वार्ताबारे केही कुरा

आरम्भ

यतिखेर देशमा र एउटा सीमासम्म अन्तर्राष्ट्रिय रूपमा समेत नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीका बिचमा प्रारम्भ गरिएको वार्ताको विषयमा सकारात्मक र नकारात्मक चर्चा र परिचर्चा भइरहेको छन् । कतिपयले यो वार्ता प्रक्रियालाई झन्डै डेढ दशकअगाडिको प्रचण्डको अन्धानुकरणका रूपमा बुझेका छन् भने कतिपयले विषयको गम्भीरता र आवश्यकताका रूपमा । कतिपयले यसलाई सकारात्मक रूपमा त कतिपयले नकारात्मक रूपमा टिप्पणी गरेका छन भने कतिपयले समस्या समाधानको रूपमा त कतिपयले बल्झाउनेका रूपमा । वार्ताबारे जेजस्ता नियत र कोणबाट चर्चा, परिचर्चा र हल्ला चलाए पनि यो आजको अनिवार्य राष्ट्रिय आवश्यकता बन्न पुगेको तथ्यलाई कसैले नकार्न सक्ने अवस्था छैन ।

आज देशमा कम्युनिस्ट दर्शन र विचारधाराको धज्जी उडाउँदै कम्युनिस्ट सरकारको नाममा नेपाल राष्ट्र र जनताविरुद्ध केपी ओलीको नेतृत्वमा विश्वमा असफलसिद्ध दलाल संसदीय व्यवस्था लादिएको छ । जसका कारण उनीहरूद्वारा अगाडि सारिएको सुखी नेपाली र समृद्ध नेपालको सरकारी नारातिर होइन, बरु देशमा तमाम प्रकारका समस्या बढेर गइरहेका छन् । ती समस्याहरू समाधानतर्फ होइन, अझ बढ्दै जाने कुरा पनि निश्चित छ । यसको एक मात्र समाधान वैज्ञानिक समाजवादी व्यवस्थाद्वारा मात्र सम्भव रहेको कुरा हामीले २०६२/०६३ मा चलेको सरकार माओवादी वार्ताको सन्दर्भमा, संविधानसभाको निर्वाचन र संविधान लेखनको प्रक्रिया हुँदै प्रचण्ड–बाबुरामहरूको आत्मसर्मपणवाद र विसर्जनवादका विरुद्ध विद्रोह गर्दै पार्टी पुनर्गठनको प्रक्रियादेखि निरन्तर उठाउँदै आइरहेका छौँ । हाम्रो कुरालाई बेवास्ता गरेका कारण वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि देशमा विगत ६ वर्षदेखि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्ति अघि बढिरहेको छ ।

एकीकृत जनक्रान्ति विगत इतिहास अर्थात् २० औँ शताब्दीमा कम्युनिस्ट पार्टीहरूद्वारा समाजवादी सता स्थापनाका लागि दुनियाँमा सञ्चालन गरिएका कम्युनिस्ट क्रान्तिको विकसित र नयाँ प्रयोग हो । यसको संश्लेषण र प्रयोगको प्रारम्भिक दिनहरूमा हाम्रो पार्टी र यसको आविष्कार गर्ने मुख्य नेतृत्वमाथि विभिन्न भ्रमसहित आरोपहरू थोपरिएको थियो । एकीकृत जनक्रान्तिलाई जनयुद्धको हवाला दिएर दमन गर्ने र हाम्रो पार्टीलाई जनताबाट विकर्षण गर्न दलाल तथा सामाजिक दलाल पार्टी तथा उनीहरूद्वारा नेतृत्व गरिएको सरकारद्वारा हजारौँ जोरजुलुम गरियो । आफूलाई आमूल परिवर्तनकारी कम्युनिस्ट बताउने पार्टी र तिनका केही नेताहरूद्वारा हाम्रो निष्कर्ष र संश्लेषणलाई माक्र्सभन्दा बढी जान्न चाहेको, भएको वा परम्परागत कम्युनिस्ट ढर्राको आँखाबाट हेर्दै विचलनको संज्ञा दिइयो । त्यस प्रकारका सत्रुतापूर्ण र मित्रतापूर्ण घेराबन्दी र आक्रमणको विरुद्ध हामीले विचारधारात्मक संघर्ष सञ्चालन गर्दै सिंगो पार्टी र जनसमुदायलाई प्रशिक्षित गरिरह्यौँ । हाम्रो पार्टीलाई उत्तेजित बनाउँदै युद्ध भड्काउने र कमिसनको खेल खेल्ने तत्वहरूका सपनाहरू असफल भएपछि विभिन्न भ्रम सिर्जना गर्ने र जनतालाई हाम्रो पार्टीबाट अलग गर्दै आफ्नो निहित स्वार्थ पूरा गर्ने उद्देश्य पूरा नभएपछि अन्ततः सत्तासीन सामाजिक दलालहरूले हाम्रो पार्टीमाथि कथित प्रतिबन्ध लगाउँदै लुटेरा समूह भन्न पुगे । नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरी भिडन्तको नाममा हत्या गर्ने, गिरफ्तार गरी दर्जनौँ झुट्टा मुद्दा लगाउँदै देशव्यापी प्रहरी हिरासतहरूमा शारीरिक र मानसिक यातनासहित राख्ने, प्रहरी अप्रेसनद्वारा जनतालाई तर्साउने र हाम्रो पार्टीको नेतृत्व र आह्वानमा जनताद्वारा निर्माण गरिएका संरचनाहरूको ध्वंस गर्नेलगायतका थुप्रै षड्यन्त्रकारी योजनाका तानाबाना निर्माण गरियो ।

हाम्रो पार्टीद्वारा अस्वीकार गरिएको जनविरोधी संविधान र कानुनलाई मान्नुपर्ने शर्तका अलावा नक्कली कूतर्क र दमनका लागि आधार तयार गर्न हातहतियार बुझाउनुपर्ने अन्यथा एकाध महिनामा सकिने उर्दीका साथ हाम्रोविरुद्ध राजनीतिक र फौजी आक्रमणलाई व्यापक बनाइयो । पार्टीको विकसित नयाँ विचार, कार्यदिशा र त्यसको प्रयोगमा अहोरात्र खटेका पार्टीका हजारौँ नेता–कार्यकर्ताहरूले सामाजिक दलालहरूको उक्त दमन अभियानका विरुद्ध आफूलाई सतिसालझैँ खडा गरेर निरन्तर क्रान्तिमा डटी मात्र रहेनन्, बरु राष्ट्र र जनताको मुक्ति र परिवर्तनका लागि समर्पित नेता–कार्यकर्ताहरूले दमनको निरन्तर प्रतिरोध गर्दै आफूलाई सुुदृढ र विस्तारित गरिरहे । यसबिचमा आन्तरिक दुर्घटना र गिरफ्तार गरी हत्या गरिएका तथा प्रतिरोध संघर्षका एवम् जेल–हिरासतमा यातना र दमनका कारण भएका सहादतहरूलाई हेर्दा एक दर्जनभन्दा बढी कमरेडहरूले वीरतापूर्ण सहादत प्राप्त गरेका छन् भने सयौँ कमरेडहरू अहिले जेल तथा हिरासत मोर्चामा संघर्षरत रहेका छन् ।

पार्टीले नयाँ कार्यदिशा मुताविक राष्ट्रघात, जनघात, महँगी, भ्रष्टाचार तथा दलाल तत्वहरूका विरुद्धमा संघर्ष र उनीहरूका दमनको प्रतिरोधका साथै, विभिन्न अभियानमार्फत् जनसम्बन्धलाई व्यापक रूपमा विस्तारित गर्दै लग्यो । एकातिर पार्टीले आफ्नो उद्देश्यमा एकपछि अर्को सफलता प्राप्त गर्दै गयो भने अर्कोतिर नागरिक समाज, मानव अधिकारवादी, बौद्धिक व्यक्तित्व, विभिन्न राजनीतिक दलमा आवद्ध नेता–कार्यकर्ता, पत्रकार तथा अवकासप्राप्त सुरक्षा निकायका प्रमुखहरूसमेतले हाम्रो पार्टी र क्रान्तिको समर्थनमा र सामाजिक दलाल सरकारको राष्ट्रघाती तथा जनघाती क्रियाकलापको विरुद्धमा निरन्तर भण्डाफोर अभियान सञ्चालन गरिरहे । यसका साथै, जनतामा पनि सरकारका कामहरूप्रति व्यापक असन्तुष्टि र सत्ताधारी सामाजिक दलालहरूको पार्टीमा सत्तासंघर्षले अन्ततः पार्टी फुटसम्म पुर्याएको परिणामत वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीका बिचमा वार्ताको वातावरण बनेको तथ्य घामझैँ छर्लङ्ग छ ।

शान्ति वार्ताका प्रस्ताव

हालसम्म सरकार र कम्युनिस्ट पार्टीका तर्फवाट वार्ताका सन्दर्भमा केवल ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त ३ बुँदे सहमतिपत्रले आगामी दिनमा विस्तृत रूप लिँदै जाने छ । यसका साथै, यो तथ्य पनि स्पष्ट छ कि सरकारको तर्फवाट देशका विद्यमान तमाम प्रकारका समस्या समाधानका लागि कति जिम्मेवारपूर्वक हाम्रा प्रस्तावहरू अध्ययन गरिन्छ र कार्यान्वयन गर्ने प्रयत्न गरिन्छ, त्यसले नै देशको शान्ति, परिवर्तन र अग्रगमनको लागि निर्णायक भूमिका निर्वाह गर्नेछ । जहाँँसम्म हाम्रो पार्टीको राजनीतिक प्रस्तावको कुरा छ, हामी देश र जनताको विद्यमान समस्याहरूको समाधानका निम्ति नै आफूलाई समर्पित गरेका छौँ । आगामी दिनहरू अर्थात् राष्ट्र र जनताको पूर्णमुक्ति नहुञ्जेल हामीले यही कुरालाई मार्गदर्शनका रूपमा प्रयोग गर्दै अघि बढिरहनेछौँ । माथि चर्चा गरिएझैँ हाम्रो स्पष्ट दृष्टिकोण छ कि देशको विद्यमान समस्याको समाधान दलाल संसदीय व्यवस्थाको विकल्प खोजेर मात्र सम्भव छ । राजासहित र राजारहितका रूपमा सञ्चालन गरिएको संसदीय व्यवस्था जसअन्तर्गत २०४६ सालपछिका ३१ वर्ष र नेपाली काँग्रेसको नेतृत्वमा २००७ देखि २०१७ सम्मको १० वर्षको अवधिलाई हिसाब गर्दा करिब ४१ वर्ष नेपालमा संसदीय व्यवस्था सञ्चालन गरिएको छ । २०१७ सालपछिको राजाको निर्दलीय पञ्चायती व्यवस्था तथा काँग्रेस र कम्युनिस्ट पार्टीद्वारा सञ्चालन गरिएका बहुदलीय संसदीय व्यवस्था पूर्णरूपले असफल सावित भएकै कारण आज हामी यो अवस्थामा छौँ ।

करिब ६ दशकअघिसम्म हामीसँगै विकासको एउटै सूचाङ्कमा रहेका हाम्रा छिमेकी मुलुकहरू चीन र भारत–जो सयौँ वर्ष क्रमशः जापान र बेलायतको उपनिवेश बनेका थिए, आज उनीहरूले गरेको विकास र प्रगतिले सिंगो मानव समाजलाई अमूल्य योगदान गरिरहेको छ भने हामी अहिले पनि अल्पविकसित मुलुकको सूचाङ्कमा रहेका छौँ । यसबाट स्वाभिमानी नेपालीहरूलाई लज्जाबोध भइरहेको छ । दुई विशाल छिमेकी मुलुकहरू वैदेशिक शक्तिकेन्द्रको चङ्गुल बनिरहदा हाम्रा वीर पुर्खाहरूले आफ्नो वीरता र बलिदानबाट स्वतन्त्र र सार्वभौम राख्न सफल मात्र होइन, कैयौँ छिमेकी मुलुकलाई आर्थिक सहयोग गर्ने हैसियत राख्ने हाम्रो मुलुक आज उनीहरूकै सहयोगमा बाँच्नुपर्दा स्वाभिमानी नेपालीको मुटु घोचिरहेको छ । देशको तथ्याङ्कलाई हेर्दा आयात–निर्यातमा रहेको भयंकर असन्तुलन, व्यापार घाटा, वैदेशिक ऋण, बेरोजगारी, भ्रष्टाचार, महँगी तथा सामाजिक विकृति र विसंगतिले हामी नराम्रोसँग जकडिएका छौँ । तसर्थ, अबको देशको अग्रगामी राजनीतिक निकास वैदेशिक शक्तिकेन्द्रको गुलाम बनाउने संसदीय व्यवस्थाको सुधार हुन सक्दैन । फेरि त्यसै विषयमा केन्द्रित हुनु भनेको देश र जनतामाथिको गद्दारी र धोकासिवाय केही हुन सक्दैन । जसले देश र जनताका वर्तमान समस्याहरूलाई समाधान होइन, अरू बढाउनेछ । यसको समाधान केवल वैज्ञानिक समाजवादी व्यवस्थाद्वारा मात्र सम्भव छ ।

संसदीय व्यवस्था अन्तर्राष्ट्रिय रूपमा असफल भएको एउटा सानो दृष्टान्त हेरौँ– कोभिड १९ महामारीका सन्दर्भमा सिंगो मानव समुदायले देख्ने गरी स्पष्ट भयो कि आफूलाई संसदीय व्यवस्थाको जननी ठान्ने बेलायत, संसारको अति शक्तिशाली र दुनियाँलाई शान्ति र प्रजातन्त्रको पाठ पढाउने अमेरिका, समग्र मानव विकासको सूचाङ्कमा उच्चस्थानमा रहेका युरोपियन मुलुकमा भएको मानवीय क्षतिले संसदीय व्यवस्था जनउत्तरदायी छैन, बरु त्यसको तुलनामा आफूलाई समाजवादी देश बताउने मुलुकहरूमा जस्तो कि चीन, कोरिया, क्युबा, भेनेजुयलालगायतका मुलुकहरूमा आँशिक रूपमा मात्र भएको मानवीय क्षतिले संसदीय व्यवस्थाको तुलनामा समाजवादी सत्ता नै उत्कृष्ट सावित गरिदिएको छ । यस अर्थमा कि संसदीय याने कि पुँजीवादी शासन व्यवस्थामा सरकार जनताको जीवनसँग खेलवाड गर्दै शासकहरू केवल नाफा घाटाको हिसाबमा रहन्छन् भने समाजवादी शासन व्यवस्थामा सरकार जनताको गास, वास, कपास, शिक्षा, स्वास्थ्य र खाद्य सम्प्रभुतामा जवाफदेही रहन पुग्दछ । संसदीय व्यवस्था सञ्चालनमा रहेका बेलायत, अमेरिका र युरोपियन मुलुकहरूका शासक वर्गमा रहेकोे गैरजिम्मेवारीपन सरकारका कारण भएको मानवीय क्षति र आफूलाई समाजवादी मुलुक बताइरहेका चीन, उत्तर कोरिया, क्युबा, भेनेजुयलालगायतका मुलुकहरूका शासक वर्गहरूमा देखा परेको जनउत्तरदायी सरकारका कारण भएका आँशिक मानवीय क्षतिहरूले संसदीय पुँजीवादी राज्यव्यवस्था र समाजवादी राज्यव्यवस्थाको अन्तरलाई स्पष्ट गर्दछ । यस सन्दर्भमा राजनीतिक प्रणाली र व्यवस्थाका याने कि पुँजीवाद र समाजवादका बारेमा विश्वव्यापी नयाँ बहसहरू पनि भइरहेका छन् ।

वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा जनताको गास, वास, कपास, शिक्षा, स्वास्थ्य, सञ्चार र रोजगारको जिम्मेवारी सरकारको रहन्छ । त्यस प्रकारको आवश्यकता नै आज हाम्रो देशको राष्ट्रिय आवश्यकता बनेको छ । यसका साथै, राष्ट्रिय स्वाधीनताका दृष्टिले अहिले पनि हामी नवऔपनिवेशिक धरातलमा रहेका छौँ । तत्कालीन इस्ट इन्डिया कम्पनीसँगको सम्झौतापछि गुमेको एकतिहाइ भूगोल त्यसमा पनि स्पष्ट नक्साङ्कन हुन नसक्दा वैदेशिक हस्तक्षेप बढिरहेको छ । अहिले पनि भारतद्वारा देशका विभिन्न भागमा हस्तक्षेप गरी ७० हजार हेक्टरभन्दा बढी जमिन कब्जा गरिएको छ । लिपुलेकको बारेमा केही महिनाअगाडि जेजस्तो चर्चा गरिए पनि वास्तविकता त्योभन्दा फरक छ । जलश्रोतसम्बन्धी विभिन्न सन्धि सम्झौताहरू लादिएको छ । यसको एक मात्र कारण हामी सारमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न हुन नसक्नु हो । राष्ट्रिय स्वाधीनताको लागि पनि हामीलाई वैज्ञानिक समाजवादी राज्यसत्ताको आवश्यकता रहेको छ । यसका लागि विगतमा झैँ विदेशीहरूको प्रभावमा नपरी हामी नेपालीहरूले स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्यौँ भने मात्र अधोगतितर्फ लागिरहेको हाम्रो मुलुक र जनताका लागि अग्रगामी दिशा हुनेछ । वार्ताका लागी यो मुख्य राजनीतिक प्रस्ताव हुनेछ भने कथित प्रतिबन्ध हटाउने, जेल तथा हिरासतमा रहेका नेता–कार्यकर्ताहरूको रिहाइ तथा झुट्टा मुद्दाहरूको खारेजीजस्ता सहायक प्रस्तावहरूको कार्यान्वयनले मूल प्रस्तावमा प्रवेश गर्न र वर्तमान वार्ता प्रक्रियालाई सफल तुल्याउन मद्दत गर्नेछ ।

विभिन्न भ्रम, आशँका र यथार्थ

भर्खरै शुभारम्भ भएको सरकार र नेकपाबिचको वार्ता प्रक्रियाले विभिन्न तह, तप्का र एउटा सीमासम्म क्रान्तिप्रिय जनसमुदायसम्म विभिन्न भ्रम र आशँकाहरू उत्पन्न भएका छन् । फेरि यो पार्टी पनि प्रचण्डहरूकै पथमा जाने हो कि, फेरि पनि जनता र राष्ट्रप्रति गद्दारी र धोका हुने हो कि आदि । अर्कोतिर जनविरोधी तत्वहरू हम्रो पार्टीले अगाडि सारेका अग्रगामी राजनीतिक प्रस्तावलाई ध्वंस गर्नका लागि जोरजुलुम गरेर लागिरहेका छन् र विभिन्न उत्तेजनात्मक अभिव्यक्तिहरू दिइरहेका छन् । वर्गीय समाजमा यसो हुनुलाई धेरै अन्यथा नलिई स्वभाविक मान्नुपर्दछ । किनकि अग्रगामी र पश्चगामी, नवीनतम् र पुरातन तथा गुणात्मक छलाङ र यथास्थितिका बिचमा संघर्ष हुनु समाज विकासको अनिवार्य नियम नै हो भने अर्को तथ्य यो हो कि त्यस प्रकारको संघर्षमा अग्रगामी, नवीनतम् र गुणात्मक छलाङको विचारले अनिवार्य विजय हासिल गर्दछ भने पश्चगामी, पुरातन र यथास्थितिवादी विचारको अनिवार्य पराजय हुने गर्दछ । यो नियम हाम्रो सन्दर्भमा पनि त्यत्तिकै सत्य सावित हुनेछ । हामीले वार्ताका सन्दर्भमा थुप्रै अन्तर्राष्ट्रिय अनुभवहरूका साथै, हाम्रो आफ्नै जीवनकालमा पनि केही महत्वपूर्ण शिक्षाहरू संश्लेषण गरेका छौँ ।

२०६२÷६३ सम्मका शान्ति वार्ता प्रक्रियाहरूलाई हेर्दा प्रायः वैदेशिक शक्तिकेन्द्रहरूले वार्ताको सहजीकरण गर्ने र उनीहरूकै अनुकूलतामा सम्झौताहरू हुने गरेका छन् । फलतः ती सम्झौताहरूले राष्ट्र र जनतालाई यथास्थितिमा छोड्दै उनीहरूकै पराधीनतालाई स्वीकार गर्न बाध्यकारी बनाउने गरेको छ । राष्ट्र र जनताको मुक्ति र परिवर्तनका लागि सञ्चालन गरिएका संघर्ष तथा युद्धहरूमा भएका सहिदहरूका सपनाको बेवास्ता, जनतालाई यथास्थितिमा छोडेर केही नेता तथा कार्यकर्ताहरूको व्यवस्थापनसहित पुरानै व्यवस्थाको रंगरोगन गरिएका दृष्टान्तहरू नै हाम्राअगाडिका यथार्थ तथ्यहरू हुन् । जहाँँसम्म हाम्रो पार्टी र अहिलेको वार्ता प्रक्रियाको सवाल छ, हामी इतिहासका माथि उल्लिखित घटनाक्रमहरूबाट महत्वपूर्ण शिक्षा लिँदै आफूलाई केवल राष्ट्र र जनताप्रति समर्पित गरेका छौँ । त्यसो त हाम्रो पार्टीको पुनर्गठन नै आत्मसर्पणवाद र विर्सजनवादको विनासकारी खरानीको बिचवाट भएको हो । कतिपय मित्रहरूले जानेर वा नजानेर इतिहासमा सम्पन्न अन्धनक्कलका रूपमा यो वार्ता प्रक्रियाको व्याख्या गरेको पनि यदाकदा सुनिन्छ । त्यस प्रकारको अत्यन्त हल्का टिप्पणीहरू अन्धाले हाती छामेको अर्थमा बुझ्न सकिन्छ ।

मुख्यतः यो पार्टीको मुख्य नेतृत्व जसले शान्ति वार्ता र संविधान निर्माणको प्रक्रियामा सहजै प्राप्त हुन सक्ने थुप्रै व्यक्तिगत सेवा सुविधाहरूलाई त्यागेर जनताको झुपडीमा फर्कियो र प्रतिक्रान्तिको विषालु हावा चलिरहेको अवस्थामा कम्युनिस्ट पार्टीको पुनर्गठन, नयाँ र मौलिक कम्युनिस्ट कार्यदिशाको निर्माण गर्दै राष्ट्र एवम् जनताप्रति आफूलाई समर्पित गर्दै क्रान्तिको नयाँ रक्तसँचार जागरण गर्न पुग्यो । राष्ट्र र जनताको मुक्ति र परिवर्तनको मुख्य उद्देश्यका खातिर जनतासँगै रहेर बाँच्ने तथा हराभरा जीवनका लागि निरन्तर क्रान्तिमा रहने हाम्रो जीवन पद्धति बनेको छ । यस अर्थमा बरु हामीले बलिदान गर्नेछौँ तर आत्मसर्मपण र गद्दारी कुनै हालतमा स्वीकार्य हुन सक्दैन । भर्खरै प्रारम्भ भएको वार्ताका सन्र्दमा अहिले यति चर्चा गर्नु नै पर्याप्त हुनेछ । आगामी दिनहरूमा हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरू क्रमशः व्यवहारतः सावित हुँदै जाने कुराले अहिले विभिन्न कोणबाट उठिरहेका आशँका, भ्रम र यर्थाथलाई वास्तविकताको कसीमा व्यक्त हुँदै जानेछ ।

निष्कर्ष

माथि हामीले शान्ति वार्ताका सन्दर्भमा चलिरहेका विभिन्न सकारात्मक र नकारात्मक चर्चा र परिचर्चाहरू तथा हाम्रा प्रस्ताव र प्रतिवद्धताका बारेमा संक्षेपमा छलफल गर्यौँ । यो वार्ता प्रक्रियाका सन्दर्भमा हामीले नेपाली राजनीतिक आन्दोलनका विभिन्न कालखण्डहरूमा वैदेशिक शक्तिकेन्द्रहरूले वार्ताको सहजीकरण गर्ने प्रक्रियाको अन्त्य गरेका छौँ । यसका साथै, हामी यो कुरामा पनि आशावादी छौँ कि नेपाल राष्ट्र र जनताको समस्या समाधान गर्न पनि हामी स्वतन्त्र रूपमा सफल हुनेछौँ । वैदेशिक शक्तिकेन्द्रहरूको चङ्गुलबाट देशलाई मुक्त गर्न र देशलाई एउटा स्वतन्त्र र आत्मनिर्भर, जनताको इच्छा र आवश्यकता अनुकूलताको राज्यसता स्थापना गर्न वर्तमान सरकारले हिम्मत गर्नेछ । आफूलाई बौद्धिक र राजनीतिकर्मी बताउने केही मान्छेहरू देशमा सशस्त्र युद्धको वातावरण नभएकोले कम्युनिस्ट पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेको हल्ला पनि चलाइरहेका छन् ।

वास्तवमा हामीले युद्ध होइन, क्रान्ति भनेका छौँ । युद्धले खासखास बेलामा समाज रूपान्तरणमा प्रधान भूमिका निर्वाह गर्दछ भने क्रान्ति निरन्तर चलिरहने प्रक्रिया हो । त्यसलाई हामीले एकीकृत जनक्रान्ति संश्लेषण गरेका छौँ । यो कुनै परम्परागत ढर्राको कम्युनिस्ट क्रान्ति होइन, बरु आजको विकसित विश्व र नेपाली समाजको यथार्थतालाई दृष्टिगत गरी संश्लेषण गरिएको हो । शान्ति वार्ताको प्रक्रिया होस् या विभिन्न संघर्षका मोर्चाको प्रक्रिया होस्, हामीले देश र जनताले जित्ने गर िक्रान्तिलाई जारी राख्नुपर्दछ । त्यसमा आफूलाई समर्पित गर्नुपर्दछ । वर्तमान सरकार र हाम्रो पार्टीका बिचमा चालु वार्ता प्रक्रियाका बारेमा फेरि धोका र गद्दारी हुने हो कि भन्ने आशँकाका सन्दर्भमा यति भन्नु उपयुक्त हुन्छ कि नेपाली राजनीतिक आन्दोलनमा लामो समयदेखि जरा गाडेर बसेको आत्मसर्मपणवाद र विसर्जनवादको विषालु जहरका विरुद्धमा सञ्चालन गरिएको संघर्षको बिचबाट खारिएको अब्बल नेतृत्व, नेपाली समाजलाई वैज्ञानिक समाजवादी राज्यसत्तामा रूपान्तरण गर्ने अटुट र दृढ सँकल्प, सुदृढ र सुसँगत कम्युनिस्ट पार्टी संगठन र आफ्नो योजना र कार्यक्रमप्रतिको बफादारिता र कार्यतत्परतालाई जोड्न सकियो भने नेपाल राष्ट्र र जनताको भाग्य र भविष्यको फैसला गर्न हामी सफल हुने कुरालाई कसैले रोक्न सक्नेछैन ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :