फर्केर हेर्दा ७७ साल

फर्केर हेर्दा ७७ साल

काठमाडौँ : गत वर्षको वैशाख १ गते कोरोना महामारीले जनजीवन आक्रान्त बनेको थियो । सँगसँगै नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध थियो । लकडाउनको समयमा पनि राज्यद्वारा गिरफ्तार गरिएका नेकपाका नेता कार्यकर्ताहरूलाई धमाधम जेल हिरासतमा हालिएको थियो । यसैक्रममा नेकपाका नेता वीरजंग, अनिल शर्मा, लालबहादुर बिसीलगायतका नेता कोरोना संक्रमणका कारण गम्भीर बिरामीबाट तंग्रिए ।

एक वर्षको यो अवधिमा नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती एमसीसी परियोजनाको विरुद्धमा देशव्यापी कार्यक्रम सञ्चालन गर्यो भने भारतले सीमा अतिक्रमण गरेको विरोधमा पनि नेकपाले देशव्यापी अभियान चलायो । यसैबिच नेकपामाथि लगाएको प्रतिबन्धको विरोध गर्दै र राष्ट्रघाट, जनघात, राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विभिन्न २२ दलले आन्दोलनका कार्यक्रम अघि बढाए, जसको कारण सरकारलाई नैतिक दबाब सिर्जना गर्यो । नेपली कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलोपटक चार क्रान्तिकारी पार्टीहरूले रणनीतिक संयुक्त मोर्चा घोषणा गरे र आन्दोलन गरे । नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ को वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबिच संयुक्त मोर्चा बन्यो ।

यसैबिच नेपालको सीमा अतिक्रमणको विषय तातिरहेको बेला भएको भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणको पनि नेकपालगायत २२ राजनीतिक दलहरूले विरोध गरे । २०७७ को मंसिर ८ गते नेकपाले पार्टी पुनस्र्थापना दिवस विभिन्न कार्यक्रम गरी भव्यरूपले मनायो भने निकै कडा प्रतिबन्धका बिचमा नेकपाका महासचिव विप्लवले रातोखबरलाई भीडीयो अन्तर्वार्ता दिए । उनले जनता तयार भए क्रान्तिको स्तरलाई जुनसुकै स्तरमा उठाउन पनि तयार भएको घोषणा गरे । प्रतिबन्धका बिचमा सामना सांस्कृतिक परिवारका कलाकारहरू रोल्पा, कालीकोटजस्ता आधारबस्तीहरूमा पुगेर कार्यक्रम गरिरहे भने विद्यार्थी संगठनले कोरोना महामारीमा रगतको अभाव हुन नदिन रगत संकलन अभियानमा आफ्ना कार्यकर्ता लगायो ।

प्रतिबन्ध र कोराना कहरकै बेला उपचारमा राज्यले बेवास्ता गर्दा म्याग्दी जनसरकार प्रमुख गजेन्द्र पुनको प्रहरी नियन्त्रणमै निधन भयो र कोरोनाको कारण नेकपाका केन्द्रीय सदस्य मकर गुरुङको पनि निधन भयो । महिला संगठनले फागुन १८ गते श्रमिक महिला दिवस मनाए भने स्टालिन जयन्ती, माओ जयन्तीको अवसरमा जेलभित्र र बाहिर कार्यक्रम गरिए । दमन र प्रतिरोधका बिचमा पनि विभिन्न दिवस मनाइयो । जेलमा माओ दिवस मनाउनेक्रममा नख्खुजेलमा रहेका नेकपाका सचिवालय सदस्य सुदर्शनले नेपालमा क्रान्तिको लागि वस्तुगत वातावरण बनेको भन्दै सबै क्रान्तिकारीहरू एक ठाउँमा आउन आवश्यक भएको बताए ।

यो अवधिमा नेकपाका दर्जनौँ नेता कार्यकर्ताहरू जेल हिरासतमा हालिए र अदालतले १३ औँ पटकसम्म गिरफ्तार गरिएका नेकपाका नेताहरू प्रहरी नियन्त्रणबाट अनिल विरही,उमा भुजेल,ओम प्रकाश पुन, पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भए भने पछिल्लो समय गिरफ्तार परेका नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा भए । यो अवधिमा पटक पटक अदालतले रिहा गरे पनि गिरफ्तार परेका नेकपाका नेता वीरजंग, माइला लामा, भरत बम, चूडामणि वली लगायत सयौँ नेताकार्यकर्ता देशका विभिन्न जेलमा छन् । सरकार नेकपा वार्ताले सार्थकरूप लिएपछि नेकपाका महासविच नवलपरासीको एउटा गाउँबाट सहिद परिवारको हातबाट टीका लगाएर सार्वजनिक भएलगत्तै राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र विप्लव एउटै मञ्चमा उभिएपछि धेरैका लागि यो सरप्राइज भयो । जुन दिनदेखि नोपली राजनीतिले एउटा नयाँ दिशा लियो ।

सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको अवधि २ वर्ष पुग्न केही दिन मात्र बाँकी रहेको बेला सरकारले नेकपामाथिको प्रतिबन्ध फुकायो । नेकपाको तर्फबाट वार्ता टोलीको नेतृत्व गरेका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जनताको चाहनाअनुसार आफूहरू वार्तामा आएको प्रतिक्रिया दिए । उनले आफ्नो पाटीले ३ बुँदे इमानदारितापूर्वक पालना गर्ने बताउँदै सरकारले पनि सहमतिपूर्वक काम गर्नुपर्ने बताए । प्रतिबन्ध फुकुवा भएसँगै नेकपाका नेता कार्यर्ता जनतामा पुगेका छन् । प्रतिबन्धको बेला आधारक्षेत्र अथवा ग्रामीण क्षेत्रमा मात्र जनतामा रहेका नेकपाका नेता कार्यकर्ता गाउँ सहर सबैतिरका जनतामा पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले देश र जनताका पक्षमा लड्दा लड्दै आफ्नो जीवनको बलिदान गर्ने सहिदहरूप्रति उच्च सम्मान गर्दै सहिदका परिवार र घाइतेका सन्तानहरूको अभिभावकत्व ग्रहण गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिका घाइते र सहिद परिवारलाई भेटे र महान् जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म देश, जनता र वर्गका लागि बलिदान गर्ने सहिदका परिवारको दायित्व आफ्नो पार्टीले लिने बताए । प्रतिबन्ध फुकवासँगै नेकपाले सांस्कृतिक प्रतिरोध दिवस, जेलब्रेक दिवस, प्रतिरोध दिवसलगायतका कार्यक्रमहरू गरेको छ भने जवसका भेला सम्मेलन धमाधम भैरहेका छन् । काठमाडौँ, बुटवल, पोखरा, दाङ, नेपालगञ्जलगायतका स्थानमा ठुला ठुला कार्यक्रमहरू भएका छन् ।

प्रतिबन्ध हटेपछि भएपछि रातोखबरलाई दिएको पहिलो अन्तर्वार्तामा विप्लवले बृहत् कम्युनिस्ट एकताको सम्भावना भएको बताएका छन् । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि विभिन्न झुट्टा मुद्दा लगाएर जेलमा राखेका बन्दीहरूसँग महासचिव विप्लवले भेटघाट गरेर मुलुकको परिवर्तित राजनीतिक अवस्थाका बारेमा छलफल गरे । बाहिर सार्वजनिक हुनवित्तिकै हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई भेट्न महासचिव विप्लव नख्खु कागागार पुगे भने वीरजंगलाई भेट्न चितवन र रणवीरलाई भेट्न केन्द्रीय कारागार पुगे । देशका अन्य कारागारमा पुगेर पनि उनले आस्थाका बन्दीहरूलाई भेटे । महासचिव विप्लवले बन्दीहरूलाई जेल मोर्चा सफलतापूर्वक पूरा गरिरहेको भन्दै सरकार नेकपासँग भएको तीनबुँदे सहमति पूरा गर्न लागिरहेको विश्वास पनि व्यक्त गरेका थिए ।

दलाल संसदीय व्यवस्थाले देशलाई पराधीन बनाएको भन्दै यसबाट मुक्त गर्न नेकपाले वैज्ञानिक समाजवाद या संसदवाद भन्ने विषयमा व्यापक बहस चलाउन थालेको छ । उसले आफ्ना राजनीतिक एजेन्डालाई जनतामा व्यापक बहसको रूपमा लैजाने बताएको छ । आजदेखि सुरु भएको नयाँ वर्षमा सरकार नेकपाबिच भएको सहमति पूरा होस् र देशले नयाँ दिशा पक्रोस्, नयाँ वर्ष २०७८ को सबैलाई शुभकामना !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :