वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ – महासचिव विप्लव

वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ – महासचिव विप्लव

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनताले राजनैतिक सफलता नपाउँदासम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । महासचिव विप्लवले बुधबार कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गर्दै संसदीय व्यवस्थाभित्रको सरकारमा जाने र मन्त्री बन्ने हल्ला निराधार भएको बताएका हुन् । उनले भने, ‘हामी व्यक्तिगत पद, पैसा र प्रतिष्ठा त्यागेर क्रान्तिमा लागेका हौँ । क्रान्ति जनताको मुक्तिका लागि हो ।’

महासचिव विप्लवले आफ्नो पार्टी ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न दृढ रहेको बताउँदै युद्ध र अशान्ति चाहनेहरूले राज्य र नेकपाबिच भएको वार्ता र सहमतिलाई विथोल्न खोजेको बताए । उनले भने, ‘हामी ३ बुँदे सहमति कार्यान्वयन गर्न दृढ छौँ । ३ बुँदे सहमति युद्ध र अशान्ति चाहनेहरूले वार्ता बिथोल्न खोजिरहेका छन् ।’

महासचिव विप्लवले जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउँदै आएको भन्दै जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताए । महासचिव विप्लवले भने, ‘जनताको न्यायपूर्ण आवाजमाथि गरिएको दमनविरुद्ध हामी लड्दै आएका छौँ र वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म अविराम लडिरहनेछौँ ।’


महासचिव विप्लवले जनता इतिहासको निर्माता भएको र जनताले नै इतिहास बदल्ने भन्दै न्यायपूर्ण संघर्षमा जनता कहिल्यै पराजित नहुने, बरु जनताका सपनामाथि धोका, गद्दारी गर्ने र अपमान गर्ने गद्दारहरूलाई इतिहासले कुल्चेर अगाडि बढ्ने बताए । उनले नेपाली जनताले पाइला–पाइलामा दलाल पुँजीवाद र साम्राज्यवादको थिचोमिचो विरुद्ध संघर्ष गर्दै अगाडि बढिरहेको र वैज्ञानिक समाजवादी व्यवस्था खोजिरहेको बताए । उनले ४० बर्से संसदीय पुँजीवादी व्यवस्था असफल भएकोले जनताको प्रत्यक्ष सहभागितामा वैज्ञानिक समाजवाद कि दलाल संसदीय पुँजीवाद ? भनेर जनमतमा जानुपर्ने बताए ।

उनले भने, ‘नेपालमा ४० वर्ष लामो संसदीय अभ्यास जनताले देखे, निर्वाचनमार्फत् नेता र दलहरू चुनिए तर नेता र दलहरू चुनिएर मात्रै जनताको समस्या समाधान हुन सकेनन् । देश झन् रसातालमा पुग्यो । संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव पनि थिएन । त्यसकारण एकपटक व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ ।’

पार्टीको केन्द्रीय सम्पर्क कार्यालय शिलान्यासबारे चर्चा गर्दै महासचिव विप्लवले आफ्नो पार्टी झुपडीमा बस्ने गरिब, दुःखी, सुकुमबासी, किसान, मजदुर तथा श्रमजीवी वर्गको पार्टी भएको भन्दै जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको बताए । उनले पार्टीको आफ्नै श्रम, सहयोग र जनताको सहकार्यमा पार्टी कार्यालय बनाइने बताउँदै जनतासँगै पार्टी नेता, कार्यकर्ता अनिवार्य श्रममा जोडिने बताए ।

शिलान्यास कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् कार्यालय निर्माण समितिका इन्चार्ज सञ्जिवले जनताको बिचमा बसेर जनताकै सहकार्यमा निर्माणका नयाँ अभ्यास र संस्कृतिको सुरुआत गरिएको बताउँदै उहाँले केन्द्रीय सम्पर्क कार्यालयको निर्माण लक्षित समयभित्रै सम्पन्न गरिने बताए । उनले निर्माणकार्य सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायको पहलमा सम्पन्न गरिने बताउँदै सबैमा सहयोगका अपिलसमेत गरे । समितिका अध्यक्ष नन्दलाल पुरीले तोकिएको समयभित्रै कार्यालय भवन निर्माण गर्न पार्टी निकाय र जनताको तर्फबाट सहकार्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :