कैलालीको घोडाघोडीमा नेकपाको जनसभा सम्पन्न

कैलालीको घोडाघोडीमा नेकपाको जनसभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले आफू बलिदान गर्न तयार रहेको बरु नझुक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगर समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीले देशको राष्ट्रिय स्वाधिनताको रक्षा र जनताको अधिकार स्थापित गर्न एकीकृत जनक्रान्तिमा रहेको जनाउँदै जनताको अधिकार स्थापित गर्न बलिदान गर्न तयार रहेको बताएका हुन् । शान्तिपूर्ण रूपमा जनताको अधिकारका लागि संघर्ष गरिरहेको बेला सरकारले प्रतिबन्ध लगाएको बताउँदै प्रतिबन्ध लगाएर तीन महिना भित्र नेकपालाई सिध्याउने सपना देखेका हरूको सपना चकनाचुर भएको समेत उनले बताए । उनले भने,-‘केही संसदवादीहरू, केही दलालहरूले नेकपालाई प्रतिबन्ध लगाएर तीन महिनाभित्र सिध्याएर आफ्नो लुटको स्वर्ग बचाउन सकिन्छ कि भन्ने सपना देखेका थिए तर त्यो उनीहरूको सपना चकनाचुर भएको छ ।’

प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेपछि सरकारले बाध्य भएर वार्ता गरेको बताए । आफ्नो पार्टी वार्ताको सहमति इमानदार भएर पालना गरिरहेकाे भएपनि सरकार इमानदार नभएको उनको भनाइ थियो । उनले भने,-‘अहिलेसम्म पनि हाम्रा पार्टीका नेता कार्यकर्ता जेलमै छन् घरमा पक्राउ पुर्जी टाँसिएका छन् यसले सरकार सहमतिप्रति इमानदार नभएको देखाउँछ ।’ आफू पनि ८ महिना जेल बसेर आएको बताउँदै क्रान्तिकारीहरूलाई जेल, नेल र यातनाले गलाउने सपना नदेख्न उनले सरकारलाई चेतावनी दिए । वार्तामा भएको सहमतिमा हतियार र सेना व्यवस्थापनको बुँदा खोई भनेर काँग्रेसले अनावश्यक कुरा गरेको भन्दै उनले काँग्रेसले कुन हतियार र युद्धको कुरा गरेको हो प्रतिप्रश्न गरे । हतियार र सेना भन्दा पनि जनताको अधिकारको कुरा, देशको रक्षाको कुरा हो भन्दै उनलेे देश र जनताका समस्या समाधान नभए देशमा फेरि पनि विद्रोह ठोकुवा गरे ।

जनसभालाई नेकपाका थारूवान जनपरिषद प्रमुख राम बहादुर थारूले थारू लगायत आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न माग गरे । संसदिय व्यवस्थाले जनजातिलाई भोट बैङ्कका रूपमा मात्र दुरुपयोग गरिरहेको जनाउँदै थारू अधिकारका लागि वैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने उनको भनाई थियो । सभालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सेतीमहाकाली ब्युरो संयोजक विरेन्द्र शाह, महिला नेतृ सुनिता लगायतले सम्बोधन गरेका थिए ।

नगर इन्चार्ज भरत शाहको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन विद्यार्थी नेता बबरजङ्ग सिंहले गरेका थिए भने स्वागत मन्तव्य श्याम सापकोटाले गरेका थिए 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :