपर्ने, जस्तो ः दीर्घरोगी, निमोनियाग्रस्त र सामान्यको फरक वार्डमा व्यवस्थापन गरी गम्भीर प्रकृतिका बिरामीको निगरानी बढाउनुपर्ने ।
३) फोहोरमैला व्यवस्थापनका लागि छरितो नीतिलाई नियमित गर्नुपर्ने ।
४) कोभिड बिरामी र स्वस्थ कुरुवालाई एउटै डालोमा कोचिदिँदा कुरुवाहरूको स्वास्थ्य जोखिममा पर्न गएकाले कुरुवाहरूको स्वास्थ्यसुरक्षाबारे विशेष व्यवस्था वा फरक व्यवस्था गर्नुपर्ने ।
५) कोभिड व्यवस्थापन समितिले बिरामी कुरुवाको सुझाव लिई उपचारलाई जीजिविषाअनुकूल तुल्याउन इच्छाशक्ति देखाउनुपर्ने ।

बोधार्थ :

१) स्वास्थ्य मन्त्रालय, नेपाल सरकार
२) सीएमसी, केन्द्रीय कार्यालय
३) चितवनस्थित सम्पूर्ण दलहरूको कार्यालय
४) भरतपुर महानगरपालिकाको कार्यालय, चितवन
५) जिल्ला प्रहरी कार्यालय, चितवन
६) चितवनस्थित नागरिक समाज

निवेदक :
१) मोहलाल चन्द
केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी
हाल– बिरामी कुरुवा बेड नं. ७१
२) बन्धु चन्द
अध्यक्ष, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समिति
हाल– बिरामी, कोभिड बेड नं. ७१, भरतपुर, चितवन

मिति : २५ वैशाख, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :