समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन

समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन

आमुख

माओले भन्नुभएको छ, ‘साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनसित अभिन्न पार्टपुर्जाका रूपमा एकदम राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकताबद्ध र शिक्षित तुल्याउन तथा शत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् र तिनले जनतालाई एक मन, एक प्राणजस्तो भएर शत्रुसित जुध्न मद्दत गरून् ।’

(माओ, भाग ३, येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन, पृष्ठ ४८) ।

सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन निश्चित राजनीतिक कार्यदिशाद्वारा निर्देशित हुन्छन् । संस्कृति त्यस्तो उपरिसंचना हो जो अन्य उपरिसंरचनाभन्दा भिन्न र दीर्घकालिक हुन्छ । यो राजनीतिक कार्यदिशासित अभिन्न र अन्योन्याश्रित रहँदै आएको छ । सांस्कृतिक क्षेत्रमा माओको ‘वर्गसङ्घर्षलाई मुख्य कडी बनाऊ’, ‘विद्रोह गर्नु जनताको अधिकार हो’, ‘राजनीतिलाई शीर्षस्थानमा राख’ जस्ता भनाइ निकै अर्थपूर्ण छन् । सांस्कृतिक आन्दोलन वर्ग समाप्त पार्ने मात्र होइन; महान् रूपान्तरणकारी साम्यवादी अभियान पनि हो । लेनिनले भन्नुभएको छ, ‘जारलाई निकालेर फाल्न कुनै गाह्रो थिएन, त्यसका लागि केही दिनको जरुरत थियो । जमिनदारलाई निकालेर फाल्न पनि धेरै कठिन थिएन, यस कामका लागि केही महिनामा पूरा गरियो । पुँजीपतिहरूलाई निकाल्न पनि धेरै कठिन भएन तर वर्गलाई समाप्त पार्न अतुलनीय रूपमा अति कठिन काम हो ।’ लेनिनले भन्नुभएजस्तै वर्ग समाप्त पार्नु कठिन कार्य त हुँदै हो, त्योभन्दा बढी पुरानो संस्कृति समाप्त पारेर नयाँ संस्कृति बनाउनु कैयौँ गुणा कठिन कार्यभार हो । हामीले हाम्रा पहलकदमीहरूलाई वैज्ञानिक समाजवाद– साम्यवादको उदात्त आदर्शसित जोडेर उठाउनुपर्दछ । सामन्तवादी अवशेषका विरुद्ध जनतालाई अपिल गर्नु, पुरातन चेतनालाई प्रगतिशीलीकरण गर्नु तथा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादका विरुद्ध निरन्तर सांस्कृतिक क्रान्तिको झन्डालाई माथि उठाउनु आजको आवश्यकता हो । एक जाति, एक भाषा र एक संस्कृतिको करिब तीन सय वर्षको नीति र संरचनागत सत्ताले जर्जर बनाएका क्षेत्रलाई सांस्कृतिक रूपमा सबल र अधिकार सम्पन्न बनाउँदै एकताका साथ पुरातन–प्रतिक्रियावादी–साम्राज्यवादी शक्तिसित लड्नु यतिबेला हामी सबैको दायित्व बनेको छ । साथै समाजमा करिब आठ हजार वर्षदेखि शोषण, अन्याय र उत्पीडन छ । त्यति नै समयदेखिको मानव समाजको तहगत संरचना, जातपात, वर्ग, शोषण र उत्पीडनग्रस्त समाज र हरमानिसभित्र शोषणकारी मानिस पनि छ । मानिसभित्र रहेको शोषणकारी मानिसविरुद्ध सङ्घर्ष गरेर नयाँ मान्छे बन्ने र बनाउने रूपान्तरणकारी प्रक्रिया समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलनका महत्वपूर्ण सांस्कृतिक विमर्श हुन् ।

सांस्कृतिक चिन्तन

वस्तुगत परिस्थितिले हरमानिसको चिन्तनगत अवस्थालाई द्योतन गर्दछ । यहाँ ‘ठोस परिस्थितिको ठोस विश्लेषण’, ‘वस्तुद्वारा चेतना’ जस्ता तथ्य आकर्षित हुन्छ । एक समयमा गरिएको कतिपय चिन्तन अर्को सन्दर्भमा असान्दर्भिक हुन पुग्छ, यद्यपि सार्वभौमिक चिन्तन अलग विषय हुन् । कुनै पनि चिन्तनधारालाई सामाजिक उत्पादन सम्बन्धले गम्भीर प्रभाव पारिरहेको हुन्छ । स्वाभाविक कुरा हो– आर्थिक धरातल र राजनीतिमा जुन–जुन वर्गको वर्चस्व हुन्छ, संस्कृतिमा पनि त्यही–त्यही वर्गको प्रभुत्व हुने गर्दछ । चिन्तनधारा सही र सशक्त नभईकन जीवनधारा सही र सशक्त हुनै सक्तैन । सांस्कृतिक आन्दोलनमा सांस्कृतिक चिन्तन यस्तो प्रारम्भिकी जग हो जसले अँध्यारो चिर्दै दिशा र बाटो देखाउने काम गर्दछ । ‘पदार्थ, चेतना र प्रतिबिम्बन’ शीर्षकमा मार्क्स–एङ्गेल्सले भनेका छन्, ‘भौतिक जीवनको उत्पादन प्रणालीले जीवनको समग्र सामाजिक, राजनीतिक र बौद्धिक प्रक्रियालाई निर्धारण गर्दछ । मान्छेको चेतनाले उसको अस्तित्वलाई निर्धारण गर्दैन, बरु यसको साटो उसको सामाजिक अस्तित्वले नै उसको चेतनालाई निर्धारण गर्दछ । आफ्नो विकासको एउटा खास स्थितिमा पुगेर समाजको भौतिक उत्पादन शक्तिहरू तत्कालीन उत्पादन–सम्बन्धहरूसित अर्थात् यसैलाई कानुनी शब्दावलीमा यसो पनि भन्न सकिन्छ– ती सम्पत्ति सम्बन्धहरूसित टक्कराउँछन् जसअन्तर्गत त्यस समयमा उनीहरूले काम गर्नुपर्ने हुन्छ । यस्तो सम्बन्ध उत्पादन शक्तिहरूको विकासअनुरूप नरही त्यसका लागि बाधक बन्ने गर्दछन् । अनि सुरु हुन्छ सामाजिक क्रान्तिको युग । आर्थिक आधारमा फेरबदल हुने गर्दछ । यस्तो रूपान्तरणमाथि विचार गर्दा एउटा विभेदलाई हमेसा ध्यानमा राख्नुपर्दछ । एकातिर उत्पादनका साथ निर्धारित गर्न सकिन्छ । अर्कातिर ती कानुनी, राजनीतिक, धार्मिक, सौन्दर्यबोधात्मक तथा दार्शनिक सङ्क्षिप्तताभन्दा विचारधारात्मक रूप छ जसमाथि मान्छे यस टक्करप्रति सचेत हुन्छ र त्यससित सङ्घर्ष गर्दछ । कुनै व्यक्तिले आफ्ना बारेमा के सोच्दछ भन्ने कुराबाट हाम्रो उसप्रतिको धारणा निर्माण हुन्न । त्यसैगरी रूपान्तरणसम्बन्धी त्यस युगका बारेमा स्वयम् त्यस युगको चेतनाका आधारमा नै समाजका उत्पादन–शक्तिहरू र उत्पादन–सम्बन्धहरूको वर्तमान टक्करका आधारमा नै यस किसिमको चेतनाको व्याख्या गरिनुपर्दछ ।’

‘समाजवाद र धर्म’ शीर्षकमा लेनिनले भनेका छन्, ‘त्यो दास जो आफ्नो दासत्वप्रति सचेत बनिसकेको छ, आफ्नो मुक्तिका लागि सङ्घर्षमा समाविष्ट भइसकेको छ । ऊ अर्धस्वतन्त्र भइसकेको छ । ठूला–ठूला कलकारखानामा काम गर्दै प्रशिक्षित बनेको आधुनिक वर्ग–चेतनशील मजदुर, सहरी जीवनद्वारा प्रबुद्ध बनेको मजदुर, धार्मिक पाखण्डलाई घृणापूर्वक अस्वीकार गर्दछ र स्वर्गको चिन्ताको कुरालाई पादरीहरू र पुँजीवादी धर्मान्धहरूलाई छाडेर एउटा सुन्दर जीवनका लागि सङ्घर्षरत रहन्छ । आजको सर्वहारा वर्ग यस्तो समाजवादको पक्षधर बन्दछ जसले धर्मको कुहिरोविरुद्ध विज्ञानको सहारा लिएर यस धर्तीमा सुन्दर जीवनको स्थापनाको सङ्घर्षका लागि वर्तमानका मजदुरहरूलाई एकजुट पार्दै मृत्युपछिको त्यो काल्पनिक विश्वासबाट मुक्त पार्दछ ।’ त्यसैगरी ‘नयाँ जनवादको संस्कृति’ शीर्षकमा माओले भनेका छन्, ‘कुनै खास संस्कृति, कुनै खास समाजको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्बन हो । चीनमा साम्राज्यवादी संस्कृति छ जुन राजनीतिक र आर्थिक क्षेत्रमा साम्राज्यवादी शासन वा आंशिक शासनको प्रतिबिम्बन हो । साम्राज्यवादीहरूले चीनमा सोझै सञ्चालित सांस्कृतिक सङ्गठनहरूले मात्र होइन, सबै लाज–सरम पचिसकेका थुप्रै चिनियाँहरूले पनि यो संस्कृतिलाई पोस्ने काम गरेका छन् । दास विचारधारा भएका सबै संस्कृति यसै फाँटमा पर्दछन् । चीनमा यहाँको अर्धसामन्ती राजनीति र अर्थव्यवस्थालाई प्रतिबिम्बित गर्ने अर्धसामन्ती संस्कृति पनि छ र नौलो संस्कृति तथा नौला विचारहरूको विरोधमा कन्फ्युसियसको पूजा, उसका धर्मसूत्रहरूको अध्ययन, पुरानो नैतिक आचारसंहिता र पुराना विचारको पुर्पच्छे गर्ने सबै मानिसहरू यस संस्कृतिका धुपौरेहरू हुन् । साम्राज्यवादी संस्कृति र अर्धसामन्ती संस्कृति नजिकका दाजुभाइ हुन् र तिनले चीनको नौलो संस्कृतिले साम्राज्यवादी सांस्कृतिक एकता कायम गरेका छन् । यसखालको प्रतिक्रियावादी संस्कृतिले साम्राज्यवादीहरू र सामन्ती वर्गको सेवा गर्छ, त्यसैले यसलाई नष्ट गर्नुपर्छ । यसलाई नष्ट नगरी कुनै पनि खालको नौलो संस्कृतिको निर्माण गर्न सकिँदैन । विनास नभई निर्माण हँुदैन, नथुनी प्रवाह हुँदैन र स्थिरता नभई गति हुँदैन । यी दुवै जीवन–मरणको सङ्घर्षमा अल्झिएका छन् । नौलो संस्कृतिको हकमा, यो नौलो राजनीति र नौलो अर्थ–व्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो र यसले तिनकै सेवा गर्छ ।’

यसर्थ हामीले दलाल पुँजीवादी शिविरबाट जनसांस्कृतिक आदर्श र मूल्यमाथि भइरहेका योजनाबद्ध विषाक्त हमलाहरूको प्रतिरोध गर्नुपर्दछ । हामीले हाम्रो दृष्टिकोण, संस्कृति र आदर्शको रक्षा गर्नुपर्दछ । नौलो काम थाल्नु सधैँ जोखिमयुक्त मात्र हुँदैन, त्यसले अनुसन्धान र आविष्कारको नयाँ–नयाँ शिखर पनि चुम्दछ । राजनीतिक–वैचारिक रूपमा कमजोर छौँ भने हामी सदैव खिसीटिउरीको पात्र मात्रै बन्दछौँ । हामी जग र जमिनसहित उभिएका छौँ भने हामी गाली र निन्दाको केन्द्र बन्दछौँ । हामी महान् सम्भावनासहित छौँ भने हामीले षड्यन्त्र र दमनको घेरा पनि झेल्नुपर्दछ । यी समकालीन सामाजिक चिन्तनप्रणाली हुन् । निष्कर्षतः भन्न सकिन्छ, हाम्रो समकालीनतामा चिन्ता होइन, चिन्तन नै प्रधान हो । हरेक जनसंस्कृतिकर्मीहरूले आफ्नो चिन्तनप्रणालीलाई व्यवस्थित गर्दै लैजानुपर्दछ ।

सांस्कृतिक दिशा

सांस्कृतिक आन्दोलनमा सांस्कृतिक दिशा निकै महत्त्वपूर्ण प्रश्न हो जुन राजनीतिक दिशासँगै हाँकिएको हुन्छ । माओले भन्नुभएको छ, ‘विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यो बेला सबै चीज प्राप्त हुन्छन्, अनुयायीहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । बन्दुकहरू छैनन् भने ती पनि प्राप्त हुन सक्छन्, राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ । यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्दछन् । कार्यदिशा भनेको जालको डोरी हो । जब यो तानिन्छ पूरै जाल खुल्दछ ।’ सांस्कृतिक आन्दोलनको दिशा राजनीतिक आन्दोलनात्मक दिशासित अभिन्न रूपमा जोडिएको हुन्छ जुन सांस्कृतिक रूपान्तरणसित पनि जोडिएको हुन्छ । सांस्कृतिक आन्दोलनको दिशा निर्धारणमा समकालीनताका परिवर्तनकारी विशेषताहरू महत्वपूर्ण हुन्छन् । समकालीनता भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादसँग गाँसिएको छ । आजको सांस्कृतिक आन्दोलन भन्नु वैज्ञानिक समाजवादी सांस्कृतिक आन्दोलनतर्फ अघि बढ्नु हो । नयाँ संस्कृति निर्माणको अर्थ कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरण पनि हो । कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरणबिना समग्र सांस्कृतिक रूपान्तरण असम्भव छ । यतिबेला आन्तरिक रूपमा दलाल पुँजीवाद र बाह्य रूपमा साम्राज्यवादसँग मुख्य अन्तर्विरोध छ । हामीले प्रधान र गौण अन्तरविरोध तथा शत्रुतापूर्ण र मित्रतापूर्ण अन्तरविरोधको सही विश्लेषण गरेर सांस्कृतिक आन्दोलनको पहल लिनुपर्दछ । हामीले देख्यौँ, आधार र अधिरचनामा परिवर्तन आउँदैमा सांस्कृतिक अधिरचनामा उही स्तरमा परिवर्तन नआउने रहेछ । धर्मसँग एकीकृत भएर त्यसैद्वारा निर्देशित हुनु सामन्तवादी संस्कृतिको विशेषता हो । समकालीनतामा दलाल पुँजीवादी संस्कृतिको वर्चश्व पनि दिनानुदिन बढ्दैछ जसका पश्चिमीकरण, उपभोक्तावादीकरण, व्यक्तिवादीकरण, वर्णशङ्करीकरण, प्राविधिक देवत्वकरण, एकल नायकीकरणजस्ता अनेक सांस्कृतिक अभिलक्षण छन् ।

सांस्कृतिक दिशाले आन्दोलनात्मक प्रहारको निशानालाई बुझाउँछ । आन्दोलनात्मक दिशाले आन्दोलनको लक्ष्य निर्धारण गर्दछ । समकालीन माक्र्सवादी सांस्कृतिक आन्दोलनको लक्ष्य आन्तरिक रूपमा सामन्तवादी–दलाल पुँजीवादी एवम् बाह्य रूपमा भूमण्डलीकृत साम्राज्यवादी संस्कृतिविरूद्ध सङ्घर्ष गर्दै नयाँ संस्कृतिको निर्माण गर्नु हो । नयाँ संस्कृतिको अर्थ सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादविरोधी जनसंस्कृति हो । यस्तो संस्कृति वैज्ञानिक, जीवनमुखी उदात्त मूल्ययुक्त हुन्छ । यसमा स्वतन्त्रता, समानता, न्याय, सामूहिकता, ऊध्र्वगामितालगायत सबै प्रकारका उत्पीडनविरोधी भाव पाइन्छ । यहीँबाट वैज्ञानिक समाजवादी संस्कृति निर्माणतर्फको यात्रा प्रारम्भ हुन्छ । सांस्कृतिक आन्दोलनलाई परिणाममुखी बनाउन सांस्कृतिक संयुक्त मोर्चाको पनि महत्वपूर्ण भूमिका हुन्छ । कम्युनिस्ट आन्दोलनको सांस्कृतिक गन्तव्य वैज्ञानिक समाजवादी– साम्यवादी संस्कृति हो । आफूसहित अरूलाई फेर्ने एवम् आग्रहभन्दा आचरणलाई जोड दिने सांस्कृतिक आन्दोलनको गूढार्थ मानवलाई भित्रबाटै रूपान्तरित गरेर नयाँ मानवमा बदल्नु हो । सांस्कृतिक दिशा भनेको सांस्कृतिक नीतिहरूको समुच्चय हो । यो राजनीतिक दिशासँगै हुइँकिरहेको हुन्छ । हामीले सांस्कृतिक नीतिहरूहरूको शृङ्खलालाई व्यवस्थित गर्नुपर्दछ । हामीकहाँ विद्यमान दलाल संस्कृति र सामन्ती संस्कृतिका अवशेषहरू जब्बर छन् । हजारौँ वर्षदेखि जनताले सिर्जना गरेका जनसंस्कृतिको संरक्षण र संवद्र्धन गर्न आवश्यक छ । छाडा, अश्लील, पुँजीवादी, सामन्तवादी संस्कृतिको अन्त्य गर्दै जनपक्षीय संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । वैज्ञानिक समाजवादी सांस्कृतिक मूल्यको संवद्र्धन एवम् आदतको सत्ताका विरुद्ध हाम्रो सङ्घर्ष परिलक्षित हुन आवश्यक छ । यथार्थतः सर्वहारा सांस्कृतिक क्रान्ति नै अबको हाम्रो सांस्कृतिक दिशा हुनुपर्दछ ।

सांस्कृतिक आन्दोलन

क्रान्तिकारी सांस्कृतिक आन्दोलनको मूल धारका रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ विगत चालीस वर्षदेखि निरन्तर सङ्घर्षको मोर्चा समालिरहेको छ । यो आन्दोलन अनेकन जटिल सङ्घर्षका बीचबाट यहाँसम्म आइपुगेको कुरामा कुनै शङ्का छैन । यसले स्थापनाकालदेखि नै बाह्य र आन्तरिक दुवै क्षेत्रमा विभिन्न चिन्तन र प्रवृत्तिका विरुद्ध कठोर सङ्घर्ष पनि गर्दै आएको छ । सांस्कृतिक आन्दोलन मूलतः राजनीतिक–वैचारिक, सङ्गठनात्मक, प्रतिरोध–सङ्घर्ष, नीति–नेतृत्व र सिर्जनामा आधारित रहँदै आएका छन् । यसले क्रमशः आफूलाई पूर्वोत्तर एवम् नयाँ कैयौँ सीमालाई सच्याउने प्रयत्न पनि गर्दै आएको छ । वस्तुगत परिस्थितिमा आउने फेरबदलसँगै कुनै पनि सङ्गठनमा नयाँ–नयाँ समस्या उत्पन्न हुनु स्वाभाविक कुरा हुन् । यसले राष्ट्रियता, जनतन्त्र, जनजीविका एवम् वैज्ञानिक कलासाहित्य–संस्कृतिका पक्षमा लेखक–साहित्यकारहरूलाई सङ्गठित गर्दै, माक्र्सवादी साहित्यको सिर्जना गर्दै र त्यो उद्देश्य प्राप्तिका लागि सङ्घर्ष गर्दै आएको छ । सांस्कृतिक आन्दोलनमा रूप र अन्तर्वस्तुका बीचमा अझ बढी जीवन–व्यवहारमा सङ्गतिको ठूलो अभाव देखापर्दै आएको छ । कलाको रूप र अन्तर्वस्तु तथा कर्ताको जीवन–व्यवहारको सुन्दर संयोजनबाट मात्रै त्यसको सौन्दर्यात्मकबोध हुने कुरामा हामी स्पष्ट नै छौँ ।

सांस्कृतिक आन्दोलनमा राजनीतिकी–वैचारिकी निकै महत्त्वपूर्ण प्रश्न हुन् । समकालीन नेपाली समाज राजनीतिक रूपमा ‘सामाजिक फासिवाद’ (दलाल संसदीय), आर्थिक रूपमा ‘दलाल पुँजीवाद’ (निगमीय पुँजीवाद) तथा सांस्कृतिक रूपमा ‘सामन्तवाद’ (आन्तरिक) तथा ‘भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद’ (बाह्य) हस्तक्षेपबाट गुज्रिरहेको छ । हामीले यी तीनवटै पक्षबारे सही दृष्टिकोण बनाउन र सही निशाना लगाउन आवश्यक छ । सही निशानाका सन्दर्भमा माओको ‘राजनीतिलाई शीर्षासनमा राख’ विशेष मननीय छ । राजनीतिक–वैचारिक र विश्वदृष्टिकोणमा कुनै सम्झौता हुनै सक्तैन । निःसन्देह द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै सांस्कृतिक आन्दोलनको विश्वदृष्टिकोण हो । विश्वदृष्टिकोण भनेको कुनै पनि लेखक–साहित्यकारले के लेख्ने, किन लेख्ने, केका लागि लेख्नेजस्ता प्रश्नहरूको समष्टि पनि हो । माओले भन्नुभएजस्तै कला–साहित्य जनताका लागि, परिवर्तनका लागि, रूपान्तरणका लागि हुनुपर्दछ भन्नु पनि त्यही दृष्टिकोणको कुरा हो । यो भनेको कला–साहित्यको वर्गीयता र वर्गीय पक्षधरताको कुरा हो । हामीले सांस्कृतिक आन्दोलनमा देखिएका विश्वदृष्टिकोणको समस्या समाधान गरेर अघि बढ्नुपर्दछ ।

सांस्कृतिक आन्दोलनमा सङ्गठन निकै महत्त्वपूर्ण कुरा हो । विचारिकीलाई भौतिकी शक्तिमा परिणत गर्ने मुख्य साधन सङ्गठन हो । विचारलाई भौतिक शक्तिका रूपमा अभिव्यक्त गर्ने साधन सङ्गठन हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ क्रान्तिकारी संस्कृतिकर्मीहरूको वैचारिक सङ्गठन हो । यसले आजसम्मको यात्रामा अनेक सङ्गठनात्मक संरचनाको प्रयोग गर्दै आएको छ । यो आफ्नो तेस्रो राष्ट्रिय सम्मेलनदेखि महासङ्घीय संरचनाका साथ यात्रारत छ । नेपालमा राजनीतिक पार्टीदेखि विभिन्न सङ्घ–संस्थाहरू करिब–करिब उस्तै संरचनामा बाँधिएका छन् । परम्परित अधिकांश संरचना ‘भर्टिकल’ रहेका छन् । यो भर्टिकल सङ्गठनात्मक संरचनाले माथिका जति सबै अब्बल हुन्, तलका केही होइनन् जस्तो गरी मनोविज्ञान सम्प्रेषण गर्दै आएको छ । यसलाई भर्टिकल–होराइजेन्टल दुवै बनाउन आवश्यक छ । तल र माथि अनि दायाँ र बायाँको सन्तुलन भएको सङ्गठनात्मक संरचनाले मात्र अबको नयाँ चुनौतीको सामना गर्न सकिन्छ । नयाँ–नयाँ समस्याको समाधान गर्न पुराना सङ्गठनात्मक संरचना कामयावी हुन सक्तैन । त्यसैले नयाँ चुनौतीको सामना गर्न सक्ने नयाँ सङ्गठनात्मक संरचनाको निर्माण गर्नु अबको सांस्कृतिक आन्दोलनको महत्वपूर्ण सङ्गठनात्मक कार्यभार हो । हाम्रा सङ्गठनहरू मूलाजस्तो एकसरो होइन, बदामको झुप्पाजस्तो सामूहिक हुन आवश्यक छ ।

सांस्कृतिक आन्दोलनका अनेक रूप हुन्छन् र अवस्थिति हुन्छन् । समकालीन आन्दोलनका सबै आयाम भूमण्डलीकृत छन् । साम्राज्यवादीहरू जसरी भूमण्डलीकृत रूपमा आइरहेका छन्, हामीले पनि त्यसैगरी आन्दोलनमा जनपक्षीय भूमण्डलीकृत गर्न आवश्यक छ । दुस्मन आफ्नो किसिमले लड्छ, हामी आफ्नै किसिमले लड्छौँ भन्ने कुरा छँदैछ । कुनै पनि राप–ताप पैदा नगर्ने आन्दोलन वा सिर्जनाको कुनै अर्थ हुँदैन । हामी मरणशील संस्कृतिका पक्षमा हुनै सक्तैनौँ । हामी माक्र्सवादी सिर्जनाका क्षेत्रमा विशाल सङ्ख्यामा साहित्यका विभिन्न विधा तथा साहित्यकारको निर्माण र प्रतिध्रुवीय धाराको तुलनामा गुण तथा सङ्ख्या दुवै दृष्टिले उच्चता हासिल गर्ने अभियानमा छौँ । नेपालको समकालीन माक्र्सवादी साहित्यिक–सांस्कृतिक आन्दोलन ‘साहित्यिक–सांस्कृतिक सामन्तवाद’ र ‘साहित्यिक–सांस्कृतिक साम्राज्यवाद’ जस्ता दुई काला पहाडसित जुधिरहेको छ । नेपालमा रातो बर्को ओढेको ‘साहित्यिक–सांस्कृतिक साम्राज्यवाद’ अत्यन्त विषाक्त रूपमा अभिव्यक्त भइरहेको छ । सांस्कृतिक आन्दोलन प्रतिरोधको अर्को नाम पनि हो । सांस्कृतिक आन्दोलनलाई वैचारिकी, सिर्जनात्मक र भौतिकी शक्तिका रूपमा नउठाईकन सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्न कठिन हुन्छ । सत्ता र शक्तिको आडमा बहुरूपीय बन्दै आएको क्षेत्रीय फासिवाद, सामाजिक फासिवाद तथा सांस्कृतिक राष्ट्रवादका नाममा उठ्न खोज्दै गरेको सांस्कृतिक फासिवादका विरुद्ध निर्णायक सङ्घर्ष गर्न आवश्यक छ । लेखक–साहित्यकारहरू साहित्यिक–सांस्कृतिक पल्टन पनि हुन् । हामीले माक्र्सवादलाई पक्रेर वैचारिक सेनापतिका रूपमा जनपक्षीय भूमण्डलीकृत सांस्कृतिक आन्दोलनको विकास गर्नुपर्दछ ।

सांस्कृतिक आन्दोलनमा नीति र नेतृत्व निकै महत्वपूर्ण सवाल हो । नीति र नेतृत्व परिपूरक एवम् अन्योन्याश्रित विषय हुन् । नीति र नेतृत्वसित सिङ्गो कार्यदिशा र आन्दोलनको भविष्य जोडिएको हुन्छ । सामन्तवाद, दलाल पुँजीवाद, साम्राज्यवाद तथा सबैखाले फासिवादका विरुद्ध सङ्घर्ष गर्नु सांस्कृतिक आन्दोलनको आधारभूत नीति हो । यसैका आधारमा हामीले प्रतिक्रियावादी राज्यसत्ताद्वारा जनसमुदाय तथा लेखक–कलाकारमाथि गरिने सबै किसिमका दमनको विरोध र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएका छौँ । अनेकौँ गोष्ठी, विरोध प्रदर्शन, प्रकाशन र वक्तव्यहरू यसका उदाहरण हुन् । नीति र नेतृत्व कस्तो भन्ने विषयले आन्दोलनको क्षेत्र निर्धारण गर्दछ । वैचारिक तथा राजनीतिक प्रसारलाई व्यापक बनाउन नीति र नेतृत्व महत्वपूर्ण हुन्छ । यो एउटा दीर्घकालीन मोर्चा भएकोले यसले नीति र नेतृत्वको गुणवत्ताको खोजी गर्नु अन्यथा हुँदैन । उत्तर–आधुनिकतावाद मूलतः सांस्कृतिक साम्राज्यवादको साहित्यिक सिद्धान्त हो जसले उपभोक्तावादी संस्कृतिको पक्षपोषण गर्दछ । उत्तर–आधुनकितावाद बहुलवाद, निराशावाद र विघटनवादसित सम्बन्धित छ । उत्तर–आधुनकितावाद साम्राज्यवादको सङ्कट र समस्याको शास्त्र हो । खासमा कलासाहित्य, संस्कृति र सौन्दर्यचिन्तन जनसमुदायको वर्गसङ्घर्षका राजनीतिक तथा कलात्मक मानक हुन् । माओले भन्नुभएजस्तै कुनै पनि रुखको पात हेर्दा उस्तै–उस्तै देखिए पनि खासमा तिनका हरेक पात भिन्नाभिन्नै हुन्छन, यसको समाजशास्त्रीय व्याख्या आवश्यक छ । आज बजारवादद्वारा सिर्जना र संस्कृति हैरानी–परेसानीमा छ । सांस्कृतिक बजारीकरणका विरुद्ध निर्मम सङ्घर्ष यतिबेला टड्कारो बन्न पुगेको छ ।

हामीलाई थाहा छ, क्रान्तिको सफलताका लागि सुदृढ सांस्कृतिक आन्दोलनको आवश्यकता पर्दछ । आन्दोलनका उपलब्धिको रक्षार्थ निरन्तर सांस्कृतिक रूपान्तरणको पनि आवश्यकता पर्दछ । केकस्ता सांस्कृतिक मूल्य–मान्यतालाई हटाउने, कुन–कुन सांस्कृतिक मूल्यहरूको स्थापना गर्ने र सांस्कृतिक प्रहारको निशाना कहाँ र कसरी केन्द्रित गर्ने भन्ने प्रश्नमा हामी सबै स्पष्ट हुन आवश्यक छ । सामाजिक जीवनमा रहेको हजारौँ वर्षदेखि विकसित र सकारात्मक मूल्यको रक्षा एवम् नकारात्मक मूल्यको न्यूनीकरण र निषेधीकरण आजको आवश्यकता हो । भारतीय दार्शनिक देवीप्रसाद चट्टोपाध्यायले भनेझैँ संस्कृतिका ‘जीवन्त र मरणशील पक्ष’ लाई हामीले मिहीन विश्लेषण गर्नैपर्दछ । हाम्राअगाडि अन्तरजातीय विवाहहरू भत्किनु, कम्युन र आधार क्षेत्र गुम्नु, चुलो छोएको निहुँमा नागरिकहरू मारिनु, गोप्य रूपमा मठमन्दिर धाउनु, रूपमा माक्र्सवादी तर सारमा आदर्शवादी हुनुजस्ता अनेकौँ सांस्कृतिक विचलन खडा छन् । सारतः वैज्ञानिक समाजवादी संस्कृति भनेको तत्कालीन मानवले विकास गरेको ज्ञान, विज्ञान, उत्पादन र सामाजिक आन्दोलनको विकासको बौद्धिक सार हो जुन मानव समाजको हित, प्रगति र स्वामित्व नै सर्वोपरि हुने संस्कृति हो । यसले समुदायको हित, सामुदायिक स्वामित्व र सामुदायिक लाभको स्वतन्त्रतालाई जोड दिन्छ । हामीले नेपालमा मानव गोत्र समुदायको आगमन, समागम र मिश्रणबाट विकसित भएका वैज्ञानिक समाजवादी सांस्कृतिक भ्रूणलाई पहिचान गर्नैपर्दछ । तिनै वैज्ञानिक समाजवादी सांस्कृतिक भ्रूणलाई हामीले आजको सांस्कृतिक आन्दोलनमा जोड्नुपर्दछ । वर्गसङ्घर्षका विभिन्न प्रक्रियाद्वारा निःसृत सांस्कृतिक उपलब्धिलाई समकालीन सांस्कृतिक आन्दोलनसित जोड्नु अनिवार्य छ ।

निष्कर्ष

नेपालको माक्र्सवादी सांस्कृतिक क्षेत्र यतिबेला नवऔपनिवेशवादद्वारा रक्तमुछेल बनेको छ । जब विचारधारात्मक चीजहरू सङ्कटमा पर्छन् तब सामाजिक रूपान्तरणमा पर्याप्त हस्तक्षेप हुनै सक्तैन । नेपालमा साधना र चिन्तनका क्षेत्रमा माक्र्सवादी संस्कृतिकर्मीहरूको खडेरी पर्दैछ । नेपाली समाज दलाल पुँजीवादी व्यवस्थाका कारण वियोगान्तक–दुःखान्तकहरूको सङ्ग्रहालयमा परिणत हुँदैछ । यसका विरुद्ध लड्नु आजका सच्चा माक्र्सवादी संस्कृतिकर्मीहरूको कार्यभार हो । नेपालको जनसांस्कृतिक आन्दोलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको गिद्देदृष्टि उहिल्यैदेखि हो । मार्क्सवादी सांस्कृतिक–सौन्दर्यचिन्तन र समाजवादी–यथार्थवादको आलोकमा घेरा फराकिलो र सुदृढ बनाउँदै दलाल पुँजीवाद र नवउपनिवेशवादका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।

कम्युनिस्ट आन्दोलनको अन्तिम गन्तव्य र सांस्कृतिक रूपान्तरणको अन्तिम बिन्दु उही र एउटै साम्यवादी समाज हो । सञ्चार–साधन साम्राज्यवादको शक्तिशाली हतियारमा परिणत भएको यतिबेला आत्म–सुखवादी चिन्तन–चरित्र कम्युनिस्ट आन्दोलनको सर्वाधिक खतरनाक बन्दैछ । कम्युनिस्ट आन्दोलनभित्रै सामन्तवादी स्वामीसेवकभाव नराम्ररी पन्पिरहेछ । ‘कमरेड’ र ‘कम्युनिस्ट’ शब्दको घोर अवमूल्यन हुँदैछ । ‘समाजवाद’ शब्दको हुर्मत लिइँदैछ । महान् सांस्कृतिक मूल्य, महान् आदर्श र महान् बिम्बलाई विद्रूपीकरण गरिँदैछ । महान् सपनालाई साकार तुल्याउन जनताका तहबाट गरिएका महान् बलिदानीपूर्ण कीर्तिमानको घोर अवमूल्यन गरिँदैछ । सांस्कृतिक आन्दोलनका अगुवाहरूकै आचरण र जीवनशैलीबारे गम्भीर प्रश्न उठेको छ । चारैदिशामा आत्मकेन्द्रित व्यक्तिवाद, उपयोगितावाद र मूल्यहीनताको जगजगी बढिरहेछ । एक समय मानवको महिमागान गाउने ‘पुँजीवादी संस्कृति’ ले आज मानवको ‘नीचता’, ‘तुच्छता’ र ‘पशुता’ को उधुम–गीत गाइरहेछ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापनार्थ निर्णायक सङ्घर्षमा जुटिरहेको यतिबेला जतिसुकै प्रतिकूल र विषम परिस्थितिमा पनि उत्पीडत तथा श्रमजीवी जनताले आफ्नो सांस्कृतिक मूल्य, आविष्कार र ज्ञान निर्माण गरिरहेका हुन्छन् भन्ने कुरालाई विशेष ध्यान दिन आवश्यक छ । साम्राज्यवादी, प्रतिक्रियावादी एवम् दलाल फासिवादी सत्ताद्वारा जतिसुकै दमन र हस्तक्षेप गरे पनि, संसदीय संशोधनवादले जस्तोसुकै रङ्गीन चौपल नचाए पनि वसन्तऋतु कहाँ आउन छोडेको छ र ! फूलहरू कहाँ फुल्न छाडेका छन् र ! कहाँको वनकुञ्जमा कोइलीहरूको कुहूकुहू रोकिएको छ र ! कहिले पो बिहानी रोकिएको छ र ! नेपालमा वैज्ञानिक समाजवाद र वैज्ञानिक समाजवादी संस्कृतिको स्थापना भइछाड्नेछ । ‘समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन’ शीर्षकका मूलभूत विषय यिनै हुन् ।

२३ जेठ, २०७९

प्रतिक्रिया दिनुहोस्