जनपत्रकार संगठन नेपाल दाङको संयोजकमा राजु चयन

जनपत्रकार संगठन नेपाल दाङको संयोजकमा राजु चयन

दाङ :  जनपत्रकार संगठन नेपाल, दाङ जिल्लाको प्रथम भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । प्रथम भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले जनपत्रकार संगठन नेपाल श्रमजीवी हकहित र जनपक्षीय पत्रकारिताको विकासमा प्रतिबद्ध संगठन भएको बताउनुभयो । अहिलेको परिवेशमा पत्रकारिता पेशा आधारभुत मूल्य मान्यता विपरित रहेको बताउँदै उहाँले पत्रकारिता निश्पक्ष, सत्य, तथ्य र खोजमुलक हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि वलीले जनपत्रकार संगठनले निरन्तर कलमको माध्यमबाट परिवर्तनको पक्षधरता कायम राख्ने विश्वास व्यक्त गर्नुभयो ।

भेलामा विशिष्ट अतिथि जनपत्रकार संगठन नेपाल, राष्ट्रिय सम्मेलन आयोजक समितिका कार्यालय सचिव जानकी चाैधरीले आस्था, विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि जुझारु टिम निर्माण गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो-“पत्रकारहरुको तागत कलम हो, त्यही कलम न्याय, स्वतन्त्रता, समानता, स्वाधीनता, वास्तविक शान्ति र निरन्तर जनताको पक्षमा  चलाउनुस् ।”  

भेलाले हेमन्त प्रकाश वली `राजु´को संयोजकत्वमा ११ सदस्यीय जनपत्रकार संगठन नेपाल, दाङ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । जसको सदस्यहरुमा डिल्लीराज भुसाल, प्रकाश वली, रमेश चौधरी, शिवराज वली, खगेन्द्र डाँगी, देवकृष्ण राणा, दिपक विक, निश्चल डाँगी, शरद पाण्डे र वासुदेव वली रहेका छन् ।

भेलामा युवा संगठन नेपाल, दाङ जिल्ला संयोजक मनोजले मन्तव्य राखेका थिए भने बधाई मन्तव्य नेकपा तुलसीपुर नगर इन्चार्ज अमर र विशेष जिल्ला कमिटी सदस्य राजकुमार क्षेत्रीले राखेका थिए ।
जनपत्रकार संगठन नेपाल, दाङ जिल्ला संयोजक हेमन्त प्रकाश वली `राजु´को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रकाश वलीले गरेका थिए । जनपत्रकार संगठन नेपाल दाङले चैत अन्तिमसम्म जिल्ला सम्मेलन गर्ने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :