गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

धनगढी : दलित मुक्ति मोर्चा, नेपाल गोदावरी नगर समितिको भेला सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा, नेपालका गोदावरी नगर संयोजक गोरख सुनारको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि दलित मुक्ति मोर्चा नेपालका कैलाली संयोजक भानु परियार रहेका थिए भने विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका गोदावरी नगर इन्चार्ज अविनाश देउकर रहेका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भानु परियारले २१ औँ शताब्दीमा पनि मान्छेमाथि जातीय विभेद हुनु, छुवाछुत प्रथा कायमै रहने कुराले मानवीय सभ्यताकै खिल्लि उडाएको बताए । उनले छुवाछुत वर्गीय समाजको विशेषता भएको बताउँदै वर्गविहिन समाज निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरे । वर्गविहिन समाजको निर्माण एकीकृत जनक्रान्तिको माध्यममार्फत वैज्ञानिक समाजवाद स्थापना भए मात्र हुने भन्दै सम्पूर्ण दलित समुदायलाई एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द हुन आव्हान गरे ।

भेलालाई सम्बोधन गर्दै नगर इन्चार्ज अविनाशले जातीय मुक्ति दलित आन्दोलन गरेर मात्र नहुने भन्दै सबै किसिमका विभेद विरुद्ध एकजुट भएर लाग्नुपर्ने बताए । उनले अब दलित, महिला, किसान, मजदुरले अलगअलग ढङ्गले क्रान्ति गरेर सफल नभइने भन्दै सबै किसिमका आन्दोलनको प्रतिनिधित्व एकीकृत जनक्रान्तिले गर्ने उनको भनाई थियो । उनले सरकारले प्रतिबन्ध हटाएपछि आफ्नो पार्टी राजनैतिक एजेन्डा लिएर जनताका बीचमा आइरहेको बताउँदै जनतालाई एकपटक देशको व्यवस्था छान्ने अधिकार दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

भेलाले गोरख सुनारको अध्यक्षतामा १३ सदस्यीय नगर समितिसमेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :