नेकपा (बहुमत) रामेछाप सङ्गठन विस्तार र राजनीतिक छलफल अभियानमा

नेकपा (बहुमत) रामेछाप सङ्गठन विस्तार र राजनीतिक छलफल अभियानमा

मन्थली : नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पार्टीको रामेछाप–दोलखा–सिन्धुली इन्चार्ज माधव गौतम र पार्टीका रामेछाप संयोजक उजिरले सङ्गठन विस्तार अभियानसँगै विभिन्न राजनीतिक दल, स्थानीय निकायका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । गौतम, उजिर, पार्टीका जिल्ला सदस्यहरू ध्यानबहादुर तामाङ, सीता गौतम, लक्ष्मी श्रेष्ठलगायत नेता–कार्यकर्ताले देशको समसामयिक राजनीतिक र स्थानीय समस्याका विषयमा बुधबार मन्थली नगर प्रमुख लवकुमार श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतसँग छलफल गरेका हुन् ।

छलफलमा इन्चार्ज गौतमले राष्ट्रघाती एमसीसी सम्झौता, एनसेलको ठगी, स्थानीय निकायमा हुने भ्रष्टाचार, अनियमितताको विरोध गर्न र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आफ्नो पार्टीसँग समन्वय गरेर काम गर्न सुझाव दिएका थिए । राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर्न नेपाल सरकारसँग पहल गर्न, पेट्रोलियम पदार्थलगायत उपभोग्य पदार्थमा सरकारले गरेको मूल्य वृद्धि तत्काल खारेज गरी जनजीवन सहज बनाउन आफ्ना तर्फबाट काम आरम्भ गर्न तयार रहेको नगर प्रमुख श्रेष्ठ र उपप्रमुख बस्नेतले प्रतिबद्धता जनाएको छलफलमा सहभागी संवाददाता नकुल चौलागाईंले जनाएका छन् ।

राष्ट्रिय स्वाधीनताका विषयमा देशभक्त शक्ति एक भएर लड्नुपर्ने र जनतालाई नगरपालिकाले दिने सेवासुविधा, विकास निर्माणका काम बिनाभन्झट र अविलम्ब सुरु गर्न नेकपा (बहुमत) ले सुझाव दिएको छ ।
छलफलका क्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) रामेछापका इन्चार्ज गौतम र संयोजक उजिरले भ्रष्टाचारमुक्त नगरपालिका बनाउन, बेरुजू अन्त्य गर्न पनि सुझाव दिएका थिए । नगरपालिकामा बेरुजू भएको पाइएमा वा भ्रष्टाचार भएमा पार्टीले शून्य सहनशीलता अपनाई जनताको साथ लिएर कारबाही अघि बढाउने चेतावनीसमेत दिएका थिए ।

नेकपा (बहुमत) का नेता–कार्यकर्ताहरू कार्यालयमै उपस्थित भएर सुशासनको सुझाव दिई आफूलाई प्रोत्साहित गरेको प्रमुख र उपप्रमुखले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :