तिमी कहाँ छौ कवि ?

कविता

खै !
कहाँ छन् यतिबेला
सर्जकहरू, कविहरू
कवित्व बुझ्ने चेतनाहरू
सिर्जना देख्ने अन्तरात्माहरू
खै, कहाँ हराएका छन्
म खोजिरहेको छु
मेरा आत्माहरू खोजिरहेका छन्
तिमी कहाँ छौ कवि ?
चेतनाहरू भत्किएका छन्
आत्माहरू बिटुलिएका छन्
पत्थरहरू चहर्याएका छन्
तर,
आत्माहरू झन् कठोर बनिरहेका छन्
आत्माहरू सुन्न तयार छैनन्
कविहरू भन्न तयार छैनन्
सिर्जनाहरू कतै
सिरानिमुनि थन्किएका छन्
कतै, साधरण गोष्ठी र सम्मेलनहरूमा
आफैँभित्र मात्र गुनगुनाएका छन्
आफू आफैँभित्र मात्र हराइरहेका छन्
खै कहाँ हराएका छन् सिर्जनाहरू
कता भेटिन्छन् सर्जकहरू
म खोजिरहेको छु निरन्तर
तिमी कहाँ छौ कवि ?
तिमी कहाँ भेटिन्छौ ?
झुपडी खान नपाएर छटपटाएको छ
दलितहरू मारिन थालेका छन्
महिलाहरू दिनदहाडै लुटिइरहेका छन्
जताततै रगतका टाटाहरू
कुटिएका निलडामहरू
लुटिएका पसिना धाराहरू
जहीँ तहीँ आन्दोलित बनेर
जुर्मुराउन थालेका छन् यतिबेला
म पुगिरहेको छु ती आहतहरूमा
खोजिरहेको छु म त्यही भीडमा
सिर्जनाहरू, कविहरू
खै कहाँ हराइरहेका छन् सिर्जनाहरू
खै कहाँ छन् आत्माहरू
के समाज आत्माविहीन बनेर
दुखिरहेको छ यतिबेला ?
कवित्व बुझ्न बिर्सिसक्यो त समाजले ?
कि सर्जकहरूले देख्न छाडिसके ?
के कविहरूको आत्मा मर्दै छ ?
मेरो मथिङ्गल खलबलिएको छ
कतै समाजमा विचार मरेको त छैन ?
चेतना हराएको त होइन ?
प्रश्नहरू उठ्न थालेका छन्
चुनौती बनेर सुनामीले छोपिरहेको छ
सर्जकहरूलाई, सिर्जनाहरूलाई
तिमी कहाँ छौ कवि ?
तिमीलाई कहाँ भेट्न सकिन्छ ?
इतिहासलाई दिशा प्रदान गर्न सक्ने
जारहरूलाई हल्लाउन सक्ने
हिटलर र मुसोलोनीलाई दुत्कार्ने
च्याङ काई सेकहरूलाई काबुमा राख्ने
पोप, पादरी र सम्राटहरूको
सामन्त दलाल र नोकरशाहीहरूको
दरबार हल्लाउन सक्ने
इतिहास बदल्न सक्ने
ती कविहरू, ती साहित्यकारहरू
खै कहाँ हराइरहेका छन् यतिबेला
कुनामा घोत्लिएर कलम समाउँदा
दिमागमा चल्मलाएका फुटपाथहरू
रुँदै, कराउँदै चित्कारिरहेको
हाम्रो समाज र हाम्रा झुपडीहरू
के यतिबेला
सर्जकहरूको औँलाबाट
कोरिन, लेखिन, धक मानिरहेका छन् ?
त्यो फुटपाथमा बस्नेहरू हाम्रा आफन्त हुन्
त्यो झुपडपट्टी हाम्रो समाज हो
भन्नलाइ हामी, लजाउन थालेका हौँ ?
या लजाइरहेका छौ ?
यतिबेला झुपडी लेखिएको
असमानता, विभेद र अन्याय देखिएको
लेख्नैपर्ने तर नलेखिएको
साहित्य, सिर्जना फुल्न छाडिसके
कविहरूको कलम काँपिरहेको छ
कापीका पानाहरू लजाउन थालेका छन्
त्यसैले म सोधिरहेको छु
तिमी कहाँ छौ कवि ?
मर्दै गरेको चेतनाहरू
कठोर बनिरहेका आत्माहरू
हराइरहेको हाम्रो इतिहास
बोल्नैपर्ने सत्य पक्ष
खोतल्नैपर्ने सामाजिक रहस्य
लेख्नुपर्ने दायित्व सर्जकहरूको हो
झकझक्याउनुपर्छ अब कविहरूले
उठाउनुपर्छ फुटपाथका कुराहरू
सुनाउनुपर्छ मुक्तिका कथाहरू
संघर्षका महान इतिहासहरू
कविहरू साहित्यकारहरू
कहाँ हराइरहेका छन्
म खोजिरहेको छु
खोजिरहेका छन् मेरा आत्माहरू
ठालुहरूले आयोजना गरेका
ठुला ठुला भव्य कार्यक्रमहरूमा
अभिनन्दित भएर
अबिर र दोसल्ला ओढेर
अभिनन्दनपत्र घरका भित्तामा सजाएर
कतै कविहरू गजक्क त परिरहेका छैनन् ?
यसैलाई जीवनको सार्थकता मानिरहेका त
छैनन् ?
कतै कविहरू
यो महाभूल त गरिरहेका छैनन् ?
ए सर्जक ! ए कवि मन !
तिमी भ्रमित बन्नु हुन्न
तिमीले जीवनभर लेखेको साहित्य
तिम्रा कलमहरूको प्रगतिशील मानक
तिनै ठालुहरूको अत्यचारविरुद्ध
अन्यायी सत्ताको विरोध गर्दा गर्दै
हुर्किएका हुन, वयस्क बनेका हुन्
आज तिनै ठालुहरूबाट अभिनन्दित बनेर
कथित अभिनन्दनपत्र भित्तामा सजाएर
तिमीले सत्य बिर्सनु हुन्न
तिमीले न्याय बिर्सनु हुन्न
ए सर्जक !
तिमीले अब च्यात्नुपर्छ
कथित सम्मानपत्रहरू
तोड्नुपर्छ वैभवतासँगको आत्मिक सम्बन्ध
त्याग्नुपर्छ अब झिनामसिना सुख
तिल्मिलाउनुहुन्न हरामखोर बजारहरूमा
यतिबेला अत्यचारले सीमा नाघेको छ
मारिइरहेका छन् दलितहरू
हराइरहेका छन् महिलाहरू
छट्टपटाइरहेका छन् गरिबहरू
दिशाविहीन बनेको छ युवापुस्ता
तिमीले चेतना प्रदान गर्नुपर्छ
समाजलाई गोरेटो देखाइदिनुपर्छ
खै कहाँ छौ कवि ?
म तिमीलाई नै खोजिरहेको छु
म आत्मा लेखिरहेको छु
किनकि म कवि होइन
तिमीले खाली छोडेका फुटपाथहरू
झुपडी र गाउँबस्तीहरूमा
तिमीबिनाको रिक्तता
केही क्षण पुरिरहेको छु
ए सर्जकहरू हो ! उठ !!
तिमीलाई खोजिरहेको छ
सचेत दुनियाँले, गरिब वर्गले !

३१ जेठ, २०७७ – संखुवासभा हिरासत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :