अखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्षमा विकल्प

अखिल (क्रान्तिकारी) गुल्मीको अध्यक्षमा विकल्प

तम्घास: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) गुल्मीको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार तम्घासमा सम्पन्न सम्मेलनले विकल्प खत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक वीरेन्द्र विकले वर्तमान खराब शिक्षाप्रणालीका कारण विद्यार्थी बिदेसिन बाध्य भएको बताए । उनले वर्तमान संसदीय व्यवस्था रहेसम्म शिक्षाप्रणालीमा कुनै सुधार आउन नसक्ने बताए ।

विकले वर्तमान शिक्षाप्रणाली राष्ट्रको हितविपरीत, जनभावनाविपरीत, पाठ्यक्रमविपरीत रहेको भन्दै सम्पूर्ण देशभक्त, क्रान्तिकारी विद्यार्थीलाई एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सङ्घर्ष गर्न आह्वान गरे । उनले अहिलेको शिक्षालाई उत्पादनप्रणालीसँग जोडेर आत्मनिर्भर बनाउन सुझाव दिँदै असमान शिक्षाप्रणालीबाट समान स्तरमा प्रतिस्पर्धा गर्न नसकिने प्रस्ट पारे । युवा–विद्यार्थीलाई एकीकृत जनक्रान्तिमा समाहित गराउँदै व्यक्ति, समाज र देशलाई स्वाधीन, आत्मनिर्भर बनाउनेतर्फ आफूहरु लागिरहेको उनको भनाइ थियो ।

नेकपा गुल्मी जिल्ला सेक्रेटरी माहुरीले नेपालमा दुई प्रकारको शिक्षानीति रहेकाले समान शिक्षा बनाउनका लागि सरकार नै उदासीन रहेको बताए । शिक्षा नाफामूलक नभई सेवामूलक हुनुपर्ने उनको भनाइ थियो ।

अखिल (क्रान्तिकारी) गुल्मीका निवर्तमान अध्यक्ष नवीन खड्का, दलित मुक्ति मोेर्चाका जिल्ला अध्यक्ष वसन्त गैरेलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य अनिल नेपाली, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य विनोद पोख्रेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका जिल्ला अध्यक्ष तारा बस्नेतलगायतको उपस्थिति थियोे । कार्यक्रमको सञ्चालन बाबुराम नेपालीले र स्वागत मन्तव्य राज खड्काले राखेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :