सन्दर्भ : सहिद सप्ताह २०७७

सन्दर्भ : सहिद सप्ताह २०७७

कुनै पनि सामाजिक–राजनीतिक परिवर्तनका निम्ति आन्दोलन, संघर्ष महत्वपूर्ण माध्यम हो । परिवर्तनका विषय र उद्देश्यका आधारमा संघर्षले विभिन्न स्वरूप निर्धारण गर्दछ । अझ राजनीतिक व्यवस्था नै परिवर्तन गरी नयाँ राजनीतिक व्यवस्था निमार्ण गर्ने लक्ष्य राख्ने हो भने क्रान्ति नै एक मात्र विकल्प बन्न पुग्छ । राज्यसत्ता परिवर्तनका लागि क्रान्ति निर्विकल्प हो भने क्रान्तिमा बलिदान अनिवार्य शर्त हो । विश्व इतिहासका सबै क्रान्तिहरूमा बलिदान एक अनिवार्य शर्त बन्न पुगेको छ । त्यही बलिदानको ताकतमा संसारका इतिहास बदलिएका छन्, आफूलाई नै सर्वेसर्वा ठान्ने निरंकुश तानाशाहहरू ढलेका छन्, राजनीतिक व्यवस्थाहरू बदलिएका छन्, परिवर्तन भएका छन् । पूरातनको ध्वंश र नूतनको निर्माण । मानव इतिहास तिनै क्रान्ति र बलिदानका गाथा हुन् । क्रान्तिलाई प्राण दिने ऊर्जाशक्ति बलिदान हो । संघर्षका क्रममा मान्छे भौतिक रूपले मर्छ र सहिदको रूपमा जन्मन्छ । प्रत्येक बलिदानीले आफ्नो प्राण त्यागेर क्रान्तिलाई समपर्ण गर्छन् र क्रान्तिलाई जीवित राख्छन्, इतिहासलाई जीवित बनाउँछन् र आफू पनि क्रान्तिसँगै इतिहासका पानामा सुन्दर स्वर्ण अक्षरमा कुँदिन्छन् र युगौँयुगसम्म अमर बनेर चम्किरहन्छन्, आकाशका ताराका रूपमा । अनि ध्रुव तारा बनेर युगलाई, विश्वलाई मार्गदर्शन गरिरहन्छन्, निरन्तर प्रगतितर्फ, निरन्तर उन्नतितर्फ मानव मुक्तितर्फ, समतामूलक समाज निर्माणतर्फ ।

बलिदानका अनेकौँ कीर्तिमानहरूलाई स्मरण गर्दै हरेक वर्ष फागुन १४ देखि २१ गतेको एक हप्तालाई सहिद सप्ताहको रूपमा मनाइन्छ । विशेषगरी, विगतमा माओवादी जनयुद्धमा सहभागी र आस्थावान् विभिन्न पक्षहरूले यो कार्यक्रम मनाउने गरे पनि यो सन्दर्भ देश र जनताको मुक्ति र परिवर्तनका निम्ति उच्च सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरूप्रति सम्मान गर्ने एउटा महत्वपूर्ण सन्दर्भ हो । तसर्थ, यो कुनै पार्टी विशेष र पक्ष विशेषको कार्यक्रम नभएर राष्ट्र, समाज र मानवहितबारे सरोकार राख्ने सबै पक्ष र हरेक नागरिकले आत्मसात् गर्ने विशिष्ट अवसर हो— सहिद सप्ताह ।

सहिद सप्ताह केवल औपचारिकताको विषय होइन । यो त महान् सहिदहरूलाई स्मरण गर्ने, सम्मान गर्ने मात्र नभएर आवश्यक परेका खण्डमा राष्ट्र र जनताको निम्ति बलिदान दिन तयार हुनुपर्छ भन्ने प्रेरणा लिने र प्रतिबद्धता जाहेर गर्ने अवसर पनि हो । बलिदानीपूर्ण इतिहासको स्मरण गर्नु, आत्मसात् गर्नु, त्यसप्रति सम्मान गर्नु, गौरव गर्नु र क्रान्तिकारी बलिदानको इतिहास नयाँ पुस्तामा हस्तान्तरण गर्नु तथा अमर बनाउनु सम्पूर्ण सचेत नागरिकको कर्तव्य पनि हुन आउँछ । त्यस अर्थमा सहिद सप्ताह एउटा संस्कृति पनि हो, त्यागको संस्कृति, समर्पणको संस्कृति । आम जनताको हित र स्वार्थका लागि व्यक्ति हित र निजत्वको त्याग र समर्पण ।

सहिद सप्ताह नेपालमा आमूल परिवर्तनका लागि भएका अनेकौँ आन्दोलन र त्यसक्रममा भएका बलिदानी शृंखलाहरूलाई जोड्ने कडी पनि हो । विशेष गरी नेपालका दुई ऐतिहासिक क्रान्तिमा भएको बलिदानको संयोजन पनि हो, सहिद सप्ताह । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले सहादत प्राप्त गर्नुभएको दिन २०५२ साल फागुन १४ गते र तत्कालीन झापा विद्रोहको क्रममा सुखानीमा सहिद हुनुभएका पाँच सपूतहरू रामनाथ ढकाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठले बलिदान गर्नुभएको दिन २०२९ साल फागुन २१ गतेको ऐतिहासिक दिनलाई जोडेर उहाँहरूसहित सम्पूर्ण सहिदहरूलाई स्मरण र सम्मान गरिँदै आएको सन्दर्भ हो— सहिद सप्ताह ।

विडम्बना ! आज ‘खोलो तर्यो, लौरो बिस्र्यो’ भनेझैँ जसको रगतको मूल्यमा आज हामी लोकतन्त्र दिवस मनाउने गर्छाैं, स्वतन्त्रताको वकालत गर्छाैं, तर परिवर्तनका लागि सबैभन्दा बढी योगदान दिने आफ्नो प्राणको आहुति दिने महान् सपूतहरूको बारे सोच्ने, उनीको परिवारको अवस्थाबारे बुझ्ने चासो, चिन्ता र फुर्सद कसैलाई छैन । अझ सहिदहरूको सहादतको उद्देश्य यही सीमित लोकतन्त्र अर्थात् केही सीमितहरूको लागि मात्र लोकतन्त्र प्राप्त गर्नु थिएन, बरु उनीहरूको लक्ष्य सम्पूर्ण मानव जातिको लागि समतामूलक सामाजिक व्यवस्थासहितको मानव समाजको निर्माण गर्नु थियो । जहाँ एक मानवले अर्काे मानवमा कुनै पनि नाममा शोषण र उत्पीडनका सबै स्वरूपहरू समूल रूपले अन्त्य भएको होस् ।

आज तिनै सहिदको बलिदानको जगमा टेकेर सत्तामा पुगेकाहरू नै सहिदका सपनालाई कुल्चिँदै क्रान्ति र परिवर्तनका आवाजहरूलाई घार्टी निमोठ्न तल्लीन छन् । निरंकुशताको विरुद्ध लडेकाहरू आज आफैँ निरंकुशतातर्फ अग्रसर भइरहेका छन् । सत्ताधारीका यस्ता हर्कतलाई सहिदका रगतले गिज्याइरहेको हुनुपर्छ ।

अहिले अधिकांश सहिद परिवारको अवस्था दयनीय छ । जबसम्म सहिद परिवारले क्रान्तिमा आफ्नो परिवार गुमाएकोमा पश्चात्ताप नगरी गौरव गर्ने वातारण बन्दैन, तबसम्म क्रान्तिको वास्तविक लक्ष्य पूरा भइसकेको छैन भन्ने बुझ्नुपर्दछ । आफ्नो परिवारको सदस्यले क्रान्तिमा बलिदान दिनु भनेको परिवार एक्लो हुनु वा असहाय हुनु होइन, बरु बलिदान दिएको परिवारले एक दुई आफन्तको सट्टामा सिंगो राष्ट, सिंगो समाज नै आफ्नो परिवार भएको अनुभूति दिलाउन सक्नुपर्छ राज्यले । यसर्थ, राज्य सहिद परिवारको अभिभावक बन्न सक्नुपर्छ । राज्य यस मामिलामा गम्भीर रूपले चुकेको छ ।

आज पनि जनयुद्धलगायत कतिपय आन्दोलन र क्रान्तिका सहिदहरूलाई राज्यबाट सहिद मान्यता पाएका छैनन् र परिवारले सहिद परिवारको मान्यता पाउन सकेका छैनन् । जनयुद्ध होस् वा एकीकृत जनक्रान्ति वा अन्य जनताको पक्षमा भएका संघर्षहरू हुन् । त्यसक्रममा बलिदान गर्नेहरू सम्पूर्ण सहिदहरूलाई राज्यले राष्ट्रिय सहिद घोषणा गर्नुपर्दछ । सहिद परिवारलाई परिचयपत्रको व्यवस्था गरी सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्दछ । साथै, सहिदका परिवार र सन्ततिहरूलाई उचित शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था राज्यले गर्नुपर्दछ । सरकारका सबै निकाय र सामाजिक संघ–संस्थाहरूबाट सहिद परिवारलाई राज्य र सामाजिक रूपले सम्मानजनक नीति, कार्यक्रम र व्यवहार अपनाउनुपर्छ । सहज जीवनयापनका लागि विशेष वृत्ति र आर्थिक सहयोग, राज्यले लिने करहरूमा छुट, सार्वजनिक सवारी साधनमा निःशुल्क यात्रा र सार्वजनिक समारोहमा सम्मानजनक उपस्थिति, राज्यका सुविधाहरूमा प्राथमिकतालगायत विभिन्न विशेष व्यवस्था निश्चित गरिनुपर्दछ ।

सबैभन्दा महत्वपूर्ण विषय सहिद राष्ट्रका सबैभन्दा उच्च ओहोदाका श्रद्धायुक्त विषय बन्नुपर्छ । सहिद सप्ताह सबैका लागि क्रान्ति र प्रगतिका लागि ऊर्जा र प्रेरणा बनिरहोस् । सम्पूर्ण आदरणीय सहिदहरूप्रति हार्दिक श्रद्धासुमन ! साथै, सम्पूर्ण आदरणीय सहिद परिवारजनप्रति स–सम्मान शुभकामना ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :