गीत–सङ्गीतको समकालीनता

गीत–सङ्गीतको समकालीनता

आमुख

जर्मन सङ्गीत चिन्तक हान्स आइस्लरको प्रश्न छ, ‘तपाईंको विचारमा सङ्गीतको लक्ष्य के हो ? र एक सङ्गीतकारका रूपमा तपाईं कसका लागि सङ्गीत प्रस्तुत गर्नुहुन्छ भन्ने सवालको प्रश्न के दिनुहुन्छ ?’, (मार्क्सवाद र सङ्गीत, पृ. ९) । गीत–सङ्गीतको समकालीनताको बहसमा हान्स आइस्लरका यी प्रश्न निकै महत्त्वपूर्ण छन् । निश्चय पनि अनुभूतिका आआफ्नै अभिव्यक्ति हुन्छन् । अनुभूतिका अनेकन् अभिव्यक्तिमध्ये गीत–सङ्गीतमा रागात्मक अभिव्यक्तिको विशेष महत्त्व छ । लययुक्त मधुर ध्वन्यात्मक निर्मितिबाट सङ्गीत जन्मिन्छ । प्राचीनकलामा गीत–सङ्गीत श्रमको सामूहिक प्रक्रियामा निकालिएको सुस्केरा–ओजपूर्ण लयात्मक आवाज थियो । भौतिक आवश्यकता पूर्तिका निमित्त जन्मिएको गीत–सङ्गीत कालान्तरमा लोकजीवनका दुःख–सुखसँग पूरक हुँदै आयो । लिपिको विकास, लेख्य साहित्य र कलाको जन्म नहुँदै सामूहिक रूपमा मौखिक लोकगीत–सङ्गीतको रचना भइसकेको थियो । मान्छेले आफ्नो दुःख, आक्रोश र आकाङ्क्षाजन्य सामूहिक आवेग–अनुभूतिलाई गीत–सङ्गीतका माध्यमबाट व्यक्त गर्दै आएका छन् । नेपालमा राजतन्त्रको अन्त्यपछि पनि सामन्तवादी सांस्कृतिक अवशेष (गीत–सङ्गीत पनि) रहिरहेका छन् । सत्तासीनहरू जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न उद्यत छन् । परिवर्तित राजनीतिलाई संसद्‌वादीहरू उल्ट्याउन (पश्चगामी शक्ति जन्माउन) दुष्प्रयत्नमा छन् । दलालहरूले सामाजिक–सांस्कृतिक मूल्यलाई विद्रूपीकृत गरिरहेका छन् । ठीक यही परिवेशमा श्रमजीवी तथा उत्पीडित जनताको एक मात्र आशाको केन्द्र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र उसको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति बन्न पुगेको छ । समकालीनतामा श्रमजीवी तथा उत्पीडित जनताको प्रतिक्रियावादी राज्यसत्तासित सघन सङ्घर्ष चलिरहेको छ । यस्तो समयमा हामी गीत–सङ्गीतको अन्तर्वस्तुसम्बन्धी विमर्श गरिरहेका छौँ । दलाल पुँजीवादी (सामन्तवादी) आर्थिक आधारमा टिकेको सांस्कृतिक संरचनाले आफूलाई चिरस्थायी बनाउन यतिबेला विभिन्न सांस्कृतिक तिकडम अपनाइरहेको छ । उसले सत्ताका सबै अवयवसँगै गीत–सङ्गीतलाई पनि अत्यधिक उपयोग गरिरहेको छ । हामीले तिनका विरुद्ध क्रान्तिकारी गीत–सङ्गीतको शिविर खडा गर्नु छ । यही नै समकालीन क्रान्तिकारी गीत–सङ्गीतसम्बन्धी विमर्शको अन्तर्य हो ।

समकालीनतामा हाम्रा गीत–सङ्गीत

समकालीनतामा गीत–सङ्गीतका अन्तर्वस्तु व्यापक सरोकारका विषय हुन् । आन्दोलनमा यसको अन्तर्वस्तुको चयन गहन कुरा हो । क्रान्तिकारी आशावाद जगाउने गीत–सङ्गीत समकालीन आवश्यकता हो । यो राष्ट्रियता, जनजीविका र वैज्ञानिक समाजवादी–साम्यवादी आदर्शद्वारा लछप्पै भिजेको हुनुपर्दछ । यो सामन्ती, पुँजीवादी र साम्राज्यवादी संस्कृतिको विरोध एवम् जनसंस्कृतिको पक्षपोषण गर्ने, जनताको मौलिक सांस्कृतिक एकता–सद्भावको रक्षा गर्ने हुनुपर्दछ । यसले जनयुद्ध–जनआन्दोलन एवम् सबै किसिमका जनसङ्घर्षमा जनताद्वारा प्रदर्शित वीरता, साहस, बलिदान र शौर्यको प्रचार गर्नुपर्दछ । यो सहिद, बेपत्ता परिवार एवम् घाइते योद्धाको योगदान र मनेविज्ञानको स्पर्श हुनुपर्दछ । यो सम्पूर्णखाले भेदभाव, रूढि एवम् पुरातन, अवैज्ञानिक चालचलन, रीतिरिवाज, चिन्तनको विरोध एवम् वैज्ञानिक, अग्रगामी र सांस्कृतिक चिन्तनको पक्षपोषण गर्ने हुनुपर्दछ । लोकसङ्गीतलाई वैचारिकीकरण, आधुनिकीकरण र क्रान्तिकारीकरण गर्नुपर्दछ ।

यतिबेला गीत–सङ्गीत बजारको मालमा परिणत हुँदै गएको छ । जबरजस्ती भ्युअर्स बढाउन जेलाई पनि गीत बनाउने, सङ्गीत भर्ने काम तीव्रतामा छ । दलाल पुँजीवादले जबरजस्ती चर्चामा ल्याउन अनेक हतकण्डा अपनाइरहेछ । पुँजीवादीहरू विभिन्न निहुँमा समुदायलाई उनीहरूकै गीत–सङ्गीत घोकाइरहेछन् । जनतालाई दास बनाउने मनसायले प्रतिक्रियावादी गीत–सङ्गीतको प्रसार गरिएको छ । आजको पुस्ता मन परेमा आँखा चिम्लेर लाग्ने र र मन नपरेमा फर्किएर पनि नहेर्ने बन्दैछ । ज्ञानप्रसारमा यो नितान्त गलत तरिका हो । शास्त्रीय–पुँजीवादी गीत–सङ्गीतबाट गुनिला ग्रहण गर्नुपर्दछ, गुण–दोष नछुट्ट्याईकन कुनै पनि चीजलाई सर्लक्कै लिनु हुन्न । गीत–सङ्गीतबाट देश र जनताको दीर्घसेवीहरू पनि पुँजीवादी भासमा धसिँदै जानु दुःखद् छ । आर्थिकलगायत कुनै पनि प्रलोभनमा परेर जनकलाकारहरूले आफूलाई पुँजीवादी कलाकारहरूको पाउमा पसार्नु हुन्न । पुँजी नराम्रो कुरा होइन तर पुँजीवाद गलत कुरा हो । हरेक वर्गले आफ्नै भाषा बोलिरहेको हुन्छ जसलाई गीत–सङ्गीतले पछ्याइरहेको हुन्छ । हाम्रा गीत–सङ्गीतले आफ्नो पक्षधरता र साझापनलाई स्पष्ट्याउन सक्नुपर्दछ । कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय गीत ‘उठ जाग भोका नाङ्गा’ कम्युनिस्ट–सर्वहाराको साझा भाषा बन्यो जसको आवाजले पुँजीपतिहरू लगलग काँप्छन् । लेनिनले भन्नुभएको छ, ‘जुनसुकै देशको वर्गसचेत मजदुरले, उसलाई जुनसुकै जनताको बनाएको भए पनि, उसले आफूलाई नौलो भाषाविहीन, साथीविहीन, आफ्नो मातृराष्ट्रबाट टाढा महसुस गरे पनि अन्तर्राष्ट्रिय प्रसिद्ध रहनीद्वारा उसले आफैँ कमरेड र साथीहरू पाउन सक्छ ।’

गीत–सङ्गीत कलाको विशिष्ट अभिव्यक्ति हो । हामीले गीत–सङ्गीतका माध्यमद्वारा ‘कला जीवनका लागि’, ‘कला जनताका लागि’, ‘कला परिवर्तनका लागि’ जस्ता मार्क्सवादी कलाचिन्तनको पक्षपोषण गर्नुपर्दछ । सांस्कृतिक क्रूरता र राजनीतिक सङ्कटपूर्ण परिवेशमा हाम्रा गीत– सङ्गीत वैज्ञानिक समाजवादी क्रान्तिको विगुल बन्नुपर्दछ ।

गीत–सङ्गीतको क्षेत्रबाट निरन्तर क्रान्तिको भावधारामा सर्वहारा संस्कृति निर्माणार्थ अभियान चलाउनुपर्दछ । यसले सर्वहारा सांस्कृतिक क्रान्तिको नीति, बाटो र आदर्शलाई आत्मसात गर्नुपर्दछ । पूर्णमुक्तिको चेतनाद्वारा वैज्ञानिक समाजवाद–साम्यवादसम्म पुग्ने आदर्शलाई अवलम्बन गर्दै जनतालाई निरन्तर सकारात्मक सन्देश प्रवाह गर्नुपर्दछ । गीत–सङ्गीत सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अङ्ग हो । सांस्कृतिक कार्यदिशा, सांस्कृतिक अन्तर्विरोध र सांस्कृतिक आन्दोलन परिपूरक छन् । यसले इतिहासलाई वर्तमानसित र वर्तमानलाई सुन्दर भविष्यसित जोड्नुपर्दछ । नेपाली समकालीनता वैज्ञानिक समाजवादी क्रान्तिकालीन समय हो । सांस्कृतिक आन्दोलनलाई राजनीतिक आन्दोलनको विशुद्ध प्रतिलिपिका रूपमा बुझ्नु हुँदैन । समाजको सांस्कृतिक संरचनाको विशिष्टता र मौलिकतालाई भौतिकवादी विश्लेषण गर्नुपर्दछ । सांस्कृतिक आन्दोलन सबैखाले उत्पीडनका विरुद्ध सांस्कृतिक स्तरमा गरिने सङ्घर्ष हो । समग्र सङ्घर्षलाई नयाँ उचाइमा उठाउँदै गीत–सङ्गीतले जनतालाई एकताबद्ध बनाएर आन्दोलनतिर डोहोर्याउनुपर्दछ । यद्यपि सांस्कृतिक सङ्घर्षको जटिलता र दीर्घकालीनता आफ्नो ठाउँमा छ, यसलाई राजनीतिमा जस्तो सुविधा प्राप्त हुँदैन । पछिल्ला दिनमा मध्यमवर्गीय बाहुल्यको वैचारिक प्रतिबिम्बन सांस्कृतिक आन्दोलनमा पर्दै आएको छ । कतिपय स्रष्टाको संलग्नता खास पार्टीसित भए पनि उनीहरूको चिन्तनप्रणाली त्यसभन्दा निकै पृथक देखिन्छ । कतिपयले पार्टीगत रूपमा आफूलाई कुनै ‘कम्युनिस्ट’ पार्टीसित जोडे पनि तिनले प्रगतिशीलताकै आवरणमा हाकाहाकी निर्वर्गीयताको वकालत गरिरहेका हुन्छन् । गीत–सङ्गीतको आवरणमा उत्तरआधुनिकतावाद एवम् सामाजिक फासिवादको सेवा गरेका उदाहरण अनगिन्ती छन् !

पछिल्ला चरणमा नयाँ–नयाँ जनगीत–सङ्गीत सार्वजनिक भइरहेका छन् । कतिपय गीति–सिर्जनामा शब्द एकातिर र सङ्गीत अर्कैतिर हुन्छ । कतिपयमा गीत वीररसमा, सङ्गीत करुणरसमा भएका छन् । अझ गीत–सङ्गीतअनुसार नृत्यकारहरूका शरीरको चालढाल, खुट्टाको गति पटक्कै मेल खाएको देखिँदैन । जनपक्षीय गीतहरूको कोरस संरचना पटक्कै मेल खाएको देखिँदैन । गीत जनवादी हुने तर सङ्गीत पुँजीवादी हुने खतरा झन् बढ्दो छ । गीत साहित्य त हो तर यो सङ्गीतमा उनिएपछि अर्कैमा रूपान्तरित हुन्छ । सङ्गीत चिन्तक चाओ हुवाले भन्नुभएको छ, ‘सङ्गीतको अभिव्यक्ति साहित्यको भन्दा फरक हुन्छ । सङ्गीतले लय, ताल र माधुर्य दृश्यलाई जगाउन बिल्कुलै सादा तरिकाले मर्मज्ञतापूर्वक कुटिलतापूर्वक रचनाकारको विश्वदृष्टिकोण, विचार र भावनालाई अभिव्यक्त गरेर लय, ताल र माधुर्यको प्रयोग गर्दछ । यसले एउटा भावनाको सन्देश फैलाउँछ । तर कुनै पनि हालतमा यसरी अभिव्यक्त वर्ग, अन्तर्वस्तु, विचार र भावना कहिल्यै पनि निराकार, अबोधगम्य कल्पना हुन सक्दैन । तिनीहरूलाई ज्ञानसम्बन्धी माक्र्सवादी सिद्धान्त र वर्गविश्लेषणको तरिकालाई प्रयोग गरेर ग्रहण गर्न सकिन्छ ।’

गीत–सङ्गीत सामन्ती संस्कृति, अभिजात्य प्रवृत्ति, संस्कारजन्य कुप्रथाजस्ता गलत सांस्कृतिक प्रभावका विरुद्ध उभिनुपर्दछ । जनताको जीवन–व्यवहारमा गडेको धर्म, पुराना रीतिरिवाज, अन्धविश्वास र कुसंस्कारलाई क्रमशः भण्डाफोर, रूपान्तरण र निषेधीकरणमा लैजानुपर्दछ । समकालीन समाजमा सामन्ती–पुँजीवादी संस्कृतिलाई प्रोत्साहन दिने गीत–सङ्गीत घन्किरहेकै छ । अझ विकसित सञ्चारको सहयोगले समाजमा उत्तरआधुनिकतावादी संस्कृति ह्वार्रह्वार्ती विषवमन गरिरहेछ । दलाल पुँजीवादी सत्ताले दर्शनमा शून्यवादी, राजनीतिमा विखण्डनकारी र व्यवहारमा उपभोक्तावादी गीत–सङ्गीतलाई प्रश्रय दिइरहेछ । यसका माध्यमबाट ‘पुँजीवादी संस्कृतिको श्रेष्ठता’ को प्रसार गराइएको छ । आज सञ्चारका विभिन्न माध्यम, चलचित्र, टीभीहरूमा जनताका गीत–सङ्गीतले प्रसार हुन पाउँदैन । सत्तामा दलाल पुँजीवाद हाबी भएकाले उसका विभिन्न सञ्चार संरचनामा उसैका गीत–सङ्गीतले मात्र स्थान पाउनु अनौठो कुरा भएन । गीत–सङ्गीतको सङ्घर्ष पनि सत्तासङ्घर्ष (वर्गसङ्घर्ष) सँग जोडिएको विषय हो भन्ने कुरामा हामी स्पष्टै छौँ ।

हाम्रा गीत–सङ्गीतले कार्यनीतिका नाममा रणनीतिको बलिदान दिनु हुँदैन, कार्यनीतिक शृङ्खला र रणनीतिक उद्देश्य पक्रिनुपर्दछ । जनयुद्धकालीन गीत–सङ्गीत वर्गसङ्घर्षद्वारा निर्देशित र विकसित कार्यदिशा पक्रिएका हुन्थे । मालेमाको केन्द्रीयतामा सबै किसिमका विचलनका विरुद्ध सङ्घर्ष गर्ने गीत–सङ्गीत जन्मिए । तिनले आफ्नो सापेक्षतामा एउटा स्तरको कार्यभार पनि पूरा गरे । जनयुद्धसिर्जित नयाँ यथार्थको जगमा गीत–सङ्गीतको अन्तर्राष्ट्रियकरण पनि भयो तर समकालीनता पृथक विशेषताका साथ उभिएको छ । यतिबेला हाम्रा गीत–सङ्गीतले जनताका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र क्रान्तिको पूर्णताका निम्ति आवश्यक उत्साह भर्नुपरेको छ । अबका गीत–सङ्गीतको केन्द्रमा वैज्ञानिक समाजवाद–साम्यवाद हुनैपर्दछ । यसले क्रान्तिकारीहरूबीचको व्यापक एकता र संयुक्त मोर्चाको निर्माणमा जोड दिनुपर्दछ । थकावट, निराशा, पलायन, आत्मसुरक्षा, अवसारवाद र आत्मकेन्द्री व्यक्तिवादका विरुद्ध उभिनुपर्दछ । प्रतिक्रियावादी एवम् संसदीय संशोधनवादी सांस्कृतिक चिन्तनधाराका विरुद्ध गर्जिने गीत–सङ्गीत समकालीनताको आवश्यकता हो । नेपालमा लामो समयदेखि गीत–सङ्गीतको वर्गनिरपेक्षता–सापेक्षताबारे बहस हुँदै आएको छ । विभिन्न रचनाहरू प्रकाशन पनि भएका छन् । कुनै पनि गीत–सङ्गीत सुमधुर लाग्दैमा त्यो आफ्नो नहुन पनि सक्छ, त्यसको सन्देश र प्रभाव हेरिनुपर्दछ । हामीले गीत–सङ्गीतमा जीवनबोधी चिन्तन खोज्नुपर्दछ । गीत–सङ्गीतको सौन्दर्यात्मक प्रभाव निरपेक्ष हुनै सक्तैन । वर्गीय प्रश्नबाट गीत–सङ्गीतलाई अलग राख्नै सकिँदैन, यो सौन्दयबोध–सौन्दर्यचेतनाको प्रश्न हो ।

परिवर्तित सन्दर्भमा पनि गीत–सङ्गीतको अन्तर्वस्तुको अपरिवर्तनीयताबारे सङ्गीत चिन्तकहरू चिन्तित बनेका छन् । निर्दिष्ट लक्ष्य र उद्देश्यका निमित्त द्वन्द्वहरूबाट सिर्जित सङ्गीतात्मक भावलहर नै साङ्गीतिक आन्दोलन हो । यसले विचार र भावनाको अन्तर्वस्तुमार्फत सिर्जनालाई सशक्त रूपमा अगाडि बढाउँछ । विचारलाई जति बढी गति दिन सकियो उति नै बढी आन्दोलनमा सङ्गीतको अन्तर्वस्तु मुखरित हुन्छ । यद्यपि विचारलाई केवल ‘जार्गन’ भने बन्न दिनु हुँदैन । युरोपमा औद्योगिक क्रान्तिपछि सिम्फोनीमार्फत गीत–सङ्गीतको ढाँचा नै फेरिएको बताइन्छ । यद्यपि यसको सुरुआत त्यसपूर्व नै भइसकेको थियो । औद्योगिक क्रान्तिले सिर्जना गरेको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक प्रभावलाई विथोवेनहरूले सिम्फोनीमा प्रविष्टि दिए । त्यसपछि गीत–सङ्गीतमा आन्दोलनका स्फूर्ति र जीवन्तता, सुस्त तथा लयात्मक, ऊर्जाशील नृत्य र उत्साह, मनोरञ्जन र जीवन्तताजस्ता प्रवृत्तिलाई समेट्न थालियो । तत्कालीन समयमा गीत–सङ्गीतका माध्यमबाट परनिर्भरताबाट ब्युँझिन ऐतिहासिक आह्वान हुनु सामान्य परिघटना थिएन । उनीहरूले गीत–सङ्गीतमा भव्यता, तीव्रता र गुनगुनाहटलाई प्रतिबिम्बित गरे । ‘नयाँ युगले नयाँ धुनको माग गर्दछ’ भन्ने रुसी उखानले तत्कालीन रुसको गीत–सङ्गीतको ऊध्र्वगामी आयामलाई सङ्केत गर्दछ । युजेनकृत ‘अन्तर्राष्ट्रिय गीत’ ले सन् १९०५ को पहिलो रसियन क्रान्तिमा महत्त्वपूर्ण योगदान पुर्यायो, जसलाई सन् १९०२ मा अर्काडी कट्सले रसियन भाषामा रूपान्तरण गरेका थिए । यसले सङ्गीत संयोजन र गायनको बहुस्वरद्वारा सङ्घर्ष, सङ्कल्प, सपना र नयाँ संसार देखायो जसले जो–कोहीलाई पनि परिवर्तनको पूर्वाभास गराउने तागत बोकेको छ । सेर्जेई प्रोकोफिएभले सिम्फोनीमार्फत अक्टोबर क्रान्तिलाई ऐतिहासिकताको प्रतिक्रिया दिए जसलाई अक्टोबर क्रान्तिको पहिलो विगुल भनिन्छ । यसले उल्लास र उमङ्गको बिम्बरचनाका साथ श्रमिकहरूको श्रमकार्यको नवीनताको खोजी गरेको छ । यसले मजदुरहरूका सबै रचनात्मकता, सिर्जनात्मकता र क्रियाशीलतालाई सम्बोधन गर्दै स्वतन्त्रता, समानता र सामूहिकताजस्ता अन्तर्वस्तु वहन गरेको छ । लेनिनका अनुसार सङ्गीतको माध्यमद्वारा सेर्गेई प्रोकोफिएभले पूरा गरेको ‘ऐतिहासिक जिम्मेवारी’ लाई साहित्यको माध्यमद्वारा गोर्कीले अक्टोबर क्रान्तिमा पूरा गरेको ऐतिहासिक जिम्मेवारीसँग तुलना गरिन्छ । अक्टोबर क्रान्तिमा गीत–सङ्गीतको महत्त्वपूर्ण योगदान थियो; खासमा त्यो अक्टोबर क्रान्तिद्वारा सिर्जित नयाँ संसारको पुनर्जागरण थियो ।

औद्योगिक क्रान्तिले सिर्जना गरेको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक प्रभावलाई विथोवेनहरूले सिम्फोनीमा प्रविष्टि दिए । त्यसपछि गीत–सङ्गीतमा आन्दोलनका स्फूर्ति र जीवन्तता, सुस्त तथा लयात्मक, ऊर्जाशील नृत्य र उत्साह, मनोरञ्जन र जीवन्तताजस्ता प्रवृत्तिलाई समेट्न थालियो । तत्कालीन समयमा गीत–सङ्गीतका माध्यमबाट परनिर्भरताबाट ब्युँझिन ऐतिहासिक आह्वान हुनु सामान्य परिघटना थिएन ।

समकालीनतामा गीतमाथि सङ्गीत हाबी भएको देखिन्छ । सङ्गीत–उपकरणले गीतलाई उठ्नै नसक्ने गरी थिचिदिएको पाइन्छ । ‘गीतअनुसार सङ्गीत कि सङ्गीतअनुसार गीत’ भन्नेमा पनि बहस छ । कतिपयमा सङ्गीतको कर्कशले गीतको भाव नै नबुझिनेसम्म हुन थालेको छ । परिवर्तनकारी लहरमा यस्ता गीत आफैँ हराउने हुन्छ । आज लोकगीत झन्भन्दा झन् भद्दा हुँदैछ, जो रूढि र अतीतप्रतिको मोहभन्दा बाहिर जाने देखिएन । देशमा ठूलाठूला आन्दोलन हुने तर पुरानै प्रवृत्ति सत्तासीन भइरहने प्रवृत्ति गीत–सङ्गीतको क्षेत्रमा पनि व्यक्त भइरहेको छ । सङ्गीतात्मक अन्तर्वस्तुले जनतालाई परिवर्तनमुखी बन्न प्रेरित गर्नुपर्दछ । यसले वैकल्पिक सत्ता, वैकल्पिक संस्कृति, वैकल्पिक धारको अन्तर्वस्तु वहन गर्नुपर्दछ । समाजमा विभेद र शोषणको चरमोत्कर्ष हुँदा पनि गीत–सङ्गीत आदर्शवादी भावुकताको पिङ खेलिरहनु दुःखदायी कुरा हो । जनपक्षीय फ्लेबरका गीत–सङ्गीत पनि युग परिवर्तनको आह्वान होेइन, आदेशमूलक छन् । कतिपय गीत–सङ्गीत त ‘धार्मिक उपदेश’ झैँ लाग्छन् । अझ विभिन्न ‘सांस्कृतिक स्टन्ट’ द्वारा गीत–सङ्गीतको हुर्मत लिइँदैछ । जनताले राज्यसित ‘आत्महत्याको लाइसेन्स’ माग्नुपर्ने समकालीनतामा साङ्गीतिक क्षेत्रको मौनता भयानक छ । समकालीनतामा आन्दोलन किस्ताबन्दीमा, जनजीवन किस्ताबन्दीमा, सत्ता किस्ताबन्दीमा, आश्वासन किस्ताबन्दीमा र गीत–सङ्गीत पनि किस्ताबन्दीमा चलिरहेछ । गीत–सङ्गीतले सामाजिक परिवर्तन, समाजको परिवर्तनशीलता र सजीवताको पहिचान दिनुपर्दछ । हाम्रा गीत–सङ्गीत समुद्रीपिँधको मोती टिप्ने हुनुपर्दछ । सांस्कृतिक आन्दोलनमा हस्तक्षेप गर्नुको अर्थ बलमिच्याइँ होइन, रूपान्तरण हो; विमानवीकरण होइन, मानवीकरण हो । चियाङ चिङले भन्नुभएको छ, ‘महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा सङ्घर्षलाई बलमिच्याइँ र शक्तिका आधारमा नभएर विचारका आधारमा अघि बढाउन आवश्यक छ । बलमिच्याइँ र शक्तिका आधारमा सञ्चालित सङ्घर्षले बाहिरी छाला र मासुलाई मात्र छुन सक्छ जब कि विचारका आधारमा सञ्चालित सङ्घर्षले आत्मालाई स्पर्श गर्छ ।’

निष्कर्ष

पुँजीवादीहरू भन्छन्, ‘सङ्गीत सामान्य कल्पना हो, वास्तविकता होइन; सङ्गीत सङ्गीत हो, अरू केही होइन’ जुन नितान्त गलत कुरा हो । गीत–सङ्गीत सांस्कृतिक आन्दोलन र यसले पक्रने दिशासित अभिन्न छन् । गीत–सङ्गीत वैचारिक सङ्घर्षको महत्त्वपूर्ण साधन हो । यसलाई हरेक सत्ताले नजिकबाट हेरिरहेको हुनछ, नत्र हेलेन बोलेकहरू किन मारिन्थे ! बरबर रावहरू किन थुनिन्थे ! यसले आन्दोलनलाई उदासीनता, गतिहीनता र दिशाहीनताबाट बचाउँछ । यसले जनसमुदायलाई व्यापक गोलबन्दी गराउँछ । जनगीत–सङ्गीत उत्पीडनबाट मुक्त र श्रमचेतनाको मूल्यमा आधारित हुन्छ जो निरन्तर क्रान्तिको प्रवाहमा हेलिन्छ । हाम्रा गीत–सङ्गीतमा सिद्धान्त र व्यवहार एवम् रूप र अन्तर्वस्तुबीच सुन्दर समायोजन भएको हुनुपर्दछ । राष्ट्रियतामाथिको अतिक्रमणका विरुद्धको एकल–संयुक्त कार्यक्रममा हाम्रा गीत–सङ्गीत सोहीअनुरूप अन्तर्वस्तु बोकेको हुनुपर्दछ । जनजीविकाका आन्दोलनमा मानवीय आकाङ्क्षालाई उजिल्याउने गीत–सङ्गीत हुनुपर्दछ । राजनीतिक पार्टीको आन्तरिक कार्यक्रममा एकखालका गीत–सङ्गीत हुनुपर्दछ भने जनसमुदायका बिचमा प्रस्तुत गर्ने गीत–सङ्गीत अलि भिन्नै प्रकारको हुनुपर्दछ । पार्टी कार्यक्रम र जनताका बिचमा प्रस्तुत गरिने गीत–सङ्गीत उही र एउटै हुने गरेका छन्, जुन कुरा वैज्ञानिक होइन । हाम्रा सांस्कृतिक परिवारद्वारा सञ्चालित अभियानहरूमा प्रस्तुत गरिने गीत–सङ्गीतका आफ्नै बान्की हुन्छ । यसले जनसमुदायलाई समसामयिकताबारे सूचित गर्दछ । यसबाट जनआवाज बोकेका गीत–सङ्गीत स्थापित हुँदै जान्छन् । साङ्गीतिक प्रस्तुति भनेको सांस्कृतिक आन्दोलन पनि हो; जसबाट कला, गला, व्यक्तित्व र विषय मुखर हुन्छ । यसले आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्षका माध्यमबाट सांस्कृतिक रूपान्तरणका फराकिलो आयाम बनाउँछ । यसले नयाँ संस्कृतिको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । उत्तरआधुनिकतावादी संस्कृतिविरुद्ध जुध्न गीत–सङ्गीत कलात्मक र सशक्त हुनुपर्दछ । यसले क्रान्तिकारी वैचारिक आदर्श, लोकप्रियता र स्तरीयतालाई समायोजन गर्दै सिर्जनात्मक, सशक्त र प्रभावकारी हुनुपर्दछ । यो जनमुखी र जीवनमुखी हुनुपर्दछ, जसमा बहुभाषा र बहुविशेषतालाई पनि ध्यान दिनुपर्दछ । मुख्य कुरा, हाम्रा गीत–सङ्गीत पुनरावृत्ति–दोषबाट मुक्त भएको, रूपान्तरणकारी गुण भएको र अग्रगामी दिशा पक्रेको हुनुपर्दछ ।

दार्शनिक जर्ज लुकासले भन्नुभएको छ, ‘कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतन रूपमा वास्तविक कलाका विरुद्ध विभ्रम फैलाउने तथा त्यसलाई नोक्सान पुर्याउने कार्यमा सहयोग पुर्याइरहेका हुन्छन् ।’ ‘कलाका विरुद्ध विभ्रम फैलाउने’ लुकासको अभिव्यक्ति र ‘सङ्गीतको लक्ष्य के हो’ भन्ने आइस्लरको प्रश्नको अन्तरर्वस्तु एउटै छ । यिनको एकमुष्ठ सही उत्तर ‘कला कलाका लागि’ भन्ने कलावादी–जीवनविरोधी चिन्तनका विरुद्ध उभिनु हो । गीत–सङ्गीत कलाको विशिष्ट अभिव्यक्ति हो । हामीले गीत–सङ्गीतका माध्यमद्वारा ‘कला जीवनका लागि’, ‘कला जनताका लागि’, ‘कला परिवर्तनका लागि’ जस्ता माक्र्सवादी कलाचिन्तनको पक्षपोषण गर्नुपर्दछ । सांस्कृतिक क्रूरता र राजनीतिक सङ्कटपूर्ण परिवेशमा हाम्रा गीत–सङ्गीत वैज्ञानिक समाजवादी क्रान्तिको विगुल बन्नुपर्दछ । अन्त्यमा ब्रेख्तको ‘चुप लाग ! अन्तर्राष्ट्रिय गीत गाइरहेको छु’ रचना प्रस्तुत गर्नु प्रासाङ्गिक हुनेछ । हिटलरको अदालतमा सोह्र वर्षकी सिलाइ मजदुर एम्मा राइसलाई बयानका लागि अदालतमा उभ्याइयो । चर्को सवाल–जबाफ चल्यो । एम्मा फासिवादका विरुद्ध निर्भीकताका साथ यसरी प्रस्तुत हुनुभयो :

जब सोह्रबर्से सुचीकार जेनोबिज अदालतमा हाजिर भई
उसले बाँडेका पर्चाबारे केरकार गरियो
पर्चाले क्रन्ति मागेको छ
त्यसतालाई जेल सजाय हुन्छ
प्रत्युत्तरमा खडा भएर गाउन थालिन् उनी
‘अन्तर्राष्ट्रिय गीत’
जसै आदेशमा मजिस्ट्रेटले टाउको हल्लायो
उनी जोडले चिच्याइन्– ‘चुप लाग
म अन्तर्राष्ट्रिय गीत गाइरहेकी छु !’

२१ असार, २०७९

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :