युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन

युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन

प्युठान : युवा संगठन नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानको मङ्लबार बसन्त नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण गर्दै सम्पन्न भएको हो ।

सम्मेलनमा ३० जना नेता तथा कार्यकर्ताहरू नेकपा माओवादी केन्द्र, नेकपा (एमाले) र नेपाली काँङ्ग्रेस पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र मल्लारानी गाउँपालिका पार्टी सचिव तथा दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य, गोपीलाल सुनार ‘परिवर्तन’, एमाले निकट युवा संघ प्युठानका नेता बिरवल के.सी. लगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा युवा संगठन नेपाल केन्द्रीय संयोजक पाटन जंगलीले नव प्रवेसी युवा नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्दै आफ्नो पार्टी र पार्टीको सहायक संगठन युवा संगठनमा कत्ति पनि अन्याय नगरी उचित स्थान दिँदै व्यवस्थापन गर्ने बताए । उनले नेपालमा संसदीय व्यवस्था असफल भैसकेकोले अबको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद नै भएको बताए ।

त्यस्तै पार्टीका राप्ती व्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज विक्रमले सरकार तीनबुँदे सहमति कार्यान्वयनमा उदासिन देखिएको आरोप लगाएका छन् । उनले भने “हाम्रो पार्टी शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न सहमत भइसकेर तीन बुँदामा हस्ताक्षर गरेको महिनादिन पुग्दा पनि गिरफ्तार नेता कार्यकर्ताको रिहाई नगरिनु र नेता कार्यकर्तामाथि लगाइएको झुट्टा मुद्दा खारेज नगरिनुले अझैँ सरकार जिम्मेवार नबनेको देखिन्छ ।”

सम्मेलनले बसन्त नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसमा उपाध्यक्ष हरि बस्नेत, सचिव बिरवल के.सी. र कोषाध्यक्ष शिव थापा लगायत रहेका छन् ।

कार्यक्रममा युवा संगठन नेपाल राप्ती व्युरो इन्चार्ज तिलक योगी, नेकपा राप्ती व्युरो सदस्य तथा प्युठानका सेक्रेटरी अजय, व्युरो सदस्य वुलेट कार्की, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य याङ्क पुन, युवक संघ प्युठानका का.वा. अध्यक्ष कमल पौडेल लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन हरि बस्नेतले गरेका थिए भने अध्यक्षता बसन्त नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :