पत्रकार महासङ्घको निर्वाचन र जनपक्षीय पत्रकारिता

पत्रकार महासङ्घको निर्वाचन र जनपक्षीय पत्रकारिता

आज देशभर नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनको निर्वाचन भइरहेको छ । नेपालका पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घले यसअघि २५ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ । नेपालको जनपक्षीय आन्दोलनमा यस क्षेत्रले निर्वाह गरेको भूमिका आफ्नै स्वत्वमुताविक छँदै छ तर बदलिँदो परिस्थितिमा यसले आफ्नो पुरातन स्वभावमा रूपान्तरण गर्न नसकिरहेको यथार्थबारे आज गम्भीर बहस भइरहेका छन् । जनयुद्ध, विभिन्न समयमा भएका जनआन्दोलन र पछिल्लो चरणमा भइरहेको एकीकृत जनक्रान्तिमा नेपालका पत्रकारहरूले निर्वाह गरेको भूमिका गम्भीर समीक्षाको विषय बनेका छन् । नेपाल पत्रकार महासङ्घको नीति, नेतृत्व, सङ्गठन र कार्यप्रकृतिबारे विभिन्न कोणबाट विषय उठेका छन् । पत्रकार महासङ्घको २६औँ निर्वाचन र यसको जनपक्षीयकरणसम्बन्धी स्थूल धारणा बनाउनु आजको आवश्यकता हो । समकालीन नेपाली पत्रकारिता क्षेत्रको आवश्यकताअनुरूप नीति र नेतृत्वको निर्माणमा गम्भीरताका साथ लाग्नु आज सम्पूर्ण पत्रकारहरूको दायित्व बन्न पुगेको छ ।

लेखक : खेम थपलिया

आजको मिडिया प्रचलित शासनअनुकूल सोच्ने र लेख्ने बनाउने हिटलरको सञ्चारमन्त्री जोसेफ गोयबल्सको पथभन्दाबाहिर जान सकेको छैन । यसको करण दलाल पुँजीपति र सञ्चार जगत्को अन्तरङ्ग सम्बन्ध रहनु हो । समकालीन नेपाली राजनीति पनि धु्रबीकरण, सत्तारुढका शोषण तथा लुटका अथाह शृङ्खला एवम् वैदशिक हस्तक्षेपका नयाँ–नयाँ आयामलाई मुखरित गर्दै अघि बढिरहेको छ । सामाजिक फासिवादी सत्तालाई कडा टक्कर दिंदै यतिखेर जनयुद्धको मूल लक्ष्य भेदनका साथ महान् सहिदहरूका सपना पूरा गर्न प्रतिवद्ध नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको सार्थक क्रियान्वयनको दिशामा अघि बढिरहेको छ । यस्तो बेला भइरहेको नेपाल पत्रकार महासङ्घको निर्वाचनबारे मिडियाबारे चर्चा गर्नु आवश्यक हुन्छ । मिडिया सबैका लागि पहिलो प्राथमिक विषय बनेको छ । यतिखेर समाजवादी क्रान्तिकालमा जनपक्षीय मिडियाकर्मीले निर्वाह गरेको भूमिका विशेष स्मरणीय छ । नेपालको वर्गसङ्घर्षको खासखास चरणमा नेतृत्वदायी स्तरबाट विशेष योगदान हुँदै आएको छ । कृष्ण सेनलगायत दुईदर्जनभन्दा बढी क्रान्तिकारी पत्रकारहरूको बलिदानीपूर्ण भूमिकाले हामीलाई निरन्तर प्रेरणा दिइरहकै छ ।

जनपक्षीय मिडियाको काम परिवर्तनको पक्षमा सूचना प्रवाह गर्नु हो । यस्तो मिडिया नै जनपक्षीय मिडिया हुन्छ, जसले वर्गविभाजित समाजमा श्रमजीवी तथा उत्पीडित वर्गपक्षधरताको वकालत गर्दछ । यो वर्गसङ्घर्षको विविध प्रक्रियाका समष्टिगत सूच्यता हो । विश्वका सबै सूचना वर्गसङ्घर्षका घटना प्रक्रियासँग सम्बन्धित छन् । सूचनाको सही पहिचान गर्नु र त्यसलाई सही स्थानसम्म सही तरिकाले सम्प्रेषण गर्नु निश्चय पनि धेरै महत्वपूर्ण कुरा हो । निरन्तर चलिरहने वर्गसङ्घर्षमा आफ्नो वर्गपक्षधरताका आधारमा सूचनाको सही छनोट गर्दै क्रान्तिकारी अभियानको हितार्थ सूचना–सञ्चार गर्नु क्रान्तिकारी मिडियाकर्मीको मोठ अभिव्यक्ति हो । तसर्थ, क्रान्तिका गौरवशाली इतिहासको आलोकमा वर्तमानलाई जनपक्षीयकरण गर्नु र भविष्यमा जनताको मुक्ति अभियानको सफलताका लागि प्रगतिशील शक्तिहरूको पक्षमा सूचनाहरूको प्रवाह गर्नु क्रान्तिकारी मिडियाकर्मीको मूल दायित्व हो । लेनिनले भन्नुभएजस्तै पत्रकारिता प्रचार र सङ्घर्षको मात्र साधन होइन, सङ्गठन गर्ने माध्यम पनि हो । यसको शक्ति र प्रभावकारिताबारे माओले सूचना र सञ्चारक्षेत्र क्रान्तिको अग्रीम चौकी हो भनेर उतिबेलै स्पष्ट गरिसक्नुभएको हो । नेपोलियनले “म चारहजार दुश्मन सैनिकका सङ्गीनहरूभन्दा चारवटा मेरा विद्रोही अखबारसँग डराउँछु,” यसै भनेका थिएनन् ।

समाज विकासको तीव्रतासँगै सूचना–सञ्चारको महत्व पनि बढ्दै गएको छ । आदिम कविलाई युगदेखि भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी युगसम्म सूचना–सञ्चारको भूमिका क्रमिक रूपमा बढिरहेको देखिन्छ । कर्पोरेट पुँजीवादी विस्तार मुखी विश्वप्रणालीले यसको सर्वाधिक दोहन गरिरहेको छ । आज साम्राज्यवादी सिद्घान्तकारहरूले वर्तमानलाई सूचना–सञ्चारको युग भन्दै सूचनाको दोहनका माध्यमबाट पुँजीवादी शक्तिकेन्द्रको सवलीकरणमा जोड गरिरहेका छन् । पुँजीवादले एकै सिक्काका दुई पाटाका रूपमा सञ्चार–माध्यमलाई सर्वाधिक उपयोग गरिरहेका छन् । पुँजीवादले मुनाफा आधिक्यीकरण तथा शीघ्र असुल गर्न सूचना– सञ्चारको भरपूर उपयोग गरिरहेछ । उनीहरूले साम्राज्यवादी सूचना भूमण्डलीकरण नै खडा गरेका छन् । यसविरुद्घ सङ्घर्ष गर्ने तागत भर्न सर्वहारा वर्गको सूचना–सञ्चारको सशक्तिकीकरण अनिवार्य शर्त हो । आज मिडियाकर्मीको भूमिका कैयौँगुणा बढेको छ । साम्राज्यवादको अर्को नाम युद्घ–पुँजीवाद हो । उसले सूचना–सञ्चारलाई आफ्नो अन्यायपूर्ण युद्घमा प्रचारयुद्घको सशक्त हतियारको रूपमा प्रयोग गर्दै आइरहेको छ । सर्वहाराले पनि सूचना– सञ्चारलाई न्यायपूर्ण युद्घको हतियारको रूपमा प्रयोग गर्न आवश्यक छ । बहुसङ्ख्यक जनसमुदायको प्रतिनिधित्व गर्ने सर्वहाराले सत्य, तथ्य र न्यायको प्रसार गरेर प्रतिक्रिवादीको दुष्प्रचारलाई चिर्ने हतियारको रूपमा उपयोग गर्दछ, जसमा क्रान्तिकारी मिडियाकर्मीको जनपक्षीय चातुर्य महत्वपूर्ण हुन्छ ।

महाभारतको लडाइँमा कृष्णको चतुर सञ्चारनीतिका कारण पाण्डवको जित सम्भव भएको थियो । थोमस जेफर्सनले भनेका थिए, “सरकार ढल्न सक्छ तर पत्रकारिता ढल्दैन ।” भनिन्छ, एक पत्रकार मारियो भने ऊसँग हजारौँ सत्यता पनि सँगसँगै मारिन्छन् । नेपालका जनपक्षीय पत्रकारहरू फासिवादी सत्तासित लडिरहेका छन् । साम्राज्यवादको थुक चाटेर व्यक्तिगत स्वतन्त्रताको बहानामा राष्ट्रविरूद्ध पत्रिका पृष्ठ र अनलाइन पोर्टल रङ्ग्याउने दलाल पत्रकारहरूलाई अहिले रामराज्य भएको छ । यो सत्ता क्रान्तकारी देशभक्त पत्रकारलाई जेल–हिरासतमा थुनिरहेछ, आस्थाका आधारमा बिनाकारण बिनाप्रमाण कलमजीवी एवम् बुद्धिजीवीहरूमाथि धरपकड, हस्तक्षेप, अपमानजनक व्यवहार गरिरहेछ । यो सत्ता भ्रष्टहरूको कर्तुत भण्डाफोर गरेकै आधारमा श्रमजीवी तथा क्रान्तिकारी पत्रकारको कलम थुतेर हातमा हतकडी लगाउँछ ।

नेपाल पत्रकार महासङ्घको निर्वाचनमा भाग लिँदै गर्दा पत्रकारहरूले धेरै कुरामा सोच विचार गर्न आवश्यक छ । सूचनाको निर्वाध प्रवाहबिना स्वाधीनता बाँच्न सक्दैन । स्वाधीनता, सामाजिक उत्तरदायित्व, नैतिक आचारण अन्योन्याश्रित विषय हुन् । जनताद्वारा निर्मित र नियन्त्रित सूचना तथा सञ्चार समृद्धिको आधार बन्दछ ।

मिडिया यस्तो क्षेत्र हो, जसले पत्रकारलाई पहिलो दर्शक बनाउँछ । मिडिया इतिहासको खेस्राको रूपमा पनि स्थापित छ । नेपालमा दलाल सत्ताले साम्राज्यवादी टेकोपोडोमा सूचना–आतङ्क मच्चाइरहेको छ । अबको विश्वमा ‘सूचनायुद्ध’ नजितीकन ‘राजनीतिक युद्ध’ जित्न कठिन हुँदै गएको छ । हामीले एक्काइसौँ शताब्दीको क्रान्तिको आवश्यकतालाई पूरा गर्न सक्नेगरी मिडिया परिचालन गर्नुपर्दछ । साम्राज्यवादी लुट, हस्तक्षेपमा आधारित उत्तर–आधुनिकतावादी मिडियाकरणका विरुद्ध सशक्त प्रतिवाद गर्न जनपक्षीय मिडियाकर्मीमा एकताको नितान्त खाँचो छ । उत्तर–आधुनिकतावादको शिरोच्छेदन गरेर मात्र माक्र्सवादको सही रक्षा र प्रयोग हुन सक्तछ । विश्वमा भूमण्डलीकृत साम्राज्यवाद रहेसम्म मानवसत्ताको भविष्य उज्यालिन सक्तैन । नेपालमा एड्गर स्नो र आग्नस स्मेल्डीजस्ता गतिवान् मिडियाकर्मी चाहिएको छ । नेपाली जनयुद्धको विश्वव्यापी प्रचार गर्न अमेरिकी पत्रकार ली अर्नेस्टोको भूमिका निकै माथिल्लो स्तरमा रहेको छ । जनयुद्धद्वारा नेपालका ग्रामीण इलाका बनेका येनानको प्रचारले मनोवैज्ञानिक रूपमै ठूलो काम गरेको थियो । जनयुद्धकालीन मिडियाहरू आज करिब–करिब अस्तित्वविहीन अवस्थामा छन् । त्यतिखेरका पत्रकारहरू आज करिब–करिब ओझेलमा छन् । निरन्तर क्रान्तिको आलोकमा मिडिया र मिडियाकर्मीहरूको सङ्घर्षशील यात्राको निरन्तरता जरुरी छ ।

लेनिनले जनपक्षीय पत्रकारितालई प्रचारकर्ता, आन्दोलनकर्ता, राजनीतिकर्ता र सङ्गठनकर्ताको रूपमा चर्चा गरेका छन् । पत्रकार/पत्रिका/सञ्चार– माध्यमले एकैसाथ प्रचारकर्ता, राजनीतिकर्ता, आन्दोलनकर्ता र सङ्गठनकर्ताको काम गर्ने भएकाले यसलाई एकीकृत कमान्ड भनिएको हो । क्रान्तिकारी मिडियाकर्मीले विचारधारात्मक काम गरिरहेका हुन्छन् । आन्दोलन र सङ्गठनबाट अलग भएर गरिने प्रचार निरुद्देश्य र निष्प्रभावी हुन्छ । प्रतिक्रियावादीहरू वर्गपक्षधरता र सामाजिक दायित्वको निर्वाहलाई मिसन भनेर उपहास गर्दछन् । वर्गीय प्रतिवद्घता र श्रममा आधारित व्यावसायिकताबिचको भीमकाय पर्खाल भत्काउन क्रान्तिकारी पत्रकारले ठोस परि स्थितिको ठोस विश्लेषण गर्दै आफ्ना सूचनाकर्मलाई चुस्तदुरुस्त बनाउनैपर्दछ । मुख्य कुरा वर्गीय दृष्टिकोणमा प्रस्ट रहने र क्रान्तिकारी विज्ञानलाई दर्होसित पक्रने कुरा नै हो ।

माओले भनेका छन्, “क्रान्तिकारी पत्रकारका कलमहरू सजीव, प्रस्ट र तिख्खर हुनुपर्छ । मसिनो स्वरमा गुनगुनाउने र कुरा चपाउने गर्नुहुँदैन । हामीले जनतालाई सत्य चिन्ने शिक्षा दिन र तिनको आफ्नै मुक्तिका लागि लड्न तिनलाई ब्युँझाउन चाहेका हुनाले हामीलाई लडाकु शैलीको खाँचो पर्छ । भुत्तेचक्कुले बैरीको रगत बगाउन सक्दैन ।” भनिन्छ, संसारमा सबैभन्दा सुन्दर कुरा जनताको स्वतन्त्रता हो । माओले कसैको दासताबाट स्वतन्त्रता पाइँदैन भन्नुभएको छ । जनता र सत्यका पक्षमा दृढतापूर्वक खडा हुने क्रान्तिकारी स्पिरिट आजको क्रान्तिकारी पत्रकारिताको आवश्यकता हो । जनसमूहलाई शिक्षा दिनका लागि मिडियाकर्मीहरूले सबभन्दा पहिले जनसमूहबाट सिक्नुपर्छ । जनयुद्ध रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमणसम्म पुग्दै गर्दा क्रान्तिकारी पत्रकारहरूले त्यसको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिबेला क्रान्तिकारी पत्रकार हरूले युद्धमोर्चामा सशरीर उपस्थित भएर वस्तुगत मूल्याङ्कनका साथ सत्य र तथ्यपरक सूचना सम्प्रेषण गरेका थिए । सूचना साम्राज्यवादविरुद्ध आवाज बुलन्द गर्दै, जनयुद्धको जटिलताका बिचमा दुःख, कष्ट र खतरासँग जुध्दै सत्य, तथ्य र जनपक्षीय पत्रकारिताको नयाँ आन्दोलन सृष्टि गर्न तत्कालीन सञ्चार–माध्यमले ठूलो भूमिका निभाएका थिए । पुरानो सत्तापक्षीय सञ्चारको नकारात्मक प्रचारलाई चिर्दै जनपक्षीय सञ्चारको सकारात्मक पहलको कूल योगफलका रूपमा जनयुद्धको विकास थियो । क्रान्तिकारी सूचना–सञ्चार क्षेत्रले जनयुद्धमा विजयका निमित्त जनसमुदायलाई उत्प्रेरित गर्ने विशिष्ट भूमिका खेलेको थियो ।

विश्वमा क्रान्तिकारी आन्दोलन सफल तुल्याउन पत्रकारिताको भूमिका अत्यधिक रहँदै आएको छ । भनिन्छ, आधा युद्ध सञ्चारको सहायताले जितिन्छ । क्रान्ति र प्रतिक्रान्ति दुबैका निमित्त जनमत निर्माणको ठूलो महत्व हुन्छ । सञ्चारक्षेत्रले जनमत निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ । यसले जनतामा मनोबल, आत्मबल, आत्मविश्वास र क्रान्तिप्रतिको विश्वस्ततालाई सवल र सहज बनाउँछ । नेपालका सबै किसिमका आन्दोलनहरूको उठान, विकास र विस्तारमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपालको सञ्चार क्षेत्रमा रहेको दलाल र विदेशी एकाधिकार पुँजीपतिहरूको बर्चस्वलाई भत्काउँदै त्यहाँभित्रका देशभक्त र प्रगतिशील शक्तिसँग एकता कायम गरेर क्रान्तिकारी आन्दोलनलाई अग्रगति दिन क्रान्तिकारी मिडियाकर्मीहरूले विशेष भूमिका निर्वाह गर्नुपर्दछ । प्रतिक्रियावादीहरूका विभिन्नखाले अत्याचारहरूको भण्डाफोर गर्दै क्रान्तिको ज्वारभाटा सिर्जना गर्न र नयाँ संस्कृतिलाई जीवनवादी बनाउन पनि क्रान्तिकारी पत्रकारहरूको विशेष भूमिका रहने कुरा स्वतःसिद्ध छ । जनयुद्धका नायकहरूमा आएको भयानक विचलन र जनताका महान् सपना कुनै पनि हालतमा पूरा गर्नुपर्ने यतिबेला संवेदनशील र निर्णायक चरण पनि हो । यतिबेला विचारधात्मक उचाइका साथ आन्दोलनलाई नयाँ ठाउँमा पुर्याउन क्रान्तिकारी मिडियाकर्मीहरूले निकै ठूलो मिहिनेत गर्नुपर्नेछ । वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न क्रान्तिकारी मिडियाकर्मीको विशाल पङ्क्ति आजको आवश्यकता हो ।

नेपाल पत्रकार महासङ्घको निर्वाचनमा भाग लिँदै गर्दा पत्रकारहरूले धेरै कुरामा सोच विचार गर्न आवश्यक छ । सूचनाको निर्वाध प्रवाहबिना स्वाधीनता बाँच्न सक्दैन । स्वाधीनता, सामाजिक उत्तरदायित्व, नैतिक आचारण अन्योन्याश्रित विषय हुन् । जनताद्वारा निर्मित र नियन्त्रित सूचना तथा सञ्चार समृद्धिको आधार बन्दछ । आज ठुला लगानीका सञ्चारक्षेत्रमा व्यापारीकरण र भ्रष्टीकरण व्याप्त छ । यहाँ अवैधानिक, अनैतिक र अपारदर्शी रूपमा बाह्य लगानी भित्रिरहेको छ । यहाँ सम्पादकीय स्वतन्त्रता खोसिएको छ । यहाँ विदेशमा गरेर मिडिया चलाइएको छ । वेपर्वाह अन्तर्राष्ट्रिय पुँजीको प्रवाह र दलालहरूका कारण आज नेपाली जनपक्षीय मिडिया प्रताडित छन् । यो क्षेत्र नवऔपनिवेशिकता र बहुराष्ट्रिय कम्पनीको हालीमुहाली छ । नेपालमा भारतीय दूतावासले विज्ञापनको वितरणको तजबिज गर्दछ । बहुराष्ट्रिय कम्पनीको विज्ञापनमार्फत् दूतावासले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्दै आएको छ । यसकारण जनपक्षीय मिडियाको आन्तरिक सवलीकरणको आवश्यकता एउटा पाटो छ भने अर्कोतिर देशलाई बाह्य हस्तक्षेपबाट मुक्त पार्ने दायित्व पनि छँदै छ । यसकारण हामीले जनपक्षीय पत्रकारिताको आन्तरिक सवलीकरणमा योगदान दिन सक्ने नेतृत्व चुन्नुपर्दछ ।

समकालीन नेपाली राजनीति गम्भीर संकटबाट गुज्रिरहेको छ । समयले नयाँ विश्व व्यवस्थाको माग गरिरहेको छ । नेपाली जनताले वैज्ञानिक समाजवादी व्यवस्थाको माग गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई घनीभूत पार्दै लगिरहेको छ । यस्तो बेला भइरहेको नेपाल पत्रकार महासङ्घको निर्वाचन विशेष बन्न पुगेको छ । यस्तो विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा हामीले विशेष र परिपक्व भूमिका निर्वाह गर्न आवश्यक छ । मिडियाकर्मीले उज्यालोतिरको यात्रा तय गर्नुपर्दछ । गौरवशाली इतिहासले महान् सम्भावनातर्फ लम्कन प्रेरित गर्दछ । पत्रकार मित्रहरू, पत्रकार महासङ्घ श्रमजीवीहरूको संस्था भएकाले त्यसमा श्रमजीवीहरूकै नेृतत्व स्थापित गर्न लागौँ । राष्ट्रको हितमा मिसन पत्रकारितालाई अघि बढाऔँ । पत्रकारिताको क्षेत्रमा पेसा र सुरक्षाको ग्यारेन्टी गर्न एवम् पत्रकारिता क्षेत्रको समग्र विकासमा राज्यलाई घचघच्याउन असल नेतृत्व छनौट गरौँ । विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई अक्षुण्ण राख्न कोही कसैसित पनि कठोर सङ्घर्ष गर्न तयार होऔँ । पत्रकार प्रतिरोधको प्रतीक हो; तावेदारी र लम्पसारवादी होइन ।

२५ चैत, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :