सहिद तथा बेपत्ता परिवारसँग

जनक्रान्तिका महान् सहिद परिवार समाज केन्द्रीय समिति र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा देशका खास–खास सहरहरूमा अन्तरक्रिया कार्यक्रम गर्दै आउनेक्रममा आयोजकहरूको आमन्त्रणमा केही कार्यक्रममा सहभागी बन्ने अवसर मिल्यो । केही अनुभूति अनुभूत गर्ने अवसर प्राप्त भयो । यसको लागि आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु । यहाँ खास गरी तिनै महान् सहिदहरू र बेपत्ता योद्धाहरूको सम्मान र सम्झनामा पस्कन चाहन्छु, जसले क्रान्तिका लागि आफ्नो अमूल्य जीवन देश र जनताका लागि अर्पेका छन् । सर्वप्रथम म उहाँहरूलाई श्रद्धासुमन अर्पण गर्दछु । साथै, उहाँहरूले छाडेको अधुरो कार्यलाई पूरा गर्ने वचनबद्धता दोहोर्याउन चाहन्छु । उहाँहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै सहिद र बेपत्ता योद्धाहरूले छाडेर गएका बाँकी कार्यभार आफूहरूले पूरा गर्ने वाचा गर्दै अन्तिमसम्म लडिरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

समय सन्दर्भका हिसाबले यो कार्यक्रम समयसापेक्ष र समय सान्दर्भिक छ । आयोजना स्वयम् सहिद तथा बेपत्ता परिवारकै भएर पनि निरन्तर आफ्ना परिवारले बगाएको रगत खेर जान नदिन लागिपरेका दुबै सङ्गठनका अध्यक्षहरू भएको र उहाँहरूले नै आयोजना र सञ्चालन गर्दै आउनुले कार्यक्रमको औचित्य र महत्व झन् बढेको छ । बेपत्ता योद्धा वीरबहादुर थापाका बुबा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष कमरेड रामबहादुर थापाको अध्यक्षता र जनयुद्धका महान् सहिद नन्द न्यौपानेका जीवन संगिनी जनक्रान्तिका महान् सहिद परिवार समाजका केन्द्रीय अध्यक्ष कमरेड खुमा सुवेदीको सञ्चालन र बेपत्ता योद्धा (तत्कालीन बिद्यार्थी नेता) पूर्ण पौडेलकी जीवन संगिनी सावित्रा दुराले आधारपत्र प्रस्तुत गर्दै आउनुभएको सो कार्यक्रमहरूमा भावना र विचारहरू एकैपटक छचल्किएर आउने, भावुक र विचारप्रधान कार्यक्रमहरूमा कतै सबैलाई निकै भावुक बनाउने, कतै विचार तर¨हरूले निकै उद्वेलित पार्ने र कतै सहभागीहरूको नयनबाट अश्रुवृष्टि हुँदा कसैको पनि मन नछुने कुरो भएन । कुनै कुनै बखत त म आफैँ पनि द्रवीभूत भएँ । जे होस्, कार्यक्रमहरू भावपूर्ण वातावरणमा निकै महत्वपूर्ण, कतै कतै रोचक र घोचकजस्तो भए पनि समग्र कार्यक्रमका दृष्टिले विचार, भावना, राजनीति मिश्रित कार्यक्रम सबै हिसाबले समसामयिक र उपलब्धिमूलक भएको अनुभूति गरेको छु । यसले सहभागी सबैको मन छोएको छ । जतातिर यसको आशा र उद्देश्य लक्षित थियो– त्यो निकायले कति सुन्ला, सहिद–बेपत्ता परिवारका मागहरूको कति हदसम्म सम्बोधन गर्ला, त्यो राज्यकै कर्तव्यभित्र पर्दछ । विश्वास र आशङ्काका दृष्टिले पुरानो प्रतिक्रियावादी सत्ताले त हरेक दृष्टिकोणले यसको सम्बोधन नगर्ने कुरा स्वाभाविक हो तर जनयुद्ध सुरु भएको र शान्ति प्रक्रिया हुँदै जनयुद्धका एउटा घटक, अझ त्यसमा पनि जनयुद्धकै मूल नेतृत्व नै यो राज्यसत्ता र सरकार सम्हाल्न पुगेको पनि झन्डै ३ दशक भयो । यस बिचमा प्रचण्ड र बाबुरामहरू पटक–पटक गरी ३ पटक प्रधानमन्त्रीको ओहदामा पुग्दा पनि सहिद बेपत्ता योद्धाहरूको हालत भने उस्ताउस्तै छ, यो निश्चय नै दुःखदायी विषय हो । कम्तीमा राज्यद्वारा बेपत्ता योद्धाहरूको सार्वजनिक गर्नु, सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा नहुनु, उनीहरूका परिवारजन पूरै बेवारिसे बन्नु, अरूलाई एकैचोटि १० लाख दिँदा जनयुद्धका सहिदहरूलाई राहत भनेर किस्ताबन्दीमा कहिले एक लाख, कहिले २ लाख, कहिले ५ लाख गरेर तड्पाउनु, लखन थापायताका सहिदहरू भीमदत्त पन्त, कामी बुढा, चिनियामान काजी, झापा आन्दोलनका सहिदहरू, ऋषि देवकोटा, ‘आजाद’ जनयुद्धपूर्वका सहिदहरू रोल्पाका लोकबहादुर, मनबहादुर, पुर्खे सुनार, खलाने पुन (रुकुम) लाई त सहिद नै मानिएको छैन । अहिले एकीकृत जनक्रान्तिको क्रममा कुमार पौडेल, नीरकुमार राई, तीर्थ घिमिरेदेखि जगत् पुन (म्याग्दी) सम्म १२ जना सहिद भएका छन् । के यो सरकारले, यो राज्यले यी माग पूरा गरिदेला ? के अहिलेसम्मका आयोजकका आधारपत्रमा उल्लेख भएअनुसार १,०९५ जना बेपत्ता नागरिक सास वा लास देखाउन तयार होला ? यी प्रश्न गम्भीर र जटिल छन् । यतिका वर्ष बिते, खै सहिद–बेपत्ता परिवारका आँसु र वेदना राज्यले सुनेको ? तिनको चहराइरहेको घाउमा मलमपट्टी लगाउनुको सट्टा उनीहरूका मागहरू पूरै बेवास्ता गरिएको छ । अझै पनि एकातिर उनीहरूको माग पूरा भएका छैनन् र आश पनि मरेको छैन भने राज्यपक्ष मौनता साँधिरहेछ । यही पीडा अहिले अन्तरक्रिया कार्यक्रमहरूमा सबै नागरिक सरोकारवाला पक्षसँग राख्दै सहयोगको याचना गर्दै आउनुभएको छ । राज्य र अरू राजनीतिक दल तथा सरोकारवाला निकाय र सङ्घ–संस्थाहरूको मौनतालाई यो कार्यक्रमले भ¨ गरिदिएको छ र सबैलाई एकपटक झकझक्याएको छ ।

सहभागिताको हिसाबले कार्यक्रमहरूमा स्थानीय रूपमा कार्यरत सबै राजनीतिक दल, पत्रकार, मानव अधिकारवादी सङ्गठन र सङ्घ–संस्थाहरू, सहिद–बेपत्ता परिवारहरू, बुद्धिजीवीहरू, सरोकारवाला विभिन्न निकाय र सङ्घ–संस्थाहरू सबैलाई आमन्त्रण गरिए पनि सबै कार्यक्रममा अपेक्षा गरिएअनुसारको सहभागिता नभएको र केही आँशिक सहभागिता मात्र हुने गरेको पाइयो । खास गरी सरकारी पक्षका र अझ जिम्मेवार पक्षको उपस्थिति त निकै न्यून मात्र रहेको पाइयो । यसको अन्तर्यमा जे भए पनि बाहिर कोरोना र कतै न कतै राजनीतिक सङ्कीर्णता र पूर्वाग्रहका आभास पनि पाइयो । सहभागीहरू सबैले औपचारिक रूपमा कार्यक्रममा प्रस्तुत आधारपत्रको प्रशंसा र समर्थन नै गरेको पाइयो तर सहर बजार क्षेत्रमा एउटा एनजीओ र संसद्वादी संस्कार के जबरजस्त छ भने वक्ताहरूले आफ्ना कुराहरू राख्दै उठ्दै जाँदै गर्दा अन्तिममा प्रमुख अतिथि बोल्ने बेला प्रायः आमन्त्रित सबैको कुर्सीहरू खाली हुने र अन्तरक्रियाको खासै अर्थ नरहने स्थितिले पनि बुझाइ र गराइहरूका बिच अन्तरविरोध रहने हुँदै आएको छ । सहर, बजार क्षेत्रहरूमा एउटै व्यक्ति एकै दिनमा ३/४ ओटा कार्यक्रममा सहभागी हुने, आफ्ना कुरा राख्दै जाने तर अरूको कुरा नसुन्ने खाली सुनाउँदै हिँड्ने संस्कारले संसद्वादी राजनीतिक दलहरू र विभिन्न सङ्घ–संस्थाहरूमा निकै प्रदूषण फैलिएको आभास हुन्छ र यस संस्कारले वास्तवमा बुझाइहरूलाई एक हुन दिइरहेको छैन ।

कार्यक्रमहरूमा कतै राजनीतिक दलहरूले सहिद–बेपत्ता नागरिकहरूका परिवार र आफन्तजनका अपेक्षा र मर्म के हो र यसको निराकरण कसरी गर्ने र आफ्नो व्यक्तिगत तर्फबाट, आफ्नो पार्टी, संस्था, सङ्गठन, निकायको तर्फबाट के गर्न सकिन्छ वा के सुझाव छ, ती कुराभन्दा पनि कतै कतै राजनीतिक दलहरू आपसमा आफ्ना तिता पोख्ने, घोचपेच गर्ने, दोष अरूतिर पन्छाउने, आफूहरू सही भएको दावा गर्ने क्रिया–प्रतिक्रिया पनि देखिए । कोही हामी त कर्मचारी, अधिकारकर्मी भनेर आफूहरूको काम सम्बन्धित निकायमा पुर्याउने र सूचित गर्ने हो, बाँकी काम राज्यको हो र राजनीतिकर्मीहरूतिर फालेर पन्छिएको पनि पाइयो ।

सहिदहरूको भनेका परिवर्तनका वाहक हुन् र सहिदहरू राष्ट्रका साझा सम्पत्ति हुन् । यी क्रान्तिका ऊर्जा पनि हुन् । शान्ति प्रक्रियाको क्रममा आउँदा सहिदहरूको पनि अपमान हुने काम भएको छ । जो वास्तविक सहिद हो, उसले सहिदको सम्मान पाएको छैन । विभिन्न प्राकृतिक दुर्घटनामा परेकालाई सहिद भनेर राहतहरू दिलाइएका छन् । नेपालमा संसदीय व्यवस्था र दलाल सत्ताको चरित्रका कारण हरेक क्षेत्र प्रभावित छन् । २०७२ सालको महाभूकम्पमा परेका वास्तविक पीडितले अझै पूरा राहत पाएका छैनन् । नक्कली पीडितले बिल्डिङ ठड्याएका छन् । देशैभरि ५५ लाख वास्तविक सुकुमबासीले एक चोक्टा जमिन पाएका छैनन् । सुकुमबासीको नाममा हुकमबासीहरूले बिल्डिङ ठड्याइरहेका छन् । सहिद र बेपत्ताहरूमा पनि नक्कलीहरूको दिन खुलेको छ, सक्कलीहरू अझै उस्तै छन् । यसको कारण हो– सत्ताको वर्गीय चरित्र । संसदीय प्रतिक्रियावादी सत्तामा हुने योभन्दा अरू के हुन सक्ला र ?

राज्यसत्ताको चरित्र वर्गीय छ । वर्गीय सत्ताले वर्गको रक्षा गर्दछ । राज्यसत्ता जुन वर्गको हातमा छ, त्यो राज्यसत्ताले त्यही वर्गको रक्षा र संरक्षण गर्दछ । अहिलेको नेपालको राज्यसत्ता सर्वहारा वर्गको हातमा पनि छैन र जनताको हातमा पनि छैन । यो दलाल पुँजीवादीहरूको हातमा छ र सारमा साम्राज्यवादको नियन्त्रणमा छ । साम्राज्यवादको नियन्त्रणमा चलेको दलाल पुँजीवादी सत्ताले जनता र सर्वहारा वर्गको हितमा काम गर्दैन र तिनका कुरा सुन्दा पनि सुन्दैन । अहिले भएको त्यही हो । नेपालको पहिलो सहिद लखन थापा मगरलाई राणा शासनका विरुद्ध विद्रोह गर्दा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले मारे । २००७ सालमा नेपाली काँग्रेसको नेतृत्वमा मुक्ति सेना बनाएर सशस्त्र विद्रोह भयो । २००७ सालको दिल्ली सम्झौताको विरोध गर्दा २००८ सालमा वीपी गृहमन्त्री भएको बेला चिनियामान काजीको हत्या गरे, तत्कालीन प्रजातान्त्रिक राज्य भनिने सरकारले । २०१० सालमा पश्चिम नेपालमा भीमदत्त पन्तले किसान विद्रोह गरे । भारतीय सेना बोलाएर विद्रोह दबाइयो र भीमदत्त पन्तलाई समातेर मारियो । २०१०/११ तिर मध्यपश्चिम नेपालको रुकुम, जाजरकोट, दैलेख, हुम्ला, मुगु, जुम्लातिर कामी बुढाले गाउँघरमा मुखिया, रेन्जर, पुलिस, प्रशासनको जनतामाथिको अत्याचारको विरोधमा प्रतिरोध कारबाही सञ्चालन गरे र कम्युनिस्ट अभियान चलाए । २०११ सालमा जुम्लाको चौभान पुलिस चौकीले समातेर मार्यो । २०२८ सालमा झापा विद्रोह भयो । २०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो । २०७१ पछि कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढ्यो । २०७५–२०७७ सम्म २ वर्ष प्रतिबन्ध पनि खेप्यौँ । यस अवधिमा १२ जना सहिद भए । यो अवधिमा अन्य विभिन्न समयमा मधेस आन्दोलन र जनजाति आन्दोलन पनि भए । यी आन्दोलन पहिलो जनविरोधी, पुँजीवादी राज्यसत्ताको विरुद्धका आन्दोलन थिए । यही राज्यसत्ताका कारण उत्पन्न वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र सामाजिक–सांस्कृतिक–धार्मिक उत्पीडन उत्पन्न भए । त्यसैका विरुद्ध विविध रूपमा उठेका यी आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू सबै परिवर्तनका वाहक हुन् र तिनको एक मात्र आकाङ्क्षा सामाजिक असमानता, उत्पीडन, शोषण, दमन, विभेद र राष्ट्रिय स्वाधीनता र स्वाभिमान प्राप्त गर्ने थियो । ती सबैलाई राज्यले राष्ट्रिय सहिदको सम्मान दिनुपर्छ र सहिद परिवारलाई राज्यले संरक्षण र अभिभावकत्व ग्रहण गर्नुपर्छ । ती सहिदहरूकै रगत र बलिदानीबाट मात्र आजको राज्यसत्ता सम्भव भएको हो । बेपत्ता नागरिकको पनि यही आकाङ्क्षा थियो । अहिले उनीहरू लापत्ता छन् । राज्यले न सहिद घोषणा गरेको छ, न सास र लास देखाएको छ । राज्यले ती बेपत्ता परिवारलाई तड्पाउने काम गरिरहेको छ । अहिले सहिद–बेपत्ता परिवारले चलाउँदै आएको कार्यक्रमका सिर्फ दुई अभिलाषा छन्- पहिलो, यी सहिदलाई राज्यले राष्ट्रिय सहिदको सम्मान देओस् । दोस्रो, सहिद परिवारको अभिभावकत्वको जिम्मा राज्यले लेओस्, बेपत्ता नागरिकको हकमा पनि कि लास देखाउनुपर्यो कि सास देखाउनुपर्यो । कि राज्यले तिनलाई राष्ट्रिय सहिद घोषणा गरेर सहिदको सम्मान देओस् र तिनका परिवारजनको अभिभावकत्वको जिम्मा राज्यले लेओस् भन्नेबाहेक अरू केही छैन । तर, किन यति गर्न पनि राज्यले सकिरहेको छैन ? यसको एउटै कारण हो, वर्गसत्ता र राज्यसत्ताको चरित्र । त्यसैले जबसम्म यो राज्यसत्ता पुँजीपति वर्गको हातमा र नियन्त्रण रहन्छ, तबसम्म यो अवस्था कायम नै रहन्छ । यसको निम्ति यो राज्यसत्ता र व्यवस्था बदल्नुको विकल्प छैन । यो राज्यसत्तासँग रुनु कराउनुको कुनै अर्थ छैन । अतः सम्पूर्ण सहिद परिवार जनताको राज्यसत्ता निर्माण नहुँदासम्म परिवर्तनको लागि बलिदान दिने यी सहिदहरूको सम्मान सम्भव छैन । त्यसैले सहिद–बेपत्ता परिवारहरू एकजुट भएर आवाज उठाइरहनुपर्छ ।

अन्तरक्रिया र व्यक्तिगत भेटघाटमा सहिद–बेपत्ता परिवारको प्रतिनिधिमूलक भनाइ :

प्रचण्ड धोकेवाज हो, १७ हजार सहिद÷बेपत्ताहरूको रगत बेचिखायो । उनीबाट केही आश छैन । सबैप्रति आशा मरिसकेको बेला विप्लवले फेरि क्रान्तिको झन्डा उठाएको सुन्दा खुसी लागेको छ । फेरि आशा पलाएको छ । दह्रो खुट्टा बनाउनुस् । खुट्टा कँपाउनुहुँदैन, खोलामा पसेपछि पार गर्ने आँटका साथ अघि बढ्नुपर्छ । एक दिन जित्नुहुनेछ ।

वार्तामा गएर सहिद–बेपत्तालाई नबिर्सनुहोला । वार्ताको कुराले अलिअलि आशङ्का पनि लाग्छ, विश्वासघात गर्न पनि सक्छन्, यिनीहरूको कुनै भरोसा छैन, होस गर्नुहोला । वार्तामा गएर प्रचण्डले जस्तै नगर्नुहोला । (आदरणीय आमा ‘बेपत्ता योद्धा पूर्ण पौडेलकी ममतामयी आमा’ मोतीमाया पौडेलको भनाइ)

हाम्रा परिवारहरू १० लाखको लागि प्राणको उत्सर्ग गरेका होइनन् । उनीहरू क्रान्तिको सपना बोकेर सहिद भएका हुन् । आवश्यक परे १० हजार सहिद परिवारका २० हजार सदस्य सहिदका सपना पूरा गर्न आन्दोलनमा उत्रिन तयार छौँ । अहिले कमरेड विप्लव नेतृत्वको नेकपाले ‘हामी सहिद बेपत्ता योद्धाहरूले छोडेका अधुरो क्रान्ति पूरा गर्न प्रतिबद्ध छौँ र सहिद–बेपत्ता परिवारको अभिभावकत्व लिन पनि तयार छौँ’ भनेकाले यता आशावादी छौँ र समर्थन पनि छ ।

‘जो जोगी आए पनि कानै चिरेका’, विप्लवले पनि प्रचण्डले जस्तै गर्नुहुन्न भन्ने के ग्यारेन्टी ? सबैले यस्तै भन्दै आए, यस्ता भनाइ धेरै सुनियो तर गर्ने कसैले होइन, कहिले पूरा हुन्छ सहिद–बेपत्ताको सपना ?

विप्लवले पनि के गरेको छ र ? केको निम्ति भूमिगत भयो र केको निम्ति वार्ता गर्यो सरकारसँग ? वार्ता गरेर के पाए त सहिद–बेपत्ता परिवारले ? यसले सहिद–बेपत्ताको सपना पूरा भयो त ?

निष्कर्षतः भन्न सकिन्छ

* केही सहिद–बेपत्ता परिवारहरू वर्ग सचेत र वैचारिक रूपले उच्च कोटिका प्रतिनिधिहरू छन्, जसले सहिद र बेपत्ताहरूको बारेमा र सरकारको वर्गीय चरित्र र यसको रवैयाबारे पूर्ण सचेत छन् ।
* दोस्रो थरी सहिद–बेपत्ता परिवार वैचारिक रूपमा त्यति सचेत छैनन् । उनीहरू अत्यन्त ढुलमुल छन् । सबैतिर धोका र गद्दारी देख्छन् । यहाँ राम्रो पक्ष पनि छ भन्ने कुरामा शङ्का लाग्छ । ‘जो जोगी आए पनि कानै चिरेका’ भन्न बाध्य हुन्छन् । यो उनीहरूको दोष होइन । यो अञ्जानमै प्रस्फुटित हुने उनीहरूको पीडा हो ।
* तेस्रो थरी एकाध सहिद परिवार जो अवसरवादी राजनीति, प्रलोभन र नेताको भ्रममा परेर सहिदहरूको नाममा क्रान्तिविरोधी काम पनि गरिरहेको पाइन्छ । यो नितान्त थोरै प्रतिशतमा छन् । कहिलेकाहीँ त जानी–नजानी सहिद–बेपत्ता योद्धाहरूको अपमान र बेइज्जती हुने कामसम्म गर्न पछि नपर्ने खालका हुन्छन् । कतिपयलाई त दुश्मनले सचेतरूपले प्रयोग गर्न पनि गर्न खोज्दछ । यिनले सहिदको रगत र बलिदानलाई पैसा पद र प्रलोभनसँग साट्ने गरिरहेका छन् । यो सहिद–बेपत्ताहरूको आकाङ्क्षाविरोधी छ ।
जसले जे भने पनि सहिद–बेपत्ता योद्धाहरू कसैका व्यक्तिगत हुँदैनन् र ती सबैका साझा सम्पत्ति हुन् । ती राष्ट्रका पुँजी हुन् । सहिद–बेपत्ता योद्धाका परिवारजनलाई राष्ट्रले, समाजले उचित सम्मान र कदर गर्नुपर्दछ । सहिद र बेपत्ता योद्धाहरूको बलिदानबाटै राष्ट्र यो ठाउँमा आइपुगेको हो । अतः कवि भूपी शेरचनको कवितांश प्रस्तुत गर्न उचित ठान्दछु—

हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन देश दुई–चार सपूत मरेर नगए ।

आज देशको अवस्था, जनताको अवस्था, सहिद परिवारको अवस्था, बेपत्ता परिवारको अवस्था, घाइते अपाङग योद्धाहरूको अवस्था सङ्कटपूर्ण, कष्टपूर्ण र जर्जर बनिरहेको बेला कोही चूप लागेर बस्ने स्थिति छैन । सहिद–बेपत्ता परिवार पनि आफ्ना चहराइरहेको घाउमा कसले मलमपट्टी लगाइदिन सक्छ ? भनेर आफ्ना हराइरहेका परिवारका सदस्यहरूको खोजी, पहिचान र सम्मानका लागि सरकार र सरोकारवाला निकाय, सबै राजनीतिक दल, मानव अधिकारवादी सङ्घ–संस्था, पत्रकार, वकिल, नागरिक समाज सबैका सामु आफ्ना भावना र विचार पस्किरहेका छन्, सहयोग र समर्थनको अपेक्षा गरिरहेका छन् । यसलाई सम्बन्धित सबैले सुनुवाइ मात्र होइन, एउटा जिम्मेवार नेपाली नागरिकको हैसियतले आफ्नो कर्तव्य ठानी, आ–आफ्नो क्षेत्रबाट सामूहिक वा संस्थागत पहल गरौँ । नेपाल कम्युनिस्ट पार्टी यसको लागि जुनसुकै अवस्थामा पनि साथ, समर्थन र पहलको लागि तयार छ । यो हाम्रो प्रतिबद्धता हो र यसलाई हामी हाम्रो कर्तव्य पनि ठान्दछौँ । अन्तमा देशमा अझै क्रान्ति पूरा भएको छैन । देशले अझै थप बलिदानको माग गरेको छ । आवश्यक परे हामी फेरि पनि यो अतिरिक्त जीवनलाई क्रान्तिमा अर्पण गर्न चाहन्छौँ । देश र जनताको निम्ति बलिदान दिन तयार छौँ । एकपटक फेरि जनताले साथ दिनुस् । यो कुहिएको मक्किएको संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापना सबै लागिपरौँ, आमा मोतीमायाले भन्नुभएझैँ एक दिन सहिदको सपना पूरा हुनेछ ।
नेपाली पात्रोअनुसार नयाँ वर्ष २०७८ सुरु हुँदै छ । नव–वर्षको यो सुखद् अवसरमा सम्पूर्ण सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनक्रान्तिका घाइते योद्धाहरू, एकीकृत जनक्रान्तिका लागि सङ्घर्षरत हाम्रो पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरू, नेपालको विभिन्न जेलहरूमा कष्टकर जेलजीवन बिताइरहेका सहयोद्धा कमरेडहरू, एकीकृत जनक्रान्तिको दौरानमा हामी र हाम्रो पार्टीलाई आर्थिक, भौतिक, नैतिक समर्थन गर्ने मित्रहरू, राष्ट्रिय स्वाधीनताको लडाइँमा साथ दिने देशभक्त राष्ट्रप्रेमी मित्रहरू, समर्थक, शुभचिन्तक जनसमुदायका साथै देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सबैलाई उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायु तथा सफलता र विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०७७ चैत ३१

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :