कोरोना कहर र हाम्रो दायित्व

कोरोना कहर र हाम्रो दायित्व

प्राणघातक कोरोना भाइरस (कोभिड १९) का कारण विश्व–जनसमुदाय नराम्ररी मर्माहत छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या वृद्धि भैरहनु, मृतकको सङ्ख्या थप हुँदै जानु र जनस्वास्थ्यको पक्ष निकै संवेदनशील बन्दै जानु चिन्ताजनक देखिन्छ । नेपालमा पनि कोभिड १९ को प्रभाव र उत्पन्न परिस्थितिका कारण जनजीवन झन् कष्टकर बन्दै गएको छ । लकडाउन सोचिएअनुरूप समस्या समाधानमा वैकल्पिक उपाय बन्न सकेको पाइन्न । श्रमिक वर्ग दैनिक समस्याग्रस्त परिस्थितिमा मर्नु र बाँच्नुको दोसाँधमा छ ।

पछिल्लो तथ्याङ्कले झन्डै पौने चार लाख सक्रिय सङ्क्रमित रहेको देखाएको छ भने उपचारपछि निको भै फर्कनेको सङ्ख्या न्यून नै देखिन्छ । उता उपचारको पक्ष आशा गरेअनुरूप बन्न सकेको देखिन्न । स्रोत र साधनहरूको अपर्याप्तता, राज्यको स्वेच्छाचारिता र गैरजिम्मेवारीपना समस्याग्रस्त अवस्थाको मुख्य कारक बनेको देखिन्छ । लोकतान्त्रिक गणतन्त्र मुलुकमा शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, बास, कपासजस्ता कुराहरू अनिवार्य र न्यूनतम् सर्त मानिन्छन् । स्वाभाविक हो, नेपालको संविधान २०७२ ले जनताका निम्ति गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनौलो प्रस्तावना पेस गरेको छ । सोहीअनुरूप वर्तमान कम्युनिस्ट नाउँको सरकार जनताको झन्डै दुई तिहाइ बहुमत लिएर समृद्ध नेपाल सुखी नेपाली भन्ने लोकोपकारी नारा लिएर समाजवाद स्थापनामा अग्रसर बन्ने नारा लगाइरहेको छ । जनता भने रोग, भोक र शोकको भुमरीमा न बाँच्न सकिरहेका छन्, न त मर्न नै । श्रमिकहरू रोजगारीकै सवालमा निरपेक्ष बेरोजगारी समस्याको अर्को मारमा परेका छन् ।

स्वास्थ्योपचार र जनस्वास्थ्यको पक्ष राज्यको खेलबाडमै सीमित छ भन्दा अन्यथा मान सकिन्न । अस्पताल छ । प्रविधि र उपचारको अभाव छ । प्रविधिमा पहुँच छैन । सहज स्वास्थ्य सेवाको पक्ष झनै विवादास्पद बनिसकेको देखिन्छ । सत्ता र शक्तिको पहुँचमा सहज र आमजनताका निम्ति सदैव असहज स्वास्थ्य क्षेत्र नाम मात्रको सेवा क्षेत्र बनेको त्यसै स्पष्ट छ ।

यसका साथै देशमा सबै पूर्वाधारहरू छ्न् । संयन्त्र छन् र सुविधा पनि छन् जुन नियोजित स्थापित पनि छन् तर विडम्बना ! भ्रष्टाचार, कुशासन, बेथिति तथा विसङ्गति र माफियाकरणको बिगबिगी उपरोक्त सबैमा हाबी देखिन्छ । यसका साथै निजीकरण र व्यापारीकरणले समाज आक्रान्त बनिसकेको छ । जनता निरीह र मर्माहत छन् । जनताको जीवन र मानवअधिकारको प्रश्न परिस्थितिसँगै प्रधान बन्ने गरेको छ जुन यतिबेला पनि यथावत् रूपमा देखिन्छ ।

स्वास्थ्य तथा सरसफाइ श्रमिकहरूका क्षेत्रमा क्रियाशील लोकप्रिय ट्रेड युनियन सङ्गठन अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ श्रमिक सङ्घ स्वास्थ्य तथा सरसफाइ क्षेत्र श्रमिकहरूमाथि भैरहेका सबैखाले शोषण–उत्पीडनका बिरुद्ध सशक्त रहेको छ ।

गैरन्यायिक हायर एन्ड फायर, करार–ज्यालादारी रोजगारी र श्रमशोषणविरुद्ध सम्झौताहीन रूपमा सङ्घर्षरत हाम्रो सङ्गठन वैज्ञानिक समाजवाद स्थापनाको कार्यदिशामा अविरल अघि बढिरहेको छ । सङ्गठन यतिबेला स्वास्थ्य र सरसफाइ क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिक मित्रहरूसँग आफ्नो हकअधिकार, न्यायपूर्ण सङ्घर्ष र समानताको युगीन एजेन्डामा ध्यान दिन र श्रमिक हितविरोधी दलाल संसदीय व्यवस्थाको अन्त्यसहित श्रमिकमैत्री व्यवस्था वैज्ञानिक समाजवाद स्थापनामा जोड दिई अघि बढ्न हार्दिक अपिल गर्दछ ।

हामीले यसबीचमा ऐतिहासिक १३२ औँ मे दिवस मनायौँ । प्राणघातक कोरोना महामारीका बिचमा श्रमिकहरूका बीचमा हाम्रा आवाज बुलन्द गर्यौँ र विश्वमा झन्डै २५ करोडको सङ्ख्यामा भएको अकल्पनीय रोजगार कटौती र त्यसपछि उत्पन्न परिस्थितिलाई नियाल्यौँ । स्वास्थ्य सतर्कता र सावधानीका साथ मात्र हामी अघि बढ्नसक्ने र व्यक्त प्रतिबद्धताबमोजिम ठोस केही गर्न सक्ने परिस्थिति हाम्रोबीचमा विद्यमान रहेको छ जुन सोचनीय देखिन्छ ।

कोरोनाको प्रत्यक्ष मारमा जनताको सेवामा खटिएका स्वास्थ्य श्रमिकहरू, विशेषज्ञ र डाक्टर तथा नर्सहरू, सरसफाइ श्रमिकहरू आफ्नो पेसागत दायित्व र निःसर्त मानवसेवामा सेवारत पायौँ जुन सामान्य चुनौतीको तहमा देखिन्न । सामान्य पारिश्रमिक, जोखिमी कार्यक्षेत्र र चुनौतीमूलक जिम्मेवारीलाई सामान्य रूपमा सोच्ने सरकारी गैरजिम्मेवारीको सीमा नाघेको अर्को तथ्य हामीले सङ्कलन ग¥यौँ जुन निकै संवेदनशील र चिन्ताजनक छ ।

(लेखक  : अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :