ढल्न लागेको संसदीय व्यवस्था जोगाउन विप्लव पार्टी फुटाएरै संसद्‌वादी बने : कञ्चन

‘पाँच लाख मत आउँछ भन्दै पार्टीलाई संसद्‌वादी बनाएकाहरूले पाँच हजार मत पनि ल्याउन सकेनन्’

ढल्न लागेको संसदीय व्यवस्था जोगाउन विप्लव पार्टी फुटाएरै संसद्‌वादी बने : कञ्चन

नेकपा (बहुमत) सेती–महाकाली ब्युरोको प्रशिक्षण सम्पन्न

अत्तरिया (कैलाली) : नेकपा बहुमत सेती–महाकाली ब्युरोको राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । कैलालीको अत्तरियामा बुधबार सम्पन्न ब्युरोको प्रशिक्षणमा पार्टीका संयोजक कञ्चनले ६ महिना अगाडि यही स्थानमा विप्लव र आफूले क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने विषयमा बोलेको तर यति बेला विप्लवहरू पार्टी फुटाउँदै संसदीय संशोधनवादी बनेर गएकाले आफूहरू पार्टी पुनर्गठन गरी अघि बढेको बताए ।

संयोजक कञ्चनले भने, ‘अहिले हामी क्रान्ति सम्पन्न गर्ने कुरा गरिराखेका छौँ । लेनिनको भनाइमा राष्ट्रिय अहंकारवादका कारण मजदुरमा फुट पैदा हुन्छ । नेपालमा फुट किन भइरहेको छ त ? त्यसको पछाडि हामीले दस्ताबेजमा ५–६ वटा कारण दिएका छौँ । त्यसको मुख्य कारण अवसरवाद भनेका छौँ । अवसरवादले बाहिर एउटा प्रकारको लिपपोत र शृङ्गार देखाउँछ तर भित्र अर्कै हुन्छ । विप्लव त्यही मेकअपभित्र रहेका थिए ।’

संयोजक कञ्चनले भने, ‘विप्लवले भन्दा क्रान्तिकै कुरा गरे तर व्यवहारमा अवसरवाद देखापर्यो । उनले २०७८ साल वैशाखमा भएको बैठकमा चुनावमा जानुपर्ने हुनसक्छ भनेका थिए तर किन जाने भन्ने कारण दिएनन् । सबै केन्द्रीय सदस्यले विरोध गरेपछि जनमतसङ्ग्रहमा जाने कुरा गरे । क्रान्तिकारी कार्यदिशा व्यक्तिको पछाडि लाग्दैन । बरु व्यक्ति क्रान्तिकारी कार्यदिशाको पछाडि लाग्छ । विप्लवले हामी चुनावमा गयौँ भने तीनदेखि पाँच लाख भोट आउँछ र राष्ट्रिय पार्टी बन्छ भने । चुनावको प्रयोग गर्ने कुरा गरे । यो उपयोग हैन पनि भने । जब कि चुनाव प्रयोग गर्ने, उपयोग गर्ने वा प्रवेश गर्ने कुरा एउटै हो । हामीले चुनावमा जाँदा सैद्धान्तिक रूपमै गलत हुन्छ भन्यौँ । चुनावमा जो साथी जान्छ उसले भित्र गएर ल्याप्चे लगाउनु पर्दछ । यो व्यवस्थाको संविधान, नीति, नियमलाई पालना गर्नु पर्दछ । चुनावमा भाग लिनु भनेको संसदीय व्यवस्थालाई मान्नु हो । हामीले यो सैद्धान्तिक रूपले गलत हुन्छ भन्यौँ तर उनले मानेनन् ।’

नेता कञ्चनले अगाडि भने, ‘बेलायतमा पहिलोचोटि १२६७ मा संसदीय व्यवस्थाको स्थापना भएको थियो तर रुसमा १९०५ मा भएको थियो । संसदीय व्यवस्था भनेको गफाडीहरूको गफ गर्ने अखडा हो भनेर लेनिनले भन्नुभयो । संसदीय पार्टीका नेताहरूको मुखमा राष्ट्रवादको व्यापार छ । विप्लवले ढल्न लागेको संसदीय व्यवस्थालाई चुनावमा भाग लिएर टेका लगाएर अड्याउने काम गरे । प्रकाण्ड र विप्लवले देशभर तीन देखि ५ लाखसम्म मत आउँछ भनेका थिए तर देशैभरि ५ हजार मत पनि आयो कि आएन । हामीले विप्लवलाई भनेका थियौँँ– हामीले चुनावमा भाग लियौँ भने पार्टी र विप्लवको नाम निमकाठको चोपबाट उडाइएको फोकाजस्तो हुन्छ । विप्लवलाई वैशाख १४ गते हामीले भनेका थियौँ– हामी भेट्न आउँछौँ, पार्टी नफुटाउनुस् । बसेर छलफल गरौँ भन्दा उनले अब आआफ्नो बाटो लागौँ भनेर हामीलाई जिम्मेवारीबाट मुक्त गरेको वक्तव्य निकाले अहिले बहसै नगरी ७ दिनमा नै झोला बोकेर हिँडेको भनी भ्रमपूर्ण कुरा गरिरराखेका छन् । हाम्रो पार्टी विचारको श्रेष्ठतासहितको बहुमत पार्टी हो । पार्टी विप्लवले फुटाए । उनले आफ्नै घरमा आगो लगाएर खरानी बनाएका छन् । नेपाली क्रान्तिको कार्यदिशा पहिलोपटक हामीले बनाएका छौँ । जनयुद्धको कार्यदिशा, नयाँ जनवादी क्रान्तिको कार्यदिशा माओले चीनमा बनाएर प्रयोग गरिसक्नुभएको थियो । त्यसको व्याख्या मोहनविक्रम, किरण, प्रचण्डहरूलाई कार्यदिशाको समस्या रहेको थिएन । नेपालमा संशोधनवादीहरूलाई मात्र नयाँ कार्यदिशा बनाउनुपरेको थियो । एउटा क्रान्तिकारी पार्टीको कार्यनीति बाघले आफ्नो सिकारको घाँटी समात्नेखालको हुनुपर्दछ । हामीले यो सरकार राष्ट्रघाती रहेको र सत्ता नै स्वाधीन नभएकाले स्वाधीन, संयुक्त सरकार हुनुपर्छ भनेका हौँ ।’

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘हामीले जसरी एउटा ड्राइभरलाई गाडी हाँक्ने अधिकार दिएका थियौँ, उनी घुम्तीमा गाडी छाडेर भागे । हामी सहचालकहरूले घुम्तीमा बडो कुशलताका साथ पुनः गाडी चलाएका छौँ । बाघको छाला ओडेका गधाहरूको स्थानीय चुनावमा छाला नै झर्यो । अहिले हामीले क्रान्तिको कार्यदिशा, कार्यनीति र कार्यक्रमको हतियार लिएर आएका छौँ ।’

प्रवक्ता सुदर्शनले अगाडि भने, ‘विप्लवहरू सीधै संसदीय व्यवस्थामा प्रवेश गरेकाले उनीहरूलाई संसदीय संशोधनवादी भनेका हौँ । उनीहरू राप्रपा, उपेन्द्र, काङ्ग्रेस, एमाले, माके सबैलाई समाजवादी मान्ने अवस्थामा पुगिसकेका छन् । उनीहरू साङ्गठनिक रूपमा निषेधात्मक अधिभूतवादी हो । उनीहरू पार्टी विपरीतहरूको एकत्व हुँदैन भन्छन् ।’

नेता सुदर्शनले भने, ‘पार्टीमा चाकडीबाजहरूलाई अवसर दिइयो । मूल नेतृत्व नै आत्मसुरक्षावादी बन्यो । त्यसको उदाहरणका लागि सङ्घर्ष आउँदा प्रवक्ता प्रकाण्ड कहिले औँला भाँचिएको भन्दै लुके । स्थानीय चुनाव बहिष्कार गर्दा खुट्टा मर्किएको भन्दै लुके । संसदीय चुनाव बहिष्कार गर्ने बेलामा घाँटी खसखस हुने रोग लाग्यो भन्दै छलिए । त्यसैले विप्लवजीमा यस्तै समस्या आयो । उनी रूपमा उग्रवामपन्थी र सारमा दक्षिणपन्थी संशोधनवादी हो । त्यसैले क्रान्ति सम्पन्न गर्न पार्टी पुनर्गठन गर्नुपर्यो ।’

नेकपा (बहुमत) का कार्यालय सदस्य दीपकले प्रशिक्षण दिँदै भने, ‘जुन विषयबाट प्रचण्डसँग बहस भएको थियो, त्यही कुरामा विप्लवसँग पनि बहस हुन पुग्यो । अब हामीले यसलाई अन्तिमपटक विभाजन गरेर जबाफ दिएका छौँ । व्यापक रूपले जनसङ्घर्ष उठाउनु पर्दछ । हामीले हचुवाको भरमा होइन, सुझबुझका साथ जनतालाई लिएर अगाडि बढ्नुपर्छ ।’

नेकपा (बहुमत) का कार्यालय सदस्य गुणराज लोहनीले आफूहरूले विप्लव—प्रकाण्ड कम्पनीसँग सम्बन्धविच्छेद गरेर क्रान्तिकारी विचारको रक्षा गरेको बताए । ‘नेपाली क्रान्तिको सपाट कार्यक्रम, कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रम बनाएका छौँ । यो कुरालाई विप्लवले बुझेनन् । उनले हाँसो लाग्ने कुरा गरेका छन् । के स्वाधीन संयुक्त सरकार र प्रगतिशील राष्ट्रिय सरकार भनेको एउटै कुरा हो ?’, लोहनीले प्रशिक्षणका क्रममा भने ।

नेकपा (बहुमत) का नेता प्रतीकले मन्तव्य राख्दै विप्लवले यही हलमा ६ महिनाअगाडि संसदीय व्यवस्थाको चुनावमा भाग लिने कुरा गरेको स्मरण गराए । उनले भने, ‘अब फुटको होइन, एकताको अभियान सञ्चालन गर्नु पर्दछ । हिजो विप्लव र प्रकाण्डका कारण क्रान्तिकारीहरूबीचको एकता बन्द भएको थियो । अब ढोका खुल्छ । अब हामी फुट होइन, एकताको पक्षमा लागेका छौँ ।’

ब्युरो इन्चार्ज महानको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको सञ्चालन सङ्घर्षले गरेका थिए । अन्य अतिथिहरूमा नेकपा (बहुमत) का नेताहरू प्रतीक, दीपेन्द्र, अमृत, राष्ट्रपति, वीरेन्द्र शाह, मीनराज, शीतल, पार्वती सहभागी थिए । प्रशिक्षणमा सहभागीहरूलाई शिखरले स्वागत गरेका थिए । कार्यक्रममा बाजीलालले जनवादी गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :