तीनदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

तीनदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

काठमाडौँ : रातो खबर प्रकाशन गृह प्रालि र जनपत्रकार सङ्गठन नेपालको संयुक्त आयोजनामा काठमाडौँमा तीनदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
पत्रकारिता तालिमको समापनसत्रमा रातो खबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठ ‘प्रज्वलन’ ले पत्रकारिता समाजको ऐना भएको भन्दै पत्रकारिताले देश र जनतालाई कस्तो बनाउने भन्ने कुराको नेतृत्व गर्नुपर्ने बताए ।

उनले जनपक्षीय पत्रकारिताका क्षेत्रमा काम गर्न देशैभरि सयौँ पत्रकार र दर्जनाैँ अनलाइन चलाउनुपर्ने आवश्यकता रहेको बताए । यस्तै रातो खबर प्रकाशन गृहका पूर्वनिर्देशक गुणराज लोहनीले पत्रकारिता निकै शक्तिशाली र निकै चुनौतीपूर्ण पेसा भएको बताए । अहिले पत्रकारिताका क्षेत्रमा २ वटा प्रवृत्ति हाबी भएको भन्दै उनले जनपक्षीय पत्रकारिताले ब्याटलको नेतृत्व गर्नुपर्ने बताए ।

समापन कार्यक्रममा रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले पत्रकारिताले समाजलाई सूचना प्रदान गर्ने मात्र नभएर शिक्षा, चेतना, उत्प्रेरणा दिने र समाज रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्दै अझ जनपक्षीय पत्रकारिता गर्ने पत्रकारहरूले त गरिब, निमुखा श्रमजीवीहरूका पक्षमा आवाज बुलन्द पार्नुपर्नेमा जोड दिए । एकीकृत जनक्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा जनपक्षीय पत्रकारले कलमका सिपाहीको काम गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विकले पत्रकारिताले समाजलाई परिवर्तन गर्ने दिशामा एक कुशल सङ्गठक, कुशल नेता बन्नुपर्ने र समाजमा भएका विभिन्नखाले विकृति र विसङ्गतिका विरुद्ध जनपपक्षीय पत्रकारहरूले खेल्नुुपर्ने भूमिका महत्वपूर्ण हुने बताए ।

यस्तै रातो खबरकी अम्बिका चन्दले राज्यको चौथो अङ्ग मानिएको पत्रकारिता पेसा शक्तिशाली पेसा भएको बताउँदै यो पत्रकारिता सिकाइको पहिलो प्रयासस्वरूप सञ्चालित आधारभूत तालिम निकै महत्वपूर्ण भएको धारणा राखिन् ।

कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी पत्रकारहरूका तर्फबाट अग्रज पत्रकार सुदर्शनराज पाण्डे, उषा मगर, बादल शाही, दीपक लामा, खगेन्द्र सिटौला र प्रशान्त तामाङले अनुभूतिजन्य धारणा राखेका थिए ।

३ दिनसम्म चलेको तालिममा रातो खबर साप्ताहिकका पूर्वनिर्देशक अनिल शर्मा ‘विरही’, अर्का पूर्वनिर्देशक तथा राष्ट्रिय जनजागरण मञ्चका संयोजक गुणराज लोहनी, वरिष्ठ पत्रकार शिव गाउँले, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटर, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदी र ईरातो खबर अनलाइनकी सम्पादक अम्बिका चन्दले पत्रकारिताका विविध आयामका विषयमा तालिम दिएका थिए ।

चैत २ गतेबाट ४ गतेसम्म काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा देशैभरिबाट ३४ जना प्रशिक्षार्थी सहभागी भएका थिए । तीन दिनको तालिम पूरा गर्ने पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जनपत्रकार सङ्गठनकी कार्यालय सचिव जानकी चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :