संवाद गर्ने त मालिक ?

कविता

गोरो मालिकले
आतङ्ककारी घोषणा गरेकै हो
आतङ्ककारी/हत्यारा/लुटेरा के पनि भनेनौँ
मालिक ! आज किन
हरियो झिंगाझै घुम्दैछौ नक्खुतिर
कस्तो जाल बस्दैछ मालिक ?
तिम्रो मूल–प्रवाह भनेकै हूँ
म छेपारो होइन
तर मालिकको लोली किन फेरिएको ?
कसले कान फुक्यो मालिक ??
फेरि एकपटक
संवाद गर्ने त मालिक ?
कालो कानून ल्याउनुहोला
घर झगडा मिलाउनु होला
मेरो घरभित्र
निशाचरहरु घुसाउनु होला
अन्तरध्वंसको षड्यन्त्र गर्नुहोला
त्यसैले मालिकले
वार्ताको कुरा गर्नु भाहोला
शान्तिको गीत गाउन थाल्नुभा होला
संवाद गर्ने त मालिक ?
रैतीसँग/रातो शैतानसँग
के को वार्ता मालिक !
के के सुन्दैछु मालिक !!
छल्दै हुनुहुन्छ कि गल्दै हुनुहुन्छ ?
बौलाउनु भो कि बदलिनु भो ??
चुनाव लाग्या हो कि
खोया बिर्के लाग्या हो ?
फेरि एकपटक
संवाद गर्ने त मालिक ?
बढेको बढ्यै छ बजार भाउ
आटो–पिठो सस्तो चाहन्छु म
झुक्याएर/धम्क्याएर/छलेर
अपहरित मेरो सपना
फिर्ता चाहन्छु मालिक !
हजुर के चाहनु हुन्छ मालिक ?
हजुर चाहनुहुन्छ भने
वार्ता हुन्छ/जात्रा हुन्छ/हिंसा हुन्छ
सबथोक हुन्छ मालिक
फेरि एकपटक
संवाद गर्ने त मालिक ?
वार्ता किन चाहियो यो मालिक ?
रेलको ‘पटरी’ बिछ्याउन
पानीजहाज हुईक्याउन
अथवा चिसो चुलो बाल्न
मालिकलाई वार्ता उत्सव होला
यता त वार्ता त्रासदी छ नि मालिक
खाटो बसेका छैनन्
वार्ताले चिथोरेका घाउहरुमा
तिनै घाउहरु फेरि चिथोर्न
जेलहरु झर्न
बङ्करहरु मजबुत पार्न ?
हजुर र मेरो बीचमा
कुनै पर्दा छैन मालिक
हजुरलाई राम्ररी चिन्छु मालिक
फेरि एकपटक
संवाद गर्ने त मालिक ?
तर
लाल झण्डी मालिक !
संवाद गर्न
हैदरावादहाउस नबोलाउनु होला
नतेर्साउनु होला मालिक
अर्को दिल्ली सम्झौताको लिखत
गौंडो ढुकेर
पीठ पछाडि छुरा लुकाएर
वार्ता स्थलमा नआउनु होला मालिक
मलाई हापुरे बोलाएर
दोरम्बातिर नजानुहोला मालिक
रैतीसँग संवाद गर्न
मालिकलाई बडा–मालिकको इजाजत छ भने
फेरि एकपटक
संवाद गर्ने त मालिक ?

२५ माघ, २०७७ कप्तानबाडी, झापा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :