जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर कार्यक्षेत्रमा फर्किए सहभागीहरू

जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर कार्यक्षेत्रमा फर्किए सहभागीहरू

काठमाडौँ : सूचना, सन्देश र विचारको माध्यमबाट श्रमजीवी जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर काठमाडौँबाट तीसभन्दा बढी पत्रकार बाहिरिएका छन् । रातो खबर प्रकाशन गृह र जनपत्रकार सङ्गठनको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित तीनदिने आधारभूत जनपत्रकरिता तालिममा सहभागी पूर्वी क्षेत्रका युवा पत्रकारहरू वर्गीय पक्षधरताका आधारमा आफूलाई आम श्रमजीवी शोषीत–पीडित वर्गका पक्षमा कलम चलाउने उत्साह र प्रतिबद्धता बोकेर राजधानीबाट कार्यक्षेत्रमा फर्किएका हुन् ।

पत्रकारिता तालिममा सहभागी एक प्रशिक्षार्थी पत्रकारले तालिम समापनसत्रमा भने, ‘पत्रकारिता त ठूलो विश्वविद्यालय रहेछ । म यहाँ लिएका ज्ञान व्यवहारमा उतार्न प्रयत्न गर्नेछु ।’

नेपालमा निगम पुँजीवादद्वारा सञ्चालित बिग हाउसहरूले नेपाली सञ्चारमाध्यममा एकछत्र रजाइँ गरिरहेको बेला श्रमिक वर्गको मुक्ति र राष्ट्रिय स्वतन्त्रताका पक्षमा जनताका आवाज मुखरित गर्ने प्रयत्नस्वरूप रातो खबर प्रकाशन गृह र जनपत्रकार संगठनले आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेका हुन् । आधुनिक समाजमा साम्राज्यवादी सञ्चारपद्धतिले एकाधिकार कायम गरिरहेको अवस्थामा जनपक्षीय सञ्चारमाध्यमहरूको भूमिकालाई अझै उचाइमा उठाउने उद्देश्यले रातो खबर प्रकाशन गृह र जनपत्रकार सङ्गठनले जनपक्षीय सञ्चारकर्मी उत्पादन गर्न नारायणीदेखिपूर्वका जिल्लाहरूबाट काठमाडौँमा सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षित गरेका हुन् । चैत २ गतेबाट ४ गतेसम्म काठमाडौँमा जनपत्रकारिता तालिम आयोजना गरिएको थियो ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यबद्धता, मानवअधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’ नारासहित सम्पन्न तालिमको उद्घाटनसत्रमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले वर्तमान राज्यप्रणालीमा आमूल परिवर्तन नभएसम्म प्रेस स्वतन्त्रता सम्भव नभएको भन्दै राज्यसत्ताको परिवर्तनका लागि जनपक्षीय पत्रकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । वर्तमान संसदीय व्यवस्थामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको विषयमा सन्तुलन नमिलेको भन्दै बास्तोलाले पत्रकारहरूले त्यसतर्फ गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

काठमाडौँको बागबजारमा उद्घाटन भई गौशालामा समापन भएको तीनदिने तालिममा प्रशिक्षार्थीहरूलाई प्रशिक्षित गर्दै रातो खबर प्रकाशनगृहका पूर्वनिर्देशक अनिल शर्माले समाजमा पत्रकारिता पनि वर्गीय पक्षधरताका आधारमा हुने बताए । उनले जनपक्षीय पत्रकारहरूले निर्वाह गर्ने भूमिका आमश्रमजीवी सर्वहारा वर्गका पक्षमा हुनुपर्नेमा जोड दिए । विश्वभरि पत्रकारिताका क्षेत्रमा हैकम जमाएको साम्राज्यवादी धारको विरोधमा जनपक्षीय धार बलियो बन्दै गएको समयमा नेपालमा पनि जनपक्षीय पत्रकारिताको क्षेत्र फराकिलो बन्दै गएको र यसको भूमिकालाई उचाइमा पुर्याउनुपर्ने बताए ।

तालिममा मिसन पत्रकारिताका बारेमा लामो व्याख्या गर्दै रातो खबरका पूर्वनिर्देशक गुणराज लोहनीले पत्रकारितालाई विशुद्ध व्यावसायिक भनेर नारा दिइए पनि साम्राज्यवादले यसलाई बृहत् मिसन र व्यापारमा परिणत गरेकोे बताए । उनले पत्रकारिता निकै शक्तिशाली र चुनौतीपूर्ण पेसा भएको बताउँदै पत्रकारितामा २ वटा पक्ष हाबी भएको र जनपक्षीय पत्रकारिताले मोर्चाको नेतृत्व गर्नुपर्ने बताए ।

कार्यक्रममा धौलागिरिबाट सहभागी प्रशिक्षार्थी उषा मगरले युद्ध–पत्रकारिता र पत्रकारिताका विषयमा तालिममा आएर धेरै कुरा बुझ्न पाएको भन्दै विगतमा जनयुद्धका मोर्चाहरूमा लडिरहँदा भएको अनुभूति भन्दा पत्रकारिता तालिममा भएको अनुभूति नितान्त फरक रहेको बताइन् ।

यस्तै म्याग्दीबाट तालिममा सहभागी रेडियोकर्मी बादल शाहीले तालिमले नयाँ अनुभूति गराएको भन्दै यसबाट सिकेका कुरा व्यवहारमा लागू गर्ने बताए । मकवानपुरबाट तालिममा सहभागी दीपक लामाले तालिमबाट सिकेका कुरा कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता जनाए । तालिम लिन झापाबाट काठमाडौँ आएका खगेन्द्र सिटौलाले झापाबाट आएर तालिम लिन पाउनु आफ्नो जीवनकै ठूलो उपलब्धि भएको बताए । काठमाडौँका क्रिस अर्यालले फेसबुकका भित्ताहरूमा मात्र नभएर मिसन पत्रकारिता गर्ने पत्रकारहरूले पत्रकारिताको माध्यमबाट आफ्नो वर्गीय चरित्र देखाउन सक्नुपर्ने बताए ।

अग्रज पत्रकार सुदर्शनराज पाण्डेले आफूले जानेका कुराहरू व्यवहारमा प्रयोग गर्नुपर्ने भन्दै जनपक्षीय पत्रकारिता गर्नेहरू विशेष चनाखो हुनुपर्ने बताए । समाजमा पत्रकारिताका क्षेत्रमा आएका विभिन्नखाले विकृतिलाई जनपक्षीय पत्रकारिताका माध्यमबाट चिर्नुपर्ने बताए ।

तालिममा सहभागी प्रशान्त तामाङले तालिमले आधारभूत हिसाबले समाचार बनाउन सक्ने बनाएको भन्दै पत्रकारिता निकै ठूलो विश्वविद्यालय भएको अनुभूति राखे ।

तालिमको समापन गर्दै रातो खबर प्रकाशन गृह प्रालिका निर्देशक वसन्त श्रेष्ठले पत्रकारिता समाजको ऐना भएको र पत्रकारिताले देश र जनतालाई कस्तो बनाउने भन्ने विषयको नेतृत्व गर्ने बताए । उनले जनपक्षीय पत्रकारिताका क्षेत्रमा काम गर्ने सयौँ पत्रकार उत्पादन गर्न र दर्जनौँ अनलाइनहरू सञ्चालन गर्नुपर्ने बताए ।

रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले पत्रकारिताले समाजलाई सूचना प्रदान गर्ने मात्र नभएर सूचना, शिक्षा, चेतना, मनोरञ्जन र उत्प्रेरणा दिने भएकाले नयाँ समाज व्यवस्था निर्माणका लागि महत्वपूर्ण भूमिका हुने बताए । जनपक्षिय पत्रकारिता गर्नेहरूले गरिब, निमुखा र उत्पीडित श्रमजीवी जनताका पक्षमा आवाज बुलन्द पार्नुपर्ने उनको भनाइ थियो । दलाल पुजीवादी व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गराउने अभियानमा जनपक्षीय पत्रकारहरूले कमम बोकेका सिपाहीको काम गर्नुपर्ने धारणा उनले राखे ।

वर्गीय समाजमा कुनै पनि सञ्चारमाध्यम वर्गीय पक्षधरताभन्दा बाहिर रहनसक्ने अवस्था नरहेको अवस्थामा सत्ताको वरिपरि रहने सञ्चारमाध्यमले जहिले पनि सत्ताको पक्षपोषण गर्दछ । त्यस्तै सत्ताबाहिर रहने सञ्चारमाध्यमले श्रमजीवी जनताका पक्षमा बोल्ने प्रयत्न गरिरहेको हुन्छ । यही सिलसिलामा नेपालमा जनपक्षीय पत्रकारिताको भूमिकालाई अझ उचाइ प्रदान गर्नका लागि रातो खबर प्रकाशन गृहले बेलाबेलामा यसकिसिमका तालिमहरू आयोजना गर्दै आएको छ भने यसपटक पनि काठमाडौँ र कैलालीमा दुईवटा आधारभूत पत्रकारिता तालिम आयोजना गरेको छ । कैलालीमा पचासजना हाराहारी युवाले जनपक्षीय पत्रकारिता तालिम लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :