सांस्कृतिक प्रतिरोध दिवस र सांस्कृतिक सामूहिक हत्याकाण्डहरू

२३ औँ सांस्कृतिक प्रतिरोध दिवस

२०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित चिनीमाया तामाङ, गुम्बासिं तामाङ, शुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवर मादल, बाँसुरी, हार्मोनियम बोकेर काभ्रेपलान्चोक जिल्लाको अनेकोटमा पुग्यो । उनीहरू अनेकोटकै एक घरमा बसे । भोक, थकाइ र अनिंद्राका बिच पनि उनीहरूले त्यहाँ गरिबी, उत्पीडन र उन्मुक्तिको गीत गाए । गीत टुङ्ग्याउन नपाउँदै एमालेको सुराकीमा गएका प्रहरीहरूले जनताका कलाकार बसेको घरलाई घेरा हालेर अन्धाधुन्द गोली बर्साउन थाले । ताकेरै जनताका कलाकारको छाती छेडियो । रगतको भेल बग्यो । जनकलाकारका मादल फुटाइयो, बाँसुरी भाँचियो, गितारका तारहरू छिनालियो अनि घरमा आगो लगाइयो । जनताका कलाकारहरूले फासिस्ट सत्ता र तिनका मतियारका विरुद्ध यथासक्दो प्रतिरोध पनि गरिरहे । रक्तमुछेल जनकलाकारहरू दन्कँदो आगोका लप्काका बिच पनि पार्टी, जनता र जनयुद्धको पक्षमा नारा लगाइरहे । उनीहरूले आत्मसमर्पण गरेनन्, बरु हाँसीहाँसी सहादत स्विकारे । बेलुकीपख सरकारी सञ्चार माध्यम रेडियो नेपालले यस्तो समाचार प्रशारण गर्यो, ‘काभ्रेको अनेकोटमा मुठभेडमा बन्दोबस्तीका सामानसहित ७ जना माओवादीको मृत्यु !’

चैत ५ अर्थात् प्रतिरोध, आक्रोश र प्रतिवद्धताको दिन हो । यो वर्गप्रेमद्वारा लछप्पै हुने र दुश्मनप्रति चरम घृणाको आगो ओकल्दै जनताका महान् छोराछोरीले उच्च बलिदान, साहस, शौर्य र सपनाको भावधारामा लतपतिँदै नयाँ इतिहास बनाएको दिन पनि हो । यो दिन जनताका लेखक, कलाकार, साहित्यकारहरू विशेष संवेदित हुने गर्दछन् । देश र जनताका मुक्तिका लागि क्रान्तिकारी धाराको अवलम्बन सांस्कृतिक प्रतिरोध दिवसको केन्द्रीय मूल्य हो । जबसम्म क्रान्ति सम्पन्न हुँदैन, जबसम्म जनताको मुक्ति हुँदैन, जबसम्म जनताको मुक्ति हुँदैन, तबसम्म निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहनु सांस्कृतिक प्रतिरोध दिवसको सन्देश हो । यसले वैचारिक–सांस्कृतिक क्रान्तिको अपरिहार्यतालाई मुखरित गरेको छ । देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्ति सहिद हुन्छ । सामन्तवाद तथा साम्राज्यवादले खडा गरेका सबै किसिमका विभेद, दासता, शोषण र दमनका पर्खाल भत्काउन विभिन्न समयमा थुपै्र सपूतहरूले रगत बगाएका छन् । जनमुक्तिको क्षितिज नउघ्रिँदासम्म यो सिलसिला जारी जारी रहनेछ । सबै किसिमका मानवताविरोधी देशी–विदेशी, उत्पीडित र शोषणबाट मुक्त भएर सुन्दर समाज, सुन्दर जीवन अनि सभ्य र उच्च समाजको निर्माण नहुँदासम्म सहिद हुने प्रक्रिया रोकिँदैन !

नेपालको इतिहासको प्रत्येक चरणमा सहिदहरूको बलिदानले पर्खाल भत्काउँछ र अग्रगामी परिवर्तनको ढोका खोल्छ तर नेपालमा त्यसलाई परिवर्तनकारी जनताले संस्थागत गर्न नपाउँदै सहिदी उद्देश्यलाई कुल्चने काम हुँदै आएको छ । अग्रगामी परिवर्तन र मानवमुक्ति यात्राकै हिस्साका रूपमा नेपालमा जनयुद्ध भएको थियो । जनयुद्ध दासता र पराधीनताको अस्वीकृतिको महान् युद्ध थियो, जसमा हजारौँ जनयोद्धाले बलिदान गरे । नेपालको इतिहासमा जनयुद्धकालीन बलिदान–गाथा अद्वितीय छ । जनयुद्धकालीन त्याग र समर्पणको जगमा उठेको जनआन्दोलनको लपेटाले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदिएकै हो । यसर्थ, सहिद कुनै एक्लो व्यक्ति होइन, त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । साथै, त्यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जन विरुद्धको खबरदारी पनि हो । त्यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो । त्यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ । मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हुनु हो । ऐतिहासिक क्रममा सहिदका उद्देश्य एवम् आदर्शहरू प्रगतिशील र सर्वकालिक हुन्छन् । क्रान्तिकारी कार्यभार पूरा गर्ने दायित्व हाम्रै काँधमा छ । सांस्कृतिक आन्दोलन र सांस्कृतिक प्रतिरोध दिवसको औचित्य पनि यसैमा सङ्केन्द्रित छ ।

२०५५ सालको चैत ५ गतेको दिन तत्कालीन बर्बर र अमानवीय तानाशाही सत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । अनेकोट मात्र होइन, रोल्पाको भाबाङ र गुम्चाल, अछामको डुङ्गला र विनायक, कालीकोटको घोडेकोट र ओदानकु, डोल्पाको माझफाल, डोटीको मुडभरा, रौतहटको गौरलगायतका स्थानहरूमा सामूहिक सांस्कृतिक हत्याकाण्ड भएका छन् । प्रतिक्रियावादी रोल्पाको भाबाङ र गुम्चालमा सामूहिक सांस्कृतिक हत्याकाण्ड मच्चायो । रोल्पाको भाबाङमा सांस्कृतिक प्रशिक्षण लिइरहेका ११ जना जनकलाकारहरूलाई २०५६ साल असार ८ गते कब्जामा लिएर शुकप्रसाद बुढा मगर ‘झन्कार’, लालबहादुर सार्की ‘बलदेव’, दिलकुमार बुढा मगर ‘माइन्ड’, मङ्गल बुढा मगर ‘झरना’, सुन्दर घर्ती मगर ‘कपिल’, गोविन्द घर्ती मगर ‘विशाल’, दुर्गासिंह घर्ती मगर ‘विकास’, दीपेन्द्र घर्ती मगर ‘सुजन’, दुर्गाबहादुर घर्ती मगर, कुमारी घर्ती मगर र देउमती विश्वकर्मालाई मारियो । त्यसैगरी, फासिस्ट सत्ताले रोल्पाकै गुम्चालमा २०५८ चैत ४ गते सामूहिक सांस्कृतिक हत्याकाण्ड मच्चायो, जहाँ ४ जना जनकलाकार पार्वती परियार, बालसरी रोका, कृष्ण घर्ती मगर र दुर्गी बाठा मगर मारिनुभयो ।

२०५५ सालको चैत ५ गतेको दिन तत्कालीन बर्बर र अमानवीय तानाशाही सत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । अनेकोट मात्र होइन, रोल्पाको भाबाङ र गुम्चाल, अछामको डुङ्गला र विनायक, कालीकोटको घोडेकोट र ओदानकु, डोल्पाको माझफाल, डोटीको मुडभरा, रौतहटको गौरलगायतका स्थानहरूमा सामूहिक सांस्कृतिक हत्याकाण्ड भएका छन् ।

नेपालको जनसांस्कृतिक आदोलनले निरन्तर भीषण दमनको सामना गर्नुपरेको छ । फासिस्ट सत्ताको दमनको शृङ्खला निकै लामो छ । यसैक्रममा २०५६ साल पुस २९ गते अछामको डुङ्गलामा प्रतिक्रियावादी सत्ताले सामूहिक सांस्कृतिक हत्याकाण्ड मच्चायो । डुङ्गलामा सांस्कृतिक कार्यक्रम देखाइरहेका जनकलाकार तथा जनता रहेको स्थलमा दर्शक भेषमा एसएमजी बोकिआएका सरकारी हतियारधारीको समूहले मञ्च तथा दर्शकदीर्घामा एकसाथ अन्धाधुन्ध र अनियन्त्रित गोली वर्षा गरी ९ जनाको जनताका कलाकारका हत्या गरेको थियो । डुङ्गला हत्याकाण्डमा गुम्बाबहादुर चलाउने, अम्बरबहादुर चलाउने, मदनबहादुर चलाउने, टेके कामी, पद्मबहादुर ढोली, ढाक्रे दमाई, भक्त बुढा, मानबहादुर र रामबहादुर चलाउने मारिनुभयो । अछामकै विनायकमा पनि सांस्कृतिक महोत्सव मनाइरहेका ६ जना जनकलाकर्मीहरूमाथि बम र गोली वर्षाइएको थियो । अछामकै विनायकमा अर्को सामूहिक सांस्कृतिक हत्याकाण्ड रचियो, जसमा २०६० साल मङ्सिर १८ गते जनताका प्रिय कलाकार ४ जना नौरता चलाउने, नरबहादुर नेपाली, नेत्रबहादुर कठायत र प्रभुनाथ धिमालको उच्च सहादत भयो ।

प्रतिक्रियावादी सत्ता जति जति सङ्कटग्रस्त बन्दै गयो, उति उति उन्मत्त र र क्रूर बन्दै गयो । ऊ अझै सामूहिक सांस्कृतिक हत्याकाण्ड मच्चाउँदै जान थाल्यो । फासिस्ट सत्ताले २०५६ सालमा कालीकोट जिल्लाको घोडेकोटमा जनताका प्रिय कलाकार मीनबहादुर बिस्टसहित ४ जना कलाकारको ज्यान लियो भने कालीकोट जिल्लाकै ओदानकुमा पनि २०५७ साल साउनमा रमेश भट्टराई र तिलकन्या खत्रीलाई मारियो । प्रतिक्रियावादी सत्ताले डोल्पा जिल्लाको माझफालमा २०५९ साल भदौ ९ गते अर्को सामूहिक सांस्कृतिक हत्याकाण्ड मच्चायो । उक्त हत्याकाण्डमा जनताका ८ जना कलाकारहरू जयन्ता घर्ती, यामकुमारी खड्का, नारायण शर्मा, सुनिल, नमुना, ललिता, प्रमोद र भिजनको सहादत भयो । साथै, प्रतिक्रियावादी सत्ताले डोटी जिल्लाको मुडभरा र छेंडामा अमानुषिक हत्याकाण्ड मच्चाएको थियो । पुरानो सत्ताले ७ जना जनताका कलाकारहरूको ज्यान जाने गरी अर्को सामूहिक सांस्कृतिक हत्याकाण्ड मच्चायो । डोटीको मुडभरास्थित शारदा माध्यामिक विद्यालयमा सांस्कृतिक कार्यक्रम देखाइरहेका विद्यार्थी र जनकलाकार थिए । उक्त हत्याकाण्डमा पनि जनताका प्रिय कलाकारलाई उच्च सहादत प्राप्त भयो । त्यसैगरी, छेंडामा पनि जनताका कलाकारहरूको उच्च सहादत भयो ।

जनताका कलाकारका रगतले सिँचिएको भूमिमा आज पनि आडम्बर र पाखण्डले विछट्टै घर गरिरहेछ । अपसंस्कृतिले छोप्दै लगेको यतिबेला हामी सांस्कृतिक प्रतिरोध २३ औँ दिवस मनाइरहेका छौँ । सांस्कृतिक प्रतिरोध दिवस निरन्तर क्रान्तिको सन्देश हो । सहिदको स्मृतीकरण भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरण र तिनका सपना पूरा गर्ने प्रतिबद्धता हो । यतिबेला सहिदका रगतले लेखेको इतिहास मेट्ने दुष्प्रयास हुँदै छ, जसको विरुद्ध निरन्तर प्रतिरोध गर्नु हाम्रो जिम्मेवारी हो । सांस्कृतिक प्रतिरोध दिवस वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारा वर्गलाई अन्तिम विजय नहुँदासम्म गरिने निरन्तर सङ्घर्षको प्रतीकात्मक दिवस हो । सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको अर्थ जनमुक्तिको महान् अभियानात्मक प्रवाहमा न्यायप्रेमी जनसमुदायलाई मोर्चाबन्दी गरी प्रतिरोध सङ्घर्षमा उत्रनु हो । तत्कालीन नेतृत्वद्वारा जनयुद्ध समाप्त भएको घोषणा गरिए पनि, विजातीय तत्वहरूसँग मिलेर उत्पीडित तथा सर्वहारा जनताका विरुद्ध अर्थात् अक्षम्य वर्गघात गरिए पनि आज जनमुक्तिको सपना र आकाङ्क्षा जिवन्त रहनु निकै महत्वपूर्ण कुरा हो । यही आकाङ्क्षा मुक्तिकामी जनताको आमूल परिवर्तनको आशावादिता र क्रान्तिधर्मिता हो । सहिदको सपना क्रान्ति थियो, वर्गीय मुक्ति थियो, जसको पूर्णताका लागि सर्वरुपेण लागिपर्नु आजको आवश्यकता हो । सांस्कृतिक प्रतिरोधले निरन्तर क्रान्तिको भावधारामा विचार, बलिदान, विश्वास र रूपान्तरण अर्थवहन गर्दछन् ।

जनताको गीत गाउँदै हिँड्नेक्रममा महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित सातजना कलाकारहरूलाई तत्कालीन सत्ताले नियन्त्रणमा लिएर जिउँदै आगो झोसेर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्षको चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आएको छ । महासङ्घले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस मनाउँदै आएको छ । वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै महान् बलिदानका सहिदीमूल्य हुन् । हामीले यही अर्थमा अनेकोटलगायत देशैभरका सांस्कृतिक सहिदहरूको सम्मान र स्मरण गर्दै आएका छौँ । ओली सरकार र नेपाल कम्युनिस्ट पार्टीका बिच सहमति भइसक्दा पनि यतिबेला अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष माइला लामा सङ्खुवासभाको खाँदबारीमा बन्दीजीवन बिताइरहनुभएको छ । राजनीतिक, सांस्कृतिक तथा सौन्दर्यचिन्तक हेमन्तप्रकाश वली ‘सुदर्शन’ लगायत सयौँ नेता–कार्यकर्ता बन्दीजीवन बिताइरहनुभएको छ । आज संसदीय सत्ताले पनि सिङ्गो देशलाई जेलमय बनाइरहेछ । हामी सिङ्गो देशलाई जेलमुक्त बनाउन चाहन्छौँ ।

हाम्रो सांस्कृतिक आन्दोलन निकै ठुला उथल–पुथल र उतार–चढावका साथ यहाँसम्म आइपुगेको छ । हामीले दलाल पुँजीवाद, सामाजिक फासिवादी, संशोधनवाद, नवसंशोधनवाद, अकर्मण्यता, अवसरवाद, जडसूत्रवाद, संसदीय सुधारवाद, मिहीन संशोधनवाद आदिका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेका छौँ । हाम्रो सङ्गठनले वर्गसत्रुका भीषण दमन, हत्या, आतङ्क, जेलनेल, बेपत्ता र गैरन्यायिक गोप्यहत्या र युद्ध–अपराध एवम् टाउकाको मूल्य तोक्ने र क्रान्तिकारी विचारको निषेध गर्ने प्रवृत्तिसित पनि निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । ‘रोमियो’, ‘किलो सेरा टु’, ‘सर्च एन्ड किल’, ‘कर्डेन र स्विफ्ट’, ‘कम्बिङ अपे्रसन’ आदि दमन पनि हाम्रो सङ्गठनले झेल्नुप¥यो । छजना खत्रीबन्धुको जनहत्याबाट सुरु भएको प्रतिक्रयावादी सत्ताको त्यो दमन–हत्या–निषेधकारी दमनात्मक अभियान सांस्कृतिक महासङ्घ सघन रूपमा प¥यो । ग्रामीण क्षेत्रमा कलम, मादल, सारङ्गी, बाँसुरी, गीत–सङ्गीत बोकेर हिँड्नेहरूलाई सामूहिक घेरा हालेर हत्या गरियो । सहरी क्षेत्रमा जनपक्षीय लेखक साहित्यकारलाई घेराबन्दीमा पारियो । इतिहासको यस घडीमा हामीले महान् सांस्कृतिक सहिदहरूको सम्मान र स्मरण गरिरहँदा हामीले मैमत्त फासिवादद्वारा बौद्धिक समूह बुद्धिजीवी, सामाजिक अभियन्ता, लेखक, साहित्यकार, कलाकारमाथि भइरहेको ज्यादती पटक्कै बिर्सनुहुँदैन । कुनै पनि जनपक्षीय संस्कृतिकर्मीले सत्य बोल्न डराउँदैनन्, डराउनुहुँदैन । कुनै चिन्तकले भनेका थिए– सत्य बोल्नु त्यो बेलाको सबभन्दा ठूलो क्रान्तिकारी हुनु हो ।

निरङ्कुश पञ्चायती सत्ताबाट छिन्ताङ, सुखानी र पिस्करमा गरिएका सामूहिक हत्याकाण्डकै प्रक्रियालाई अघि बढाउँदै काभ्रेको अनेकोटमा, रोल्पाको भाबाङ र गुम्चालमा, अछामको डुङ्गला र विनायकमा, डोटीको भुडभरा र छेंडामा, डोल्पाको माझफालमलगायत दर्जनौँ ठाउँमा सामूहिक विभत्स हत्याकाण्ड घटाइएको हो । कुख्यात गौरहत्याकाण्डमा पनि जनताका कलाकारहरू मारिनुभयो । यसै प्रक्रियामा कृष्ण सेन ‘इच्छुक’, मस्त बिष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डीबी थापा, रोहित कोइरालासहित एक सय सत्तरीभन्दा बढी संस्कृतिकर्मीको हत्या भयो । बौद्धिक–संस्कृतिकर्मीलाई पक्रेर जेल हालियो । सांस्कृतिक मोर्चामाथि समेत प्रतिबन्ध लगाइयो । यस्तो बेलामा पनि हाम्रो सङ्गठन र सङ्गठनका नेता तथा कार्यकर्ताबाट त्याग, बलिदान, शौर्य, साहस, समर्पण र प्रतिबद्धतालाई उँचो राखेर क्रान्तिको वैचारिकी एवम् भौतिकी रातो झन्डालाई झुक्न दिनुभएन । आजका दिनहरू हाम्रा लागि अनेकोटलगायतका सांस्कृतिक सहिदहरू, जनयुद्धीय सहिदहरू एवम् एकीकृत जनक्रान्तिका महान् सहिदरू विशेष स्मरणीय र उत्प्रेरक रहेका छन् । त्यसैले सांस्कृतिक प्रतिरोध दिवस महान् सहिदहरूको सम्मान गर्ने, उहाँहरूलाई सम्झने र उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता गर्ने दिन हो ।

१ चैत, २०७७

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!