अन्धकार छ कैलाली चुरे : लाज लाग्दैन सरकार !

अन्धकार छ कैलाली चुरे : लाज लाग्दैन सरकार !

कैलाली : नेपाल सरकारले सुदूर-पश्चिमका डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने योजनामा राखे पनि त्यस क्षेत्रका बासिन्दा अझैँ पनि अध्यारोमा बस्न विवस छन् ।

के चुरे क्षेत्रमा बस्ने बासिन्दा जनता होइनन र ? के पहाडी क्षेत्रमा बस्ने जनताको मतको कुनै मूल्य छैन । सबैको बनिबनाउ जवाफ आउँछ सबै नागरिक बराबर हुन् । तर चुरे क्षेत्रका अधिकांश बस्तीमा विद्युत पुग्न नसक्दा त्यस क्षेत्रका बासिन्दा अध्यारोमा वस्न बाध्य भएका हुन् । यसको जिम्मेवारी न कुनै जनप्रतिनिधिले लिएका छन्, न कुनै सरोकारवाला निकायले । यसको जिम्मेवारी कसको त ? प्रश्न खडा भएको छ ।

चुनावमा स्मार्ट सिटीका सपना देखाउने जनप्रतिनिधि जनताका समस्या समाधान गर्नेमा असक्षम भएको जन गुनासो बढिरहेको छ । विद्युतीकरणको सुविधाबाट वञ्चित जनता अध्यारोमा बस्नुपर्दा गाउँ-गाउँमा सिंहदरबार भन्ने नारालाई गिज्याइरहेको पुष्टि हुन्छ । सुदूर-पश्चिमको राजधानी तोकिएको क्षेत्र कैलालीको गोदावरी नगरपालिकाका चुरे क्षेत्रमा देश सङ्घीयतामा गएको करिब ३ बर्ष भन्दा बढी भइसक्दा पनि कुनै सरोकारवाला निकायको आँखा जान सकेको छैन । अरु समस्या त यथावत छँदैछन्, तर २१ औँ सताब्दीमा पुग्दा पनि जनता अन्धकारमै बस्नु परिरहेको छ । यसको असर प्रत्येक क्षेत्रमा परेको छ । पक्की सडक, पक्की पुलका कुरा परै छन् तर, जनताले आधारभूत आवश्यकता भित्र पर्ने विद्युतसमेत उपभोग गर्न पाएका छैनन् । भ्रष्ट जनप्रतिनिधिका कारण जनतामा व्याप्त निराशा देखिएको छ । प्रत्येक चोटी सरकार बन्दा नेता र सरोकारवाला निकाय कहाँ धाउदा पनि कुनै सुनुवाई नहुँदा जनता सरकार तथा स्थानीय निकायसँग भरोसा गर्न छोडेका छन् । केन्द्र सरकारसम्म पहुँच छैन स्थानिय सरोकारवाला हाम्रो हातमा छैन भनेर टार्ने काम गर्छन्, हामी कसकोमा जाने अन्योलमा छौँ स्थानीयको गुनासो छ ।

कैलालीका तीन वितरण केन्द्र मध्ये धनगढी वितरण केन्द्र अन्तर्गतको चुरे गाउँपालिकाका वडा नम्बर ३, ५ र ६ मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ र गोदावरी नगरपालिकाको वडा नम्बर १२ चाप, सल्लि, नाइलमा अझैँ बत्ती बल्न सकेको छैन । चुरेगाउँपालिका अन्तर्गत ३, ५ र ६ मा काम भईरहेको र निर्माण सामाग्रीको अभाव नभए यसै बर्ष बत्ति बाल्न सकिने वितरण कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख राकेश शाहले जानकारी दिए । मोहन्याल गाउँपालिका वडा नम्बर ५ क्षेत्रमा अझैँ काम शुरु नै नभएको र गोदावरीको वडा नम्बर १२ को चाप, सल्ली क्षेत्रमा तार तान्न बाँकी रहेकोले ढिलाई भएको शाहको भनाई छ । केही क्षेत्रका लागि टेन्डर खुलेको र अब केही महिनामा काम अगाडि बढ्ने उनले बताए ।

भजनी वितरण केन्द्र अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर २, ३ र ४ मा बत्ति बलेको छैन । घोडाघोडी नगरपालिका क्षेत्रमा सामुदायिक विद्युत सहकारी मार्फत केही स्थानमा विद्युतीकरण भए पनि अझैँ धेरै ठाउँमा अन्धकार नै रहेको जन गुनासो छ । मोहन्याल क्षेत्र पहाडी भू–भाग हुनाले काममा ढिलाई भएको साइट सुपर भाइजर दिवस यादवले बताए ।

यसैगरी टिकापुर वितरण केन्द्र मातहत रहेको मोन्याल गाउँपालिका फल्लेबिसौना र वडा नम्बर ६ र ७ सोल्टामा बत्ति बल्न सकेको छैन । काम चलिरहेको भए पनि कहिलेसम्म बत्ति बाल्न पाइने हो भन्ने अनिश्चित रहेको स्थानीयले बताएका छन् । वर्षा ढिलो सुरु भए केही ठाउँमा यो आर्थिक बर्ष भित्रै बत्ति बाल्न सकिने भए पनि वर्षा छिटै शुरू भए अर्को बर्ष लम्बिने टिकापुर वितरण केन्द्रका साइड सुपरभाइजर छोटे लाल यादवको भनाई छ ।

नेपाल सरकारले सुदूर-पश्चिमका डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई पूर्ण विद्युतीकरणमा राखे पनि कोरोना प्रकोपका कारण सोचे जस्तो काम हुन नसकेको निमित्त प्रमुख शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :