सुदूरका चुरे क्षेत्रमा डढेलो : सरोकार वाला निकाय मुख दर्शक

सुदूरका चुरे क्षेत्रमा डढेलो : सरोकार वाला निकाय मुख दर्शक

धनगढी : सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्राय यो समयावधिमा वन डढेलोको प्रकोप देशै भर अत्याधिक बढ्ने गरेको छ । यसैगरी सुदूर–पश्चिमका वनहरूमा डढेलोले हरियो वन नेपालको धन भन्ने भनाईलाई गिज्याउने दृश्य देखिन थालेका छन् । महिनौँ लगाएर काट्न नसकिने वन रातारात जलेर नस्ट हुँदै छ । तस्करले मास्दै गएको चिन्ता त छँदै छ डढेलोले बिकराल रुप लिँदा पनि सरोकार वाला निकाय मौन रहेको देख्न सकिन्छ ।

डढेलो कसरी लाग्छ ?

प्रायः डढेलो मानिसको लापरवाहीले लाग्ने गर्दछ । कतिपय मानिसहरु चेतना नभएर र कतिपयले चेतना हुँदाहुँदै पनि हेलचेक्र्याई गर्दा डढेलोको समस्या जटिल बन्दै गएको हो । वन क्षेत्रमा चुरोटका ठुटा जथाभावी फाल्दा, वन नजिकका बस्तीहरूमा, घरखेतमा लागाइने आगो वनतिर सल्किदा, वनभोज जाँदा आगो ननिभाई छोड्दा आगलागी भएको पाइन्छ । रोचक कुरा त यो छ कि मानिसहरू नयाँ पालुवा पलाउने, नयाँ घाँस उम्रने, च्याउ उम्रने जस्ता अन्धविश्वासले गर्दा आगलागी गर्ने गरेको पाइएको छ । कोहीकोहीले त जङ्गली वन्यजन्तुको सिकार गर्न पनि वनमा आगलागी गर्ने गरेको खुल्नमा आएको छ ।

डढेलो कति हानिकारक :

मानिसहरूले अनेक नियतले आफ्नो स्वार्थपूर्तिका लागि डढेलो लगाए पनि यसबाट कुनै सकारात्मक असर नहुने विज्ञहरूको भनाइ छ । मुख्यतः डढेलोले वायु प्रदुषण गर्ने, बिउहरू डढ्ने, स-साना बिरुवा मर्ने, ठुला रुखहरूका पात सुक्ने, रुख बृद्धिमा नकारात्मक असर पर्ने, वनको पुनरुत्पादन क्षमतामा ह्रास आउँने, सिमित सङ्ख्यामा रहेका लोपोन्मुख जडिबुटी विनास हुने, माटो गुणस्तरमा गहिरो असर पर्नुका साथै वन्यजन्तुका बच्चा लगायत सबै किसिमका वन्यजन्तुको बिनास हुने अध्ययनले पुष्टि गरेको छ ।

दुई जना डढेलोको सिकार :

सुदूर–पश्चिममा डढेलो नियन्त्रण गर्न जाँदा दुई जनाले ज्यान गुमाएका छ । डोटी शिखर नगरपालिका–८ का स्थानीय खड्कबहादुर भुलले सामुदायिक वनमा लागेको आगो निभाउँन जाँदा ज्यान गुमाउनु परेको हो । साथै बाजुराको बडिमालिका नगरपालिका–३ स्थित घटाल सामुदायिक वनमा लागेको आगो निभाउँन जाँदा थोपी खड्काको ज्यान गएको छ ।

सुदूर–पश्चिममा डढेलोले ३० प्रतिशत जङ्गल जलेर सखाप पारेको प्रदेश वन निर्देशनालयको आँकलन छ । प्रदेश वन निर्देशक हेमराज बिष्टका अनुसार अहिले पर्याप्त जनशक्ति र उपकरणको अभावले वनमा लागेको आगो निभाउँन आफुहरू असमर्थ रहेको बताएका छन् । सामान्य उपकरण किनेर सामुदायिक वनहरूलाई दिएका छौँ तर जनचेतनाको अभावले यस्ता प्रकारका समस्या बढिरहेको बिष्टले बताएका छन् । साथै डढेलो नियन्त्रणमा ज्यान गुमाउँनेहरूका परिवारलाई सम्बन्धित क्षेत्रबाट राहतको व्यवस्थाका लागि पहल भइरहेको छिट्टै राहत पाउँने पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :