राजनीतिक विज्ञानका केही आधारभूत नियम

सामान्यतः राष्ट्र र जनताको युगानुकूल अग्रगामी रूपान्तरणको लागि नीतिहरूको निर्माण तथा त्यसको कार्यान्वयनको नेतृत्व गर्ने प्रक्रियालाई राजनीतिक विज्ञान भनिन्छ । यसका दुईवटा पक्ष रहेका छन्, पहिलो– राजनीतिक प्रणाली र दोश्रो– त्यसको प्रयोग । पहिलोले राष्ट्र र जनताको युगानुकूल कस्तो प्रकारको राजनीतिक प्रणाली अवलम्बन गर्ने भन्ने कुराले त्यो देशको शान्ति, विकास र स्थिरताको क्षेत्रमा निर्णायक भूमिका निर्वाह गर्दछ भने दोश्रो विषय त्यसको प्रयोग सही या गलत हुनुले पनि सापेक्षित रूपले देशको शान्ति, विकास र स्थिरताको निर्धारण गर्दछ । आज विश्वव्यापी रूपमा पुँजीवादी शासन सत्ताको बोलवाला रहेको छ, जुन राजनीतिक प्रणालीले विश्वमा अशान्ति र अस्थिरता मात्र बढाइरहेको छ । यसले यो कुरा स्पष्ट हुन्छ कि यो राजनीतिक प्रणालीले जनताको अग्रगामी चेतना र आवश्यकतालाई सम्बोधन गर्न सकिरहेको छैन । यसले मानव जातिको लागि जेजति खोज, अनुसन्धान र प्रयोग अघि बढाउँदै आएको छ र केही देशहरूले मानव विकासको सूचाङ्कमा आफूलाई अति विकसित मुलुकको दर्जामा पुर्याएका छन् । वास्तवमा त्यो प्रगतिशील पुँजीवादको परिणाम हो । पछिल्लो चरणमा पुँजीवादले जुन खोज, अनुसन्धान र प्रयोग गरेको छ, त्यो केवल मानवीय हितमा नभई केवल नाफामा मात्र आधारित छ । यसका निम्ति उसले आफूलाई अति केन्द्रीकरण, ग्लोबोलाइजेसन र निरङ्कुश बनाउँदै लगिरहेको छ, जसलाई हाम्रो पार्टीले उत्तर साम्राज्यवादी राजनीतिक प्रणाली भनेको छ । उनीहरूले आफ्नो स्वार्थको लागि आफूभन्दा कमजोर राष्ट्रहरूलाई दलाल राजनीतिक प्रणालीमा बदलिरहेका छन् ।

विश्वका अधिकांश मुलुकमा दलाल पुँजीवादी राजनीतिक प्रणालीअन्तर्गत शासन सत्ता सञ्चालन भइरहेका छन् । आफूलाई समाजवादको अभ्यास गरिरहेको बताउने मुलुकहरूमा भने केही जनपक्षीय राजनीतिक प्रणाली अपनाएको पाइन्छ, जसले जनता र राज्यसत्ताको बिचमा दलाल पुँजीवादी सत्ताको तुलनामा केही हार्दिकता र सजीव सम्बन्ध रहेको देखिन्छ । हाम्रो देशमा पनि पछिल्लो समययता करिब तीन दशक संसदीय पुँजीवादी शासन सत्ता चलिरहेको छ; जसले नेपाली जनताको शान्ति, विकास, स्थीरता र आवश्यकतालाई सम्बोधन गर्न सकिरहेको छैन । बरू राष्ट्रघात, भ्रष्ट्राचार, वैदेशिक ऋण र बेरोजगारीले देश आक्रान्त बनेको छ । यसका विरुद्ध संगठित या असंगठित, यसको सुधार या आमूल परिवर्तन सशस्त्र युद्ध वा शान्तिपूर्ण जनआन्दोलन चल्दै आइरहेका छन् । यहाँ राजनीतिक विज्ञानको क्षेत्रमा इतिहासदेखि वर्तमानसम्म प्रयोग भएर आइरहेका केही आधारभूत नियमबारेमा संक्षिप्त चर्चा गर्ने कोसिस गरिएको छ; जसले आजको नेपालको राजनीतिक प्रणाली, सरकार र हाम्रो पार्टीका बिचमा जारी वार्ता प्रक्रियाका सन्दर्भमा देखा परिरहेका परिदृश्यलाई बुझ्न सहयोग गर्नेछ :

१. सत्ताधारी वर्ग निरपेक्ष रूपमा यथास्थितिवादी हुनु

राज्यसत्ता र वर्गको उदय भएको इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई अध्ययन गर्दा यो कुरा प्रष्ट हुन्छ कि राज्यसत्ताको रक्षा र प्रयोगका सन्दर्भमा सत्ताधारी वर्ग जहिले र जहाँ पनि निरपेक्ष रूपमा यथास्थितिवादी रहेको हुन्छ । आदिम साम्यवादी युगलाई छोडेर दास युग, सामन्तवादी युग र वर्तमान पुँजीवादी युगसम्मको अवस्था भनौँ या नेपालको सन्दर्भमा राणा शासन, एक दलीय पञ्चायती व्यवस्था, संसदीय व्यवस्थाअन्तर्गत काँग्रेस या कम्युनिस्ट सत्ताहरू होऊन्, त्यसमा के कुरा प्रष्ट देखिन्छ भने आफू सत्ताभन्दा बाहिर हुँदा बडो क्रान्तिकारी हुने तर सत्तामा पुगेपछि जनताको सत्य कुरालाई सुन्ने र आत्मसात् गर्ने कुरालाई इन्कार गर्न पुग्दछन् । यसको मूल कारण उनीहरू आफ्नो स्वार्थ रक्षाको लागि यथास्थितिवादको सिकार भइसकेका हुन्छन् । पुरानो सत्ताका विरुद्धमा गरेका बलिदानीपूर्ण सङ्घर्षहरू, जेल–हिरासत, अङ्गभङ्ग, भूमिगत जीवन, व्यक्तिगत सम्पतिको ध्वँस तथा आफ्ना सहयोद्धाहरूको सहादतलाई पूर्णरूपमा भुलेर सत्ताको रस्वादनमा केन्द्रित हुन पुग्दछन् । उनीहरू यस्तो तर्क र घोषणा गर्छन् कि यो सत्ता र सरकार पुरानो सत्ताका विरुद्ध संघर्षको माध्यमबाट स्थापित गरिएकोले जनताका सबै समस्या समाधान भएका छन् र केही हुँदै जानेछन् । यो कुरा देशको संविधानतः स्थापित भइसकेको छ । तसर्थ, यो सत्ताको विरुद्धमा गरिने कुनै पनि संघर्ष केवल प्रतिगामी कदम हुनेछ र त्यसलाई बलपूर्वक दमन गरिनेछ । आज नेपालको सन्दर्भमा पनि यही कुरा लागु भइरहेको जुन सामान्यतः राजनीतिक विज्ञानको आम नियमभित्र नै पर्दछ भने अर्को अकाट्य नियम पनि छ, यो लामो समय भने टिक्न सक्दैन । यो जनता र राष्ट्रको विरुद्धमा छ, जसले जनताको युगानुकूल चाहनाको आकांक्षालाई कदापि सम्बोधन गर्न सक्दैन । यो राजनीतिक विज्ञानको पहिलो आधारभूत नियम हो ।

२. सत्ताधारी वर्ग र जनताका बिचमा निरपेक्ष सङ्घर्ष हुनु

सत्ताधारी वर्गको यथास्थिति र प्रतिगामी चरित्रका विरुद्ध जहिले र जहाँ पनि आफ्नो स्वतन्त्रता र मुक्तिका लागि जनता संघर्षको बाटोमा जान बाध्य हुन्छन् । संघर्षको स्वरूप सशस्त्र होस् या निःशस्त्र, शान्तिपूर्ण होस् या हिंसात्मक, वैधानिक होस् या अवैधानिक । संघर्षको कुन बाटो प्रयोग गर्ने भन्ने कुरा सत्ताधारी वर्गमा निर्भर हुन्छ । जबसम्म जनता शान्तिपूर्ण रूपले आफ्ना मागहरू राख्ने र सत्ताधारी वर्गद्वारा सम्बोधन हुने कुरामा आशावादी हुन्छन्, तबसम्म जनता शान्तिपूर्ण संघर्षको बाटोमा नै अघि बढ्छन् । जव शासक वर्गद्वारा जनतामाथि दमन गरिन्छ, तब उनीहरू संघर्षको विभिन्न विकल्प खोज्न बाध्य हुन्छन् । सत्ताधारी वर्गले जहाँ र जहिले पनि आफ्नो सत्ताको रक्षार्थ जनतामाथि साम, दाम, दण्ड, भेद प्रयोग गरेर दमन अभियान सञ्चालन गर्न पुग्दछन् भने जनताले पनि आफ्नो मुक्ति र स्वतन्त्रताका लागि जस्तोसुकै बलिदान गर्न पनि तयार भएर संघर्षको मैदानमा उत्रिन बाध्य हुन्छन् । यस प्रकारको संघर्षमा जनताको विजय र शासक वर्गको पराजय पनि निशःर्त रूपमा भैरहेको हुन्छ । राजनीतिक सत्ता परिवर्तनको सन्दर्भमा यो नियम पनि आम रूपमा लागु भइरहेको हुन्छ । यो राजनीतिक विज्ञानको दोश्रो आधारभूत नियम हो ।

३. सत्य र अग्रगामी शक्तिको विजय तथा असत्य र पश्चगामी शक्तिको पराजय हुनु

राजनीतिक विज्ञानको क्षेत्रमा आमरूपमा लागु हुने यो एउटा महत्वपूर्ण विषय हो । संघर्षद्वारा पुरानो सत्तालाई विस्थापित गरी सत्ता सञ्चालन गर्न पुगेका नेता तथा पार्टीहरू आफूले युगौँ सत्ताको नेतृत्व गर्नका लागि षड्यन्त्रकारी सिद्धान्तको प्रयोगका सन्दर्भमा विभिन्न संयन्त्र निर्माण गर्न पुग्दछन् । उनीहरूले एउटै युगमा दुई नेतृत्व हुन नसक्ने कुरा घोषणा गर्नुका साथै आफूभन्दा जान्ने र बुझ्ने यो दुनियाँमा कोही नभएको प्रचार पनि गर्दछन् । साथै, उनीहरूले यो घमण्ड पनि गर्दछन् कि आफू, आफ्नो शक्ति र संयन्त्र नै सबैभन्दा ठूलो र शक्तिशाली छ । राजनीतिक विज्ञानमा त्यस प्रकारको प्रवृत्तिले विजयतर्फ होइन, बरू पराजयतर्फ धकेलिरहेको हुन्छ । उनीहरू क्रान्तिकारी होइन, यथास्थितिवादी राजनीतिक धरातलमा पुगिसकेका हुन्छन् भने दोश्रो महत्वपूर्ण कुरा राजनीतिक विज्ञानमा सत्य र अग्रगामी शक्तिको विजयलाई कसैले रोक्न सक्दैन, भलै त्योसँग कमजोर जनशक्ति, प्रचार–प्रसार तथा श्रोत साधनको अभाव किन नहोस् । मुख्य कुरा उसले तय गर्ने अग्रगामी राजनीतिक विचार र कार्यक्रमले विजयको सुनिश्चित गर्न पुग्दछ । असत्य र पश्चगामी विचारको प्रतिनिधित्व गर्ने यथास्थितिवादी शक्ति जतिसुकै शक्तिशाली भए पनि प्रकारान्तरले त्यसको पराजय निश्चित हुने कुरा इतिहाससिद्ध छ । यो राजनीतिक विज्ञानको तेश्रो आधारभुत नियम हो ।

४. राज्यसत्ताको रक्षाका लागि शासक वर्गद्वारा विभिन्न जालझेल तथा षड्यन्त्र गर्नु

इतिहासदेखि वर्तमानसम्म कुनै पनि शासक वर्गले जनताको मागका आधारमा आफूखुसी राज्यसत्ता त्यागेको छैन । बरु आफ्नो वर्ग र राज्यसत्ताको रक्षाका लागि विभिन्न जालझेल तथा षड्यन्त्र गर्नुलाई आफ्नो पर्याय बनाइरहेको हुन्छ । उनीहरूका राष्ट्र र जनविरोधी चरित्रका विरुद्ध जनताले संघर्ष गर्दा त्यसका विरुद्ध उनीहरूले व्यापक दमनका साथै, अनेकन् षड्यन्त्र गर्न पुग्दछन्; जसअन्तर्गत राजनीतिक रूपले ‘फुटाऊ र शासन गर’ को षड्यन्त्रकारी नीति लागु गर्दछन् भने फौजीरूपले ध्वंस गर्ने र समाप्त पार्ने नीति अवलम्बन गर्न पुग्दछन् । उनीहरू रूपमा शान्ति, स्थिरता र विकासको नारा लगाउन कहिल्यै छोड्दैनन् र न्यायप्रेमी जनताको आवाजलाई बुलन्द गर्ने पार्टी र संस्थालाई आतङ्ककारी र लुटेराको संज्ञा दिन पछि पर्दैनन् तर सारमा उनीहरूले नै अशान्ति, अस्थिरता र विकासविरोधी विचार र क्रियाकलापको अगुवाइ गरिरहेका हुन्छन् । जब उनीहरूको विरुद्धमा संघर्षरत पक्षले राष्ट्र र जनताको पक्षमा आफ्ना राजनीतिक प्रस्तावहरू अगाडि सार्दछ, तब उनीहरूको वास्तविक चरित्रको पर्दाफास हुन पुग्दछ, तब उनीहरू फेरि नयाँ र भिन्न प्रकारका षड्यन्त्र गर्न पुग्दछन् । यसको मूल कारण यो हो कि उनीहरूका यथास्थिति वर्ग चरित्रका कारण आफ्नो वर्ग र राज्यसत्ताको रक्षाका लागि आफूलाई समर्पण गर्न पुगेका हुन्छन् र राष्ट्र र जनताका विरुद्ध आफूलाई खडा गर्न पुग्दछन् । यो राजनीतिक विज्ञानको चौथो आधारभूत नियम हो ।

५. जनतासँगको एकताले नै विजय र पराजयको सुनिश्चित गर्दछ

चाहे सत्ताधारी वर्ग होस्, चाहे त्यसका विरुद्ध संघर्षरत पक्ष होस्; संघर्षका दौरानमा विजय र पराजयको मूलकारण उसले तय गर्ने जनसम्बन्धमा आधारित रहेको हुन्छ । प्रतिक्रियावादी शासक वर्ग जनतालाई रैती र भेडाको व्यवहार गर्न पुग्दछन् तर इतिहासदेखि वर्तमानसम्मका राजनीतिक घटनाक्रमले सावित गरेको तथ्य यो छ कि संगठित जनता नै इतिहासका निर्माता हुन् । दुनियाँमा सञ्चालन गरिएका राष्ट्रिय तथा वर्गीय मुक्ति आन्दोलनले उपर्युेक्त कुरालाई स्पष्ट गर्दै आइरहेको छ । सत्ताधारी शासक वर्गले जहाँ र जहिले पनि जनतालाई आफ्नो विरुद्धमा संघर्षरत शक्तिबाट पृथक गर्न चाहन्छ, जसका लागि उनीहरूले हरसंभव उपाय अवलम्बन गर्न पुग्दछन् । राज्यसत्ताको विरुद्धमा संघर्षरत पक्षले पनि सकेसम्म जनतालाई आफ्नो पक्षमा गोलबन्द गर्न प्रयत्न गर्दछन् । अन्ततः सही विचार, कार्यदिशा र जनपक्षीय नीतिको निर्धारण र त्यसको दृढतापूर्वक कार्यान्वयन जसले गर्दछ । अन्ततः उसले नै संघर्षमा विजय हासिल गर्न पुग्दछ । यो राजनीतिक विज्ञानको पाँचौँ आधारभूत नियम हो ।

निष्कर्ष

राजनीतिक विज्ञानमा षड्यन्त्रकारी सिद्धान्तको अस्थायी रूपमा बाहेक कहीँ पनि विजय भएको छैन । सत्ता र शक्तिको बलमा अस्थायी रूपमा मात्र यसले पुनर्जीवन पाउन सक्दछ । वर्तमान हाम्रो पार्टी र नेपाल सरकारको बिचमा सञ्चालित वार्ता प्रक्रियामा जेजस्ता नकारात्मक विचार प्रवृत्तिसहित हुन खोजिरहेका छन्, त्यसबाट माथि उठेर जनता र राष्ट्रको अग्रगामी रूपान्तरणको लागि इमानदारीपूर्वक लाग्नु नै बुद्धिमतापूर्ण निर्णय हुनेछ । अन्यथा त्यसले राष्ट्र र जनतालाई ठूलो नोक्सानीसिवाय केही दिन सक्नेछैन । यथार्थमा फागुन २१ गते हाम्रो पार्टी र नेपाल सरकारका बिचमा सम्पन्न तीन बुँदे सहमतिको सरकारद्वारा अक्षरशः पालना गरियोस् । यसको कार्यान्वयनको प्रक्रियामा वर्तमान सरकारले जुन आनाकानी र ढिलासुस्ती देखाइरहेको छ, निश्चय नै यो त्यति राम्रो सङ्केत होइन ।

जहाँसम्म हाम्रो पार्टीको सवाल छ, हामी राष्ट्र र जनताप्रति पूर्णरूपले इमानदार र समर्पित छौँ, त्योभन्दा हाम्रो कुनै स्वार्थ छैन । तीन बुँदे सहमति कार्यान्वयन गर्न हामी पूर्णरूपले प्रतिवद्ध छौँ । यदि वर्तमान सरकार वार्ता प्रक्रियाप्रति इमानदार ढंगले प्रस्तुत हुन सकेन र षड्यन्त्रकारी सिद्धान्तको सहारा लिन पुग्यो भने विद्रोह गर्ने जनताको अधिकारको नेतृत्व गर्न हाम्रो पार्टी अगाडि बढ्ने कुरा आफ्नो नैसर्गिक अधिकार भएको व्यहोरा राजनीतिक दल, बुद्धिजीवी, शिक्षक, कर्मचारी र समस्त परिवर्तनकामी जनसमुदायमा सुसूचित गर्दछ । हाम्रो दृढ सङ्कल्प छ कि देश र जनताको वर्तमान समस्याको समाधान संसदीय राज्यव्यवस्था होइन, वैज्ञानिक समाजवादी राज्यव्यवस्थाद्वारा मात्र सम्भव छ; जसको लागि हदैसम्मको लचिलोपनका साथ छलफल र बहसका साथै, जतिसुकै कठिन बाटोमा हिँड्न पनि हामी पनि तयार छौँ । यसमा हामीलाई कसैले पनि रोक्न सक्नेछैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :