गन्तव्य वैज्ञानिक समाजवाद

लेखक : झपेन्द्रराज वैद्य

पचासौँ वर्ष बित्यो । खिचडी अझै पाकेको छैन । दाह्रीजुँगा फुले । हिउँझैँ कपाल बन्यो । अझै वीरबलको खिचडी पाक्दैन । ऊर्जा हुनुपर्छ तब मात्र खिचडी पाक्छ । ऊर्जाबिना आत्मगतको गीत जति भट्ट्याए पनि जनताले पत्याउँदैनन् । क्रान्तिका नाममा एउटा सिन्को भाचिँदैन भने जनताले कसरी विश्वास गर्न सक्लान् ? कम्युनिस्ट आन्दोलनमा यो प्रवृत्ति देखिँदै आएको छ । बर्नस्टिन, काउत्सीलगायतले यही प्रवृत्ति देखाएका छन् । अरु हिँडेको बाटो भत्काइदिने, हिलो छ्यापाछ्याप गर्ने अनि कसरी क्रान्ति अगाडि बढ्छ ? क्रान्ति गर्ने बेला भएको छैन भन्ने अनि गर्नेलाई हतोत्साही गर्ने ? यो प्रवृत्तिले खालि संशोधनवादी, प्रतिक्रियावादी तथा पश्चगमनलाई फाइदा पुगेको हुन्छ । सारमा यो प्रवृत्ति सारसङ्ग्रहवादी हो । ढुलमुल अनि गोलचक्करवादी हो ।

विप्लव नेकपाले एकीकृत जनक्रान्ति अगाडि बढाएको अवस्था छ । दुई वर्षसम्म प्रतिबन्धित पनि हुने अवस्था आयो । यो लडाइँ सरकारविरुद्ध देखिए पनि सारमा अमेरिकी साम्राज्यवादविरुद्धको थियो भन्न सकिन्छ । अमेरिकी राजदूतले भिडियो कन्फरेन्समार्फत यो सार्वजनिक गरेको थियो । सरकारले एनसेलको कर छल्यो अनि त्यसको चोट अमेरिकामा आएको हो । करको भाग पाएका शीर्ष नेताहरू चुपचाप लागे । अरु नजिकका साथीहरू रमिता हेरेर बसे । कुरा यही नै हो । खासमा नेकपाले गरेको क्रान्ति जनयुद्ध थिएन र होइन पनि । यो एउटा जनविद्रोह थियो । शान्तिपूर्ण विद्रोह । उही जनयुद्धको चस्माले हेरेर मूल्याङ्कन गर्नु ठीक नहोला । यो न लेनिनले भनेजस्तो सहरबाट उठेको युद्ध हो न त माओले गरेको गाउँबाट उठेको युद्ध । यो त सहरबाट पनि भयो, गाउँबाट पनि । महँगी, चरम शोषण, भ्रष्टाचार अनि अतिक्रमणविरुद्धको विद्रोह थियो । मेरो विचारमा शान्तिपूर्ण तरिकाले यो लडाइँलाई अगाडि बढाउनुपर्छ । सबैको ध्यान वैज्ञानिक समाजवादतर्फ हुनुपर्छ । कम्युनिस्ट मात्र होइन, गैरकम्युनिस्ट पनि लाग्नुपर्छ । देशभक्त, प्रजातन्त्रप्रेमी, साम्राज्यवादविरोधी सबै लाग्नुपर्छ । शान्तिपूर्णभन्दा प्रत्याक्रमणमा वेद पढने कुरा पनि हुँदैन । बलप्रयोग पनि हुनसक्छ । यो परिस्थितिमा भर पर्ने कुरा हो ।

जहाँसम्म नेकपाले अघि सारेको जनमतसङ्ग्रहको कुरा छ जनताको राय बुझ्नु राम्रो कुरा हो । दुई वर्षको लडाइँले जनतामा आत्मगत स्थिति आएको भनुभूत हुन्छ । जनमतको निर्वचन भएकाले यो शान्तिपूर्ण नै हुन्छ । संसदीय निर्वाचनमा पनि कुनैकुनै ठाउँमा रक्तपात भएको देखिन्छ तर पार्टी–पार्टीबीचको प्रतिस्पर्धा भने यसमा कम देखिन्छ । यसमा दुई पक्ष हुन्छन् : एउटा वैज्ञानिक समाजवादी, अर्को यथास्थितिवादी । माओको निधनको ५० वर्षपछि पनि नयाँ जनवाद फलाकेर काम छैन । मलाई लाग्छ, नयाँ जनवाद भन्नु समाजवादमा जाने एउटा ढोका हो । एउटा चरण हो । जब साम्राज्यवाद जान्छ, त्यसबेला वैज्ञानिक समाजवाद आउँछ । जब दलालहरू खतम हुन्छन्, त्यस बेला वैज्ञानिक समाजवाद आउँछ । नयाँ जनवाद ल्याउँछौँ भन्नेले ल्याइहाले भैगो नि तर त्यसै कोठामा बसेर गीत गाएको जस्तो हुनेरहेनछ जनवाद । यसका लगि लाग्नुपर्छ । त्याग चाहिन्छ । किसान, मजदुर र जवान युवक चाहिन्छ । सबै सीसीएम होल टाइमर बन्नुपर्छ । सशक्त पार्टी, मोर्चा र जनमुक्ति सेना चाहिन्छ । ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने हो भने नेपालमा ०६२।०६३ जस्तो आधीबेरी चाहिन्छ तर यो साइत हेराएर हुँदैन। ज्योतिषीलाई हेराएर हुँदैन । व्यवहारमा काम देखाउनुपर्छ । नत्र छट्टु स्यालजस्तो हुन्छ । नेकपाको तीनबुँदे सहमति देख्दा सरकार जनताको राय बुझने कुरामा सहमतजस्तो देखिन्छ । प्रगतिशील सरकारको नेतृत्वमा जनमत गर्नुपर्छ ।

अहिले नयाँ फड्को आएको छ । नयाँ छलाङ । यही रातो फलाम भएको बेला फलाम पिट्नुपर्छ । एकीकृत क्रान्तिले गाउँघरमा नयाँ बहस ल्याएको छ । अब पुरानै जनयुद्ध खोजेर हुँदैन । नयाँ जाँगर र जोस लिएर जनमतसङ्ग्रहमा लाग्नुपर्छ । कि त सीधै वैज्ञानिक समाजवादका लागि जनविद्रोहमा लाग्नुपर्छ । सरकारले अविलम्ब गिरफ्तार गरिएका सबै नेताकार्याकर्ता छोडिदिएर विश्वासको वातावरण बनाउनुपर्छ । पद र प्रतिष्ठाका लागि सरकार अन्योल र अस्थिरतामा छ । अविश्वासको प्रस्तावका लागि कुनै पनि पार्टीले दर्ता गराउन सकेको छैन । संसद् विघटन र पुनस्थापनाका कुराले संसदीय व्यवस्था असफल भएको छ । यही असफलताको बीचबाट वैज्ञानिक समाजवाद ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :