अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न

सुख्रेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले विगतका हरेक क्रान्ति र आन्दोलनमा विद्यार्थीले अग्रणी भुमिका खेलेको भन्दै एकीकृत जनक्रान्तिमा पनि सोही भूमिका खेल्ने बताए । जनक्रान्तिका कथित नायकहरूले आम विद्यार्थी र जनतालाई धोका मात्र दिएको भन्दै धोका दिनेका विरुद्ध पनि आन्दोलनमा उत्रनुपर्ने बताए । साथै उनले वैज्ञानिक समाजवादी शिक्षा र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको आन्दोलनमा विद्यार्थीहरूले अहम् भुमिका खेल्नु जरुरी भएको बताए ।

सम्मेलनमा विशेष अतिथि नेकपाका सुर्खेत इञ्चार्ज ध्रुबले हेर्दा सामान्य लागेपनि गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार निःशुल्क रुपमा राज्यबाट पाउनु जनताको नैसर्गिक अधिकार भएपनि जनताले केही पनि नपाएको बताए । साथै उनले शिक्षा, न्याय, रोजगार लगायतका हरेक कुरामा राज्यले जनतामाथि विभेद गरेको बताए । इन्चार्ज ध्रुवले संसदवाद कि वैज्ञानिक समाजवाद भन्ने बिषयमा जनमत सङ्ग्रहमा जानुपर्ने बताए । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा सुर्खेत जिल्ला सचिव यमराजले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्न विद्यार्थीले अहम् भुमिका खेल्नुपर्ने बताए ।

अखिल (क्रान्तिकारी) का भेरी–कर्णाली संयोजक हर्कबहादुर विकले सडे गलेको विभेदपूर्ण दोहोरो शिक्षा प्रणाली खारेज गरेर वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नु नै आफ्नो सङ्गठनको मुख्य दायित्व रहेको बताए ।

सम्मेलनमा सामना परिवारका कलाकार बिमला विक र साथीहरूले विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । सम्मेलनमा क्रान्तिकारी केन्द्रीय सदस्य प्रेम शाही, भेरी–कणाली सदस्य धनजित महर र लोकेश जोशी, अखिल नेपाल शिक्षक सङ्गठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, अनेमसङ्घ (क्रान्तिकारी) सुर्खेतका संयोजक जयसरा बराल, सहिद परिवार समाज भेरी–कणाली संयोजक ऐना धमला लगायतले सम्मेलनमा शुभकामना मन्तव्य दिएका थिए ।

सोमबार सम्पन्न सम्मेलनले तुलाराज तिरुवाको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । तुलाराज तिरुवाको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन मोहन धामीले गरेका थिए भने स्वागत मन्तव्य वसन्त रोकायले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :