अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा प्याकुरेल

अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा प्याकुरेल

बर्दिया : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा हरिशंकर प्याकुरेल निर्वाचित भएका छन् । दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ सङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २० औँ जिल्ला सम्मेलन !! भन्ने मुल नारासहित अखिल (क्रान्तिकारी) बर्दिया जिल्लाको मधुबन नगरपालिका ढोढरीस्थित सम्पन्न २० औँ जिल्ला सम्मेलनबाट प्याकुरेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।

शुक्रबार सम्पन्न सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा भेरी–कणाली व्युरो संयोजक हर्कबहादुर विक रहेका थिए भने विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला इन्चार्ज विकास रहेका थिए । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हर्कबहादुर विकले नेपालमा दुई प्रकारको शिक्षा प्रणाली रहेको भन्दै शैक्षिक क्षेत्रमा रहेका असमानताको अन्त्य हुनुपर्ने बताए । नेपालका अधिकांश नागरिकले आफ्नो सारा सम्पत्ति बेचबिखन गरेर पनि आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन नसक्ने अवस्था रहेको भन्दै प्राविधिक शिक्षा सर्वसुलभ, गुणस्तरीय र सबै जनताको पहुँचमा हुनुपर्ने बताए । उनले अखिल क्रान्तिकारी देशमा रहेका सबै खाले असमानताको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने संघर्षको नेतृत्व गरिरहेको दाबी गर्दै सबै विद्यार्थीलाई संगठनको झण्डामूनि गोलबन्द हुन अनुरोध गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै विशिष्ट अतिथि तथा नेकपा बर्दिया इन्चार्ज विकासले दलाल संसदीय व्यवस्थाका कारण देशमा अस्थिरता, भ्रष्टाचार, कालोबजारी, महङ्गी बढिरहेको बताउँदै यसको अन्त्यका लागि सम्पूर्ण जनतालाई एकजुट हुन अनुरोध गरे । विद्यार्थी शिक्षित र सचेत वर्ग भएको भन्दै यसको नेतृत्व विद्यार्थी सङ्गठनले लिनुपर्ने उनको भनाई थियो । यस्तै राष्ट्रिय जागरण मञ्चका केन्द्रीय प्रतिनिधि देवकला अधिकारी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रेम शाही, नेकपा मधुवन नगर इन्चार्ज केशरसिंह, गुलरिया नगर इन्चार्ज धर्ती लगायतका अतिथिहरूले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनले हरिशंकर प्याकुरेल अध्यक्ष, सन्तोष कार्की उपाध्यक्ष, नवराज विक सचिव, बलराम भण्डारी सह–सचिव, ममता भण्डारी कोषाध्यक्ष, प्रेम ओली, रमेश प्याकुरेल, मञ्जु नेपाली, मकर कडायत, लक्ष्मण मल्ल, पुर्णिमा सुनार, राजविक्रम बोहरा, सलमान कुरेसी, विपिन भारती, वसन्ता रोकाया, रोहित थारु, हिमाल भण्डारी, फिरोचन थारु, मञ्जु विक, राहुल गुरुङ, रेणुका थापा सदस्य रहेको २१ सदस्यीय समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष प्याकुरेलले जानकारी दिए । उनले बर्दिया जिल्लाका थारु, मुस्लिम, जातिजनजाति र अल्पसङ्ख्यक समुदायका आर्थिक अवस्था कमजोर भएर विद्यालयसम्म पुग्न नसकेका विद्यार्थी भाइबहिनीहरूलाई पठनपाठनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :