युवा संगठन नेपाल गण्डकी व्युरो स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

युवा संगठन नेपाल गण्डकी व्युरो स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको गण्डकी व्युरो स्तरिय प्रशिक्षण कार्यक्रम गोरखामा सम्पन्न भएको छ ।

गोरखाको सिरानचोकमा बिहीबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले वर्तमान राजनैतिक अवस्था, प्रतिबन्ध फुकुवा पछिको पार्टीको आगामी कार्यक्रम, एकीकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद कसरी ल्याउने र त्यसको लागि युवाहरुको भुमिका के हुने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेकी थिइन् ।

इन्चार्ज भुजेलले नेपाल कम्युनिस्ट पार्टीले देशमा जसरी पनि वैज्ञानिक समाजवाद ल्याई छाड्ने र त्यसमा नेपाल कम्युनिस्ट पार्टी पूर्णरुपमा सफल हुने भन्दै युवाहरुलाई पार्टी नेतृत्वप्रति विश्वास गर्न आग्रह गर्दै निःस्वार्थ रुपले एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आव्हान गरिन् । उनले विगतमा प्रचण्ड बाबुरामले क्रान्तिलाई बीचैमा छोडेर दलाल र असफल संसदीय व्यवस्थामा रमाउँदै देश जनता र क्रान्तिप्रति गद्दारी गरे जस्तो आफुहरु र वर्तमान नेकपाको नेतृत्वले नगर्ने समेत प्रतिबद्धता व्यक्त गरिन् ।

प्रशिक्षणकै क्रममा उनले वार्ता भएर प्रतिबन्ध फुकुवा भएको सहज परिस्थितिमा संगठन निर्माणमा विशेष जोड पुर्याउन निर्देशन पनि दिइन् ।

उक्त प्रशिक्षण कार्यक्रममा गण्डक व्युरो अन्तरगतका सम्पूर्ण जिल्लाबाट पार्टी जिल्ला इन्चार्ज र सेक्रेटरीहरु लगायतको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :