नेकपाद्वारा जनआन्दोलन दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण

नेकपाद्वारा जनआन्दोलन दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण

अछाम : नेपाल कम्युनिस्ट पार्टी आछामले ३१ औँ जनआन्दोलन दिवसको अवसरमा जिल्ला अस्पताल अछाममा फलफूल वितरण गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन लगायतका नेताहरूले जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।

कार्यक्रममा नेता पुन लगायत जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सिना, जिल्ला सचिव निरक शाही, जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाही, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बिरेन्द्र शाह, दलित मुक्ति मोर्चा, नेपालका अध्यक्ष दिलिप विक, अखिल (क्रान्तिकारी) जिल्ला इन्चार्ज रमेश बि.सी, युवा नेता बिक्की ओझा लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेता पुनले अस्पतालमा उपचाररत सम्पूर्ण बिरामीहरूलाई फलफूल वितरण गर्दै शिघ्र स्वास्थ लाभको कामना गरेका थिए । फलफूल वितरण पश्चात आयोजित कार्यक्रममा बोल्दै नेता पुनले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा पनि सरकारले धेरै लापरवाही गरेको बताएका थिए । उनले स्वास्थ्य उपचार गर्न पाउनु जनताको मौलिक हक भए पनि धेरै बिरामी उपचार गर्न नपाई मर्नुपरेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार अन्त्य हुनुपर्ने बताए । जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थामा पनि दक्ष चिकित्सक र प्राविधिक उपकरणको उचित व्यवस्थापन गर्न नसक्नाले बिरामीले स्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको र ठूलो लगानी गरेर मेडिकल शिक्षा पास गरेर अस्पतालमा कार्यरत कर्मचारीहरूको उचित मुल्याङ्कन हुन नसकेको बताएका छन् । साथै आफ्नो पार्टीले सरकारसँग जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा पार्टीले खबरदारी गरिरहेको र जनताको अधिकारका लागि संघर्ष गर्न हरदम तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :